बाध्यताले ‘भरीया’ बनेका नुरु शेर्पा मेहेनेतले बने उद्यमी, फेन्सीदेखि रिसोटसम्म

0
Shares

बाल्यकालमा पर्यटकको भारी बोक्ने ‘भरीया’ नुरु शेर्पा अहिले उदाउँदो युवा उद्यमी हुन । पर्यटकका भारी बोक्दै गर्दा माछापुच्छ्रेको फेदी देखि सगरमाथाको चुचुरो पुगेका शेर्पा समाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् । बाल्यकालमा जीविकोपार्जनका लागि बाध्यताले अगाल्नु परेको भरिया पेसाले उनलाई मेहेनेत गर्न सिकाएकाले पनि आज अवस्था उचाइमा पु¥याएको हो ।

विसं २०५४ सालमा खोटाङको निम्न परिवारमा जन्म लिएका शेर्पा ५ दाजुभाई र दुई दिदी बहिनी मध्येका साइलो छोरा हुन् । खोटाङको निकै विकट ठाउँ भनेर चिनिने हाल अ‍ैसेलुखर्क गाउँपालिका राखामा जन्मेका शेर्पाले कक्षा ४ सम्मको पढाइ गाउँकै विद्यालयबाट सके । सानै देखि लामा पढ्ने रहर गरिरहेका शेर्पा त्यसपछि पढ्नकै लागि भनेर सोलुखुम्बु झरे । तर, परिवारका सबै दाजुभाइले लामा नै पढ्ने भएपछि उनले परिवारको जिम्मेबारी सम्हाल्न पर्ने भएपछि ३ वर्ष पढिसकेको लामाको पढाइ बीचमै रोकियो र पुनः यूर्टन भए स्कुलतिर ।

जिल्लास्तरीय परीक्षा (कक्षा ८ सम्म) सकेर कक्षा ९ पढ्न चार वर्षपछि गाउँफर्किएका शेर्पाले पढाइ छोड्नुपर्ने बाध्यता आइपर्यो । “म मात्र होइन मेरा भाई बहिनीहरु पनि पढाउनुपर्ने,” उनले भने,“म तल बजारमा पढ्थेँ त्यहाँ पैसा तिरेर बस्नुपर्ने थियो । कमजोर आर्थिक अवस्थाका कारण पढाईलाई कक्षा ९ मै छाडिदिएँ ।”

परिवारको जिम्मेबारी बोधले सेर्पाले आम्दानीको बाटो खोज्न सुरु गरे । सोही क्रममा उनी पर्यटका भारी बोक्न सोलुखुम्बु गए । त्यस समयमा उनी मात्र १४ वर्षका थिए । हाँस्ने, खेल्ने, पढ्ने कलिलो उमेरमा पर्यटकहरुको भारी बोक्नु पर्ने बाध्यता आइलाग्यो । “भारी बोक्दा धेरै पटक रोए,” शेर्पाले भने “सानु भएकाले युरोपियन पर्यटकहरुले भारी बोक्न दिँदैनथे तर कोरियन र चाइनिजहरुले चाहीँ अवसर दिन्थे । पहिले पटक कोरियनसँग हिँडेको थिए । मेरो पहिलो ट्रेकिङ एभरेष्ट बेस क्याम्पको थियो ।”

भारी बोकेर करिब ३—४ महिनामा पहिलो पल्ट ६० हजार रुपैयाँ कमाएका शेर्पाले आधा आफ्नी आमालाई दिएर बाँकी रहेको पैसाले आफु पढ्न थाले । पर्यटकहरु नेपाल घुम्न आउने सिजन र अफसिजन हुन्छ । शेर्पा सिजनका समयमा भारी बोक्न हिँड्थे भने अफसिजनको बेला गाउँमा झरेर पढ्ने गर्थे । तर यताउता हिँड्ने भएकोले उनको त्यो पढाई केवल पढाइमा मात्रै सीमित भयो । किनकी उनले परीक्षा दिन फारम भर्ने समय नै पाएनन् । बारम्बार पढ्न खोजेको भएपनि फर्म भर्ने समय छुट्दा अध्ययनलाई अघि बढाउन सकेका थिएनन । पढाई भन्दा पनि उनले विदेशजाने निर्णय गरेका थिए । विदेशजाने तरखरमा जुटे । तर नागरिकता बनाउन एसएलसीको सर्टिफिकेट थिएन ।

“नागरिकता नभएपछि मेरो विदेशजाने सपना पनि बीचमै रोकियो र सदरमुकामबाट गाउँ फर्किए,”उनले भने,“त्यसपछि शेर्पाले गाउँका एकजना शिक्षकलाई भनेर फारम भरे र एसईई परीक्षा दिए ।” यसपटक भने शोर्पाले परिक्षा दिनु मात्र नभई दोस्रो श्रेणीमा एसइईमा उत्र्तिण गरे । त्यसपछि हतार हतार नागरिकता बनाउनका लागि जिल्ला पुगेको उनी सुनाउछन ।

