ब्रोकर ब्याक अफिस ‘बोस’ पनि आइएमई समुहको कब्जामा, टिएमएसमा इन्टिग्रेट गर्दा कारोबार अबरुद्ध

0
Shares

आइएमई समुहको सेयर बजार कब्जा गर्ने प्रक्रियाले दोस्रो खुड्किलो पार गरेको छ । समुहले पहिलो चरणमा धितोपत्र बजारको कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) लाई नियन्त्रणमा राखे लगत्तै दोस्रो चरणमा इ–सेयर सोलुसन प्रालि मार्फत ब्रोकर ब्याक अफिस सोलुसन सिस्टम (बोस) पनि खरिद गरेको हो ।

आइएमई समुहले सेयर बजारमा आफ्नो दबदवा सृजना गर्नका लागि एकपछि अर्को गर्दै धितोपत्र बजारका सूचना प्रविधिलाई नै आफ्नो नियन्त्रण भित्र राख्न खोजेको स्पष्ट हुन्छ । केही समय अघि आइएमई समुहले वाइको प्राइभेट लिमिटेडसँग मिलेर सेयर बजारलाई कब्जा गर्ने नीतिलाई कार्यान्वयन सुरु गरको हो ।

आइएमई ग्रुपले धितोपत्र बजारको अनलाइन कारोबार प्रणाली (नट्स) को भेण्डर कम्पनी वाइकोलाई साथमा लिएर सेयर बजारको कारोबार प्रणालीमा नै पहुँच पुर्याइ बजारलाई आफु अनुकुल सञ्चालन गर्ने प्रयास गरेको देखिन्छ ।

वाइको प्रालिसँग मिलेर वाइकोले नै डेभलप गरेको नेपाल स्टक एक्सचेन्जको टीएमएस मर्मत सम्भार गर्ने गरी वाइको सोलुसन कम्पनी स्थापना गरेको थियो । धितोपत्र बजारमा व्यक्तिगत तथा संस्थागत रुपमा सक्रिय लगानी गर्दै आएको आइएमई समुहले बजारका गोप्य तथ्याङ्कमा पहुँच राखी गलत तवरले फाइदा उठाउने गरेको गुनासो चौतर्फी आउने गरेको छ ।

टीएमएस मार्फत पूर्ण तथ्याङ्कको पहुँच नहुने भएपछि पछिल्लो समयमा आइएमई समुहले ब्रोकर ब्याक अफिस बोसलाई पनि खरीद गरेर आफ्नो बनाएको छ । नेपाल स्टक एक्सचेनञ्जको अनुमति लिई सोर्स कोड प्रणालीले बनाएको बोसलाई क्यापिटल मार्केट टेक्नोलोजी नामक कम्पनीले सञ्चालन तथा व्यवस्थापन गर्दै आएको थियो । पछिल्लो समय आइएमई समुहले बोसको सञ्चालक तथा व्यवस्थापक कम्पनी क्यापिटल मार्केट टेक्नोलोजीको शतप्रतिशत सेयर इ–सेयर सोलुसनले खरिद गरेको छ । कम्पनीको नाम क्यापिटल मार्केट टेक्नोलोजी नै रहेपछि सेयर स्वमित्व भने इ–सेयर सोलुसन प्रालीको रहेको छ ।

हाल सञ्चालनमा रहेका ५० धितोपत्र दलाल कम्पनी मध्ये ४९ वटाले ब्याक अफिसको रुपमा बोसलाई नै प्रयोग गर्छन् । तर, ब्रोकर नं. ४८ ले भने ब्रोकर ब्याक अफिस सिस्टम आफैँ डेभलप गरेर चलाउँदै आएको छ । धितोपत्र ब्रोकरको ब्याक अफिसमा लगानी देखि धितोपत्र दलाल कम्पनी स्वयंमका आन्तरिक तथ्याङ्क तथा सूचना हुन्छन् । आइएमई समुहले सेयर बजारको दैनिक तथा सञ्चित कारोबार विवरणलाई आफ्नो नियन्त्रणमा लिन खोजेको हो । आइएमई समुह आफैँ पनि धितोपत्र बजारमा लगानी गर्ने भएकाले पनि यो क्षेत्रमा उसको चासो बढ्नु स्वभाविक हो ।

