विदेशी बैंकलाई भित्रयाउन राष्ट्र बैंक लचिलो, यस्ता छन् नयाँ व्यवस्था

0
Shares

नेपाल राष्ट्र बैंकले विदेशी बैंक तथा वित्तीय संस्थाले नेपालमा शाखा स्थापना गर्दा चुक्ता पूँजी कम्तिमा २ अर्ब रुपैयाँ भए पुग्ने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले विदेशी बैंक तथा वित्तीय संस्थाको शाखा स्थापनाका लागि सन् २०१० मा जारी भएको नीति परिमार्जन गरी नयाँ व्यवस्था गरेको हो । अब विदेशी बैंकले नेपालमा शाखा खोल्दा करिब दुई अर्ब चुक्ता पूँजी भए पुग्ने भएको छ ।

राष्ट्र बैंकले जारी गरेको फरेन बैंक ब्राञ्च लाइसेन्सिङ पोलिसी २०२२ मा वैदेशिक बैंकले नेपालमा शाखा खोल्दा दुई करोड डलर (करिब दुई अर्ब) पूँजी राखे पुग्ने भएको छ ।

त्यस्तै, विदेशी बैंकले शाखा विस्तार गर्दा थप ५० करोडको दरमा पूँजी राख्दै जानुपर्ने व्यवस्था हटाइएको छ । कर्जा लगानी गर्न सक्ने सीमाहरूमा भने परिवर्तन गरिएको छैन ।

विदेशी बैंकले अधिकतम १० करोड (१० अर्ब) रुपैयाँसम्म संस्थागत निक्षेप संकलन गर्न सक्नेछन । त्यस्तै, २० करोड (२० अर्ब) रूपैयाँसम्म मात्र कर्जा लगानी गर्न पाउँछन ।

नेपालमा कारोबार गर्न अनुमति प्राप्त गरेको विदेशी बैंकले नेपालमा थोक बैंकिङको मात्रै अनुमति प्राप्त गर्नेछ । राष्ट्र बैंकले ०६६ देखि विदेशी बैंकका शाखा खोल्न सकिने नीतिगत व्यवस्था भए पनि हालसम्म मुलुकमा कुनै पनि विदेशी बैंकले शाखा खोलेका छैनन् । परिमार्जित नीतिमा विदेशी बैंकहरुले नेपालमा सम्पर्क कार्यालय स्थापना सम्बन्धी व्यवस्था पनि समावेश गरेको छ ।

राष्ट्र बैंकले छुट्टै नीति अनुसार विदेशी बैंकहरुलाई सम्पर्क कार्यालय स्थापना गर्न अनुमति दिँदै आएको थियो । कतारको दोहा बैंक, भारतको आइसिआइसिआई र युएईको मरसेक बैंकले भने सम्पर्क कार्यालय खोलेका छन् ।

विदेशी बैंकले भौतिक पूर्वाधार क्षेत्र अन्तर्गतको जलविद्युत, ट्रान्समिसन लाइन, केवल कार, सडक, रेलवे, टनेल रोड, एयरपोर्ट, बहुतले रेसिडेन्सियल बिल्डिङ, सिचाईलगायतका क्षेत्रहरु एवम् सामाजिक तथा सेवा क्षेत्र अन्तर्गत अस्पताल, स्कूल, कलेज, विश्वविद्यालय र पर्यटन तथा सञ्चार क्षेत्रमा लगानी गर्न सक्नेछ ।

भौतिक पूर्वाधार विकासमा, उत्पादकमूलक उद्योग, खानी, शैक्षिक संस्था र प्रतीतपत्र लगायतमा कर्जा लगानी गर्न पाउँछन् । तर, घरजग्गामा, सेयर तथा सुनचाँदीको धितो लगायतमा कर्जा दिन पाउँदैनन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।