अमेरिकी केन्द्रीय बैंकले तीन वर्षपछि बढायो औसत ब्याजदर

0
Shares

अमेरिकी केन्द्रीय बैंक फेडरल रिर्जभ (फेड) ले ०.२५ प्रतिशतले औसत ब्याजदर वृद्धि गरेको छ । करिब तीन वर्षपछि फेडले औसत ब्याजदर वृद्धि गरेको हो । बुधबार बसेको दुई दिन लामो बैठक पछि फेडले औसत ब्याजदर वृद्धि गरेको हो।

विश्वव्यापी महामारीको रुपमा कारोना भाइरसको संक्रमण फैलिएपछि विश्व अर्थतन्त्र नै धरासायी बन्ने स्थीतिमा पुगेको थियो । लाखौँको सङ्ख्यामा मानिसहरुले रोजगारी गुमाइरहेका थिए । अमेरिकी अर्थतन्त्रलाई धरासायी हुन नदिन र स्व–रोजगार प्रवद्धन गर्न फेडले कोभिड विशेष स्टीमुलस जारी गरेको थियो ।

जसअनुसार २.२५ प्रतिशत रहेको औसत ब्याजदर घटाएर फेडले शून्य प्रतिशत बनाएको थियो भने क्वानटिटेटिभ इजिङ मार्फत बैंकिङ्क प्रणालीमा ७ अर्ब रकम ट्रेजरी बन्ड र मोर्टगेज ब्याकड सेक्युरिटिजको माध्यमबाट रिलिज गरेको थियो ।

कोभिड–१९ संक्रमण कम हुँदै गएपछि र देशको अर्थतन्त्र स्थीर भएपछि सन् २०२१ को अन्त्यबाट नै फेडरल रिर्जभले औसत ब्याजदर बढाउने घोषणा गरेको थियो। अन्ततः उच्च महंगीका कारण भएका समस्याहरुको समाधान गर्न र मूल्य स्थीरता कायम गर्न फेडले ०.२५ प्रतिशतले औसत ब्याजदर बढाएको छ । सन् २०२२ को अन्त्यसम्म फेडरल रिजर्भ र फेडका नीतिकर्ताहरुले १.७५ प्रतिशत देखि २ प्रतिशत सम्म मूल्य वृद्धि गर्ने योजना बनाएका छन् ।

रोजगारी तथा कर्मचारीहरुको पारिश्रमिकमा वृद्धि भएका कारण अमेरिकी अर्थतन्त्र बलियो भएको र यस समयमा अमेरिकी परिवारहरुले भोग्दै आएको मूल्यवृद्धिमा मूल्य स्थिरता ल्याउन औसत ब्याजदर बढाउने जानकारी फेडका अध्यक्ष जेरोमी पावेलले दिएका छन् ।

अमेरिकी विश्लेषकहरु भन्छन्,“ युद्धको बीचमा फेडरल रिजर्भले आक्रमक तरिकाले मुद्रास्फीति नियन्त्रण गर्न नीतिहरु अवलम्बन गरेपनि, यद्धका कारण कच्चा पदार्थको मूल्य वृद्धि र आपूर्तिमा नै अवरोध सिर्जना हुँदा, युद्ध र उच्च महंगीको ख्याल नगरी ब्याजदर बढाउँदा अमेरिकी अर्थतन्त्रमा आर्थिक मन्दी आउने सम्भावना रहेको छ । ”

गत डिसेम्बरमा सन् २०२२ को आर्थिक वृद्धि दर ४ प्रतिशत प्रक्षेपण गरेको फेडले युद्ध तथा अन्य विभिन्न समस्या देखाउँदै उक्त प्रक्षेपण २.८ प्रतिशतमा झारेको छ।

हालको अमेरिकी मुद्रास्फीति ब्याजदर ६ प्रतिशत रहेको छ । फेडले सन् २०२२ को अन्त्यसम्ममा ४.३ प्रतिशत र सन् २०२४ को अन्त्यसम्ममा २.३ प्रतिशत बनाउने लक्ष्य लिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।