आइएमई समुहले धितोपत्र बजारको प्राविधिक पूर्वाधारलाई आफ्नो नियन्त्रणमा लिइसक्दा पनि धितोपत्र बोर्ड र नेप्से मौन रहनुले भने शंका पैदा गरेको एक लगानीकर्ताले बताए । “निजी क्षेत्रको कुनै एक समुहले धितोपत्र बजारमा गोप्य सूचनामा खुलेआम पहुँच पुर्याउँदा पनि धितोपत्र बोर्ड र नेप्से मौन हुनु भनेको गम्भिर विषय हो,” ती लगानीकर्ताले भने,“धितोपत्र बजारमा नै सक्रिय व्यवसायिक समुहले धितोपत्र बजारलाई अस्तव्यवस्त बनाउँदा पनि नियामक निकाय मुख दर्शक बन्दा आम लगानीकर्तालाई असर गरेको छ ।” सोमबार सेयर कारोबार बन्द भएका कारण लगानीकर्तालाई परेको क्षतिको सम्बन्धित निकायले क्षतिपूर्ति दिनुपर्ने समेत उनको भनाई छ ।

आइएमई समुहकै कारण सोमबार नेप्सेका नियमित कारोबार हुने ४ घण्टा मध्ये २ घण्टा पूरा पनि कारोबार हुन सकेन । सोमबार वाइको सोलुसनले बोसलाई टिएमएससँग इन्ट्रिगेट गर्दा समस्या आएपछि सेयर कारोबार नै हुन सकेन । त्यस सन्दर्भमा पनि धितोपत्र बोर्ड, नेप्से, वाइको सोलुसन सबै मौन रहेका छन् ।

वाइको सोलुसनले बोसलाई इन्ट्रिग्रेट गर्दा सोमबारको कारोबार रोकिएको भन्ने सुन्नमा आएको नेप्सेका एक अधिकारीले बताए । “त्यस सन्दर्भमा नेप्सेमा कुनै आवेदन पनि नआएको र दिएको छैन,” ती अधिकारीले भने, “सोमबार धितोपत्र कारोबार नै रोकिनुपर्ने अवस्था आएको बोसलाई टीएमएसमा इन्ट्रिग्रेट गराएका कारणले हो भने त्यससँग सम्बन्धित सबै पक्षलाइ कारबाही हुन्छ ।” नेप्सेको टीएमएसमा नेप्सेसँगै अनुमति नलिई जस्तो पायो त्यस्तै सिस्टमलाई इन्ट्रिग्रेट गर्न नमिल्ने समेत उनको भनाई छ ।

आइएमई समुहले वाइको प्राइभेट कम्पनीसँग मिलेर वाइको सोलुसन प्रा.लि. स्थापना गरेको हो । आइएमई समुहको बहुमत सेयर हिस्सा रहेको वाइको सोलुसनमा वाइको प्राइभेटको करिब १७ प्रतिशत लगानी रहेको छ । हाल वाइको सोलुसन सीडीएस एण्ड क्लियरिङ लिमिटेडका पूर्व प्रमुख कार्यकारी अधिकृत देव प्रकाश गुप्ताको नेतृत्वमा छ ।

सर्वोत्तम सिमेन्टको सेयर कारोबारमा आइएमई समूहका अध्यक्ष चन्द्र प्रसाद ढकाल पनि संलग्न भएको खुलेपछि उनले धितोपत्र बोर्डको सञ्चालक सदस्यबाट राजीनामा दिएका थिए । ढकाल धितोपत्र बोर्डको सञ्चालक हुँदा नै धितोपत्र बजारको तथ्याङ्कमा कब्जा गर्ने योजना रचेका थिए । उनी बोर्डबाट बाहिरिए पनि उनको योजना पूर्ववत रुपमा कार्यन्वयन हुँदै आएको देखिन्छ ।

