बैंकहरुको कर्जा निक्षेप अनुपात ९१% माथि, ६ अर्ब निक्षेप घट्दा एक अर्ब कर्जा बढ्यो

0
Shares

चालु आर्थिक वर्षको चैत महिना सुरु भएपछि बैंकहरुको कर्जा निक्षेप(सीडी) अनुपात ९१ प्रतिशत भन्दा माथि पुगेको छ । बैंकहरुमा नयाँ निक्षप थपिनुको सट्टा भएको पनि झिकिएपछि कर्जा निक्षेप अनुपातमा समेत दवाब परेको हो ।

फागुन महिनामा केही निक्षेप थपिएपछि ९० प्रतिशतको हाराहारीमा आएको औसत कर्जा निक्षेप अनुपात पुनः सीमा भन्दा माथी पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार कर्जा निक्षेप अनुपात ९० प्रतिशत भन्दा माथि जान हुदैन् । सो भन्दा माथि भएका बैंकहरुले आगामी असार मसान्तसम्ममा सो सीमा भित्र ल्याउनु पर्ने व्यवस्था छ ।

चैत महिना सुरु भएपछि ४ गते शुक्रबारसम्म ६ अर्ब रुपैयाँ निक्षेप घटेको छ । तर, सो अवधिमा एक अर्ब रुपैयाँ बरावरको कर्जा वढेको हो । यो अवधीमा बैंकहरुको विदेशी मुद्राको निक्षेप १ अर्बले बढेको छ भने कर्जा ४ अर्बले घटेको छ । विदेशी विनिमय सञ्चितिमा आएको कमीका कारण सरकारले आयातमा कडाई गरेपछि विदेशी मुद्राको कर्जा निरन्तर घट्दो क्रममा छ । असोज महिनाको अन्तिममा १५७ अर्बसम्म विदेशी मुद्राको कर्जा भएकोमा चैतको ४ गतेसम्म आइपुग्दा घटेर ४८ अर्बमा सिमित भएको छ ।

वित्तीय प्रणालीमा तरलतासंगै कर्जा लगानी योग्य रकमको अभाव देखिएको लामो समय वितीसक्दा पनि समाधान हुन सकेको छैन । बैंकहरुले दैनिक तरलता व्यवस्थापनका लागि उच्च दरमा नेपाल राष्ट्र बैंक मार्फत सापट लिने गरेका छन् । आइतबार मात्र बैंकहरुले नेपाल राष्ट्र बैंकबाट स्थायी तरलता सुविधा सापट ४७ अर्ब ९७ करोड रुपैयाँ लिएका छन् ।

चैत ४ गतेसम्ममा बैंकहरुको स्वदेशी तथा विदेशी मुद्रा दुबै गरी कुल ४३ खर्ब २८ अर्ब रुपैयाँ निक्षेप रहेको छ । सोही अवधिमा सम्म बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ६८ अर्ब रुपैयाँ रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।