नेप्सेको अनलाइन कारोबार प्रणालीको भेण्डर कम्पनी वाइकोले नै डेभलप गरेको टीएमएस चलाउँदै आएका थिए । टीएमएस नेप्सेको भएपनि मर्जर संम्भार भने वाइकोले नै गर्दै आएको थियो । तर, आइएमई समुह वाइको सोलुसनसँग मिलेपछि नयाँ कम्पनी वाइको सोलुसन प्राली मार्फत सेवा दिन थालेको थियो । यस विषयमा नोटबजारले समाचार प्रकाशित गरेपछि धितोपत्र दलालहरुले वाइको सोलुसनसँग काम नगर्ने भन्दै वाइको प्रालीलाई दबाब दिएका थिए । त्यसपछि केही समय वाइको सोलुसनले बिल विजक जारी गर्न रोकेको भएपनि आइएमइ समुहको बजार कब्जाको नीतिमा भने आन्तरिक रुपमा काम गरि नै रहेको देखियो ।

आइएमई समुहको सहभागितामा खुलेको वाइको सोलुसन प्रालिमा वाइको प्रालि र इ–सेयर सोलुसन प्रालिको लगानी छ । वाइको सोलुसनमा वाइको प्रालिको १६.६७ प्रतिशत र इ–सेयर सोलुसन प्रालिको ८३.३३ प्रतिशत सेयर हिस्सा छ । वाइको सोलुसनमा १६.६७ प्रतिशत हिस्सेदारी रहेको वाइको प्रालिमा दिपेश प्रधानको २० प्रतिशत र साैरभ शर्माको ८० प्रतिशत लगानी छ । प्रधान वाइको प्रालिका प्रमुख कार्यकारी अधिकृत पनि हुन् ।

त्यसैगरी वाइको सोलुसनमा ८३.३३ प्रतिशत सेयर रहेको इ–सेयर सोलुसनमा चन्द्र प्रसाद ढकालको स्विफ्ट टेक्नोलोजीको ५३ प्रतिशत, देव प्रकाश गुप्ताको १३.२५ प्रतिशत, चन्द्र ढकालका भाई हेमराज ढकालको १२.९१ प्रतिशत र वाइकोका लगानीकर्ता दिपेश प्रधानको १३.२५ प्रतिशत सेयर छ भने कामधेनु इन्भेष्टमेष्ट कम्पनीको ७.६२ प्रतिशत लगानी थियो ।

तर, अहिले इ–सेयरका सेधनीमा भने केही परिवर्तन भएको भएपनि आइएमइ समुहको लगानी अप्रत्यक्ष रुपमा छ । हाल इ–सेयरको सेयरधनीहरुमा देवप्रकास गुप्ता र दिपेश प्रधान भने पुरानै हुन भने आइएमई समुहका वित्त प्रमुख सिए दिपक शर्मा, कोर भिजन इन्भेष्टेमन्ट, ब्लुफिन इन्भेष्टमेन्ट र साइ इन्भेष्टमेन्ट प्रालिलाई नयाँ लगानीकर्ताको रुपमा भित्राइएको छ ।

आइएमई र वाइकोबीचको सहकार्यमा नेप्से मौन, धितोपत्र बोर्डको दोस्रो पत्र

आइएमई र वाइकोबीच भएको सहकार्यमा धितोपत्र बोर्डको चासो, नेप्सेसँग माग्यो विवरण

नेप्सेको टीएमएसको एएमसी कसरी पुग्यो आइएमई ग्रुपको वाइको सोलुसनमा ?

वाइकोसँग मिलेर शेयर बजार कब्जा गर्ने योजनामा आइएमई ग्रुप

वाइकोले आईएमई समुहसँग सहकार्य गर्दा नेप्सेको तथ्याङ्कको गोपनियता जोखिममा

आइएमई समुहको वाइको सोलुसनलाई तत्काल भुक्तानी नगर्ने ब्रोकरहरुबीच सहमती

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।