नागरिकता बनाइसकेपछि विदेश जान भनेर विसं २०७३ सालमा काठमाण्डौं आएका शेर्पा गाउँबाट भर्खर काठमाण्डौं आइसकेपछि उनका आफन्तले सँगै उभिँदा पनि अप्ठ्यारो मान्ने गरेको उनको अनुभव छ । त्यसपछि उनले विदेश होइन त्यस्ता आफन्तहरु अगाडि केही न केही गर्नैपर्छ भन्ने अठोट लिए ।

विसं २०७४ सालमा काठमाण्डांैको जनकल्याण क्याम्पसमा भर्ना भएका शेर्पाले भने “बिहानै कलेज जानुपर्ने आफुसँग डटपेन सम्म पनि हुँदैन थियो । साथीसँग भोलिदिन्छु भनेर माग्थे र त्यसरी नै पढ्थे ।” करिब ५ महिना यसैगरी साथीहरुको पाठन पाठन सामाग्री मागेर पढ्दै विताए । त्यसपछि दशैंको छुट्टीको समयमा शेर्पा फेरि जोमसोम र पोखरा जाने पर्यटकको भारी बोक्न गए । “भारी बोक्छु मात्र भन्दा पाँइदैन थियो । भारी बोक्नलाई लैजानुस् भनेर गाइडहरुलाई बियर र रक्सी समेत किनेर खुवाउनु पथ्र्यो ,” उनले विगत सम्झदै भने । 

ट्रेकिङ गएर आएपछि उनले कलेजको शुल्क तिर्ने तथा आवश्यक बन्दोवस्तीका समाग्री किन्ने गर्थे । सो समयमा उनलाई शेर्पा मिडिया ग्रुपमा बसेर काम गर्ने अवसर जुर्यो । त्यसपछि उनले सिटिईभिटीईबाट ६ महिने कम्प्यूटर कोर्ष र पत्रकारिता कोर्स गरे । शेर्पा मिडिया गु्रपमा काम गर्दै गर्दा धेरै कमाउने चाहा भएपछि रोजगारीका लागि दक्षिण कोरिया जाने तयारी समेत गरेको उनी बताउछन् । कोरीया जाने सपना पुरा हुन सकेन । त्यसपछि उनी जापनीज भाषा पढे । धेरै खर्च भएपछि जापान जाने सोचको पनि माया मारे । 

विदेशीने सपना पुरा नभएपछि देशमै केही गरौं भन्ने उनको मनामा आयो । त्यसपछि उनले विसं २०७५ सालमा बौद्धमा ‘शेर्पा फेन्सी स्टोर’ नामक कपडा दुकान खोले । उनले त्यहाँआफ्नो मौलीक भाषा धर्म जोगाउनुपर्छ भनेर शेर्पाहरुको मात्र लुगा राख्थे । त्यस फेन्सीमा विद्यार्थी तथा कमजोर आर्थिक अवस्था भएकाहरुले पनि लाउन पाउन भनेर भाडामा कपडा राखेका थिए ।

विस्तारै उनी विभिन्न कार्यक्रमहरुमा अघि बढ्न लागे र सफल हुन थाले । उनले ‘सम्भव छ नेपाल’ संस्थाका माध्यमबाट पहिलो पब्लिक स्पीकिङ्ग कार्यक्रमको आयोजना समेत गरे । उक्त कार्यक्रमलाइ नेपाल पर्यटन बोर्डको सहयोग थियो । त्यो कार्यक्रमबाट उनले धेरै सफलता र साथ पाए । त्यसपछि उनले एघार जनाको टीम बनाएर शेर्पा इभेन्ट अर्गनाइजर संस्था स्थापना गरे ।

त्यसपछि उनले उद्घोषण प्रतियोगिता, अनलाइनबाट स्पीच प्रतियोगिता लगायत अन्य थुप्रै कार्यक्रमहरु गरे । यो अवधिमा उनलाई देश विदशबाट आउने कार्यक्रमको पनि ओइरो लाग्न थाल्यो । तर त्यसै समय सुरु भयो कोभिड महामारी । कोभिडका कारण पक्का भएका कार्यक्रमहरु पनि रोकिए । त्यसो त कार्यक्रमका लागि भनेर फण्डिङ भएको पैसा के गर्ने ?

कारोना महामारी सुरु भएपनि उनले पनि अनलाइन डान्स, सिंगिङ प्रतियोगिता गर्न लागे । अनलाइनमा पनि सहभागीको ओइरो थियो । उनले विसं २०७७ सालमा बौद्धमा गरेको ल्होसार कार्यक्रमले उनको प्रशंसा अझ चुलिन पुग्यो ।

कार्यक्रममा एकपछि अर्को सफलता कमाउँदै गएका शेर्पालाई स्वदेश तथा विदेशमा रहेका केही आफन्तहरुले विश्व किर्तिमान रचाउने काम गर्न सुझाव दिए । सुझाव अनुसार उनीहरुले ६ हजार ४७८ मिटरको उचाइमा गएर प्रत्यक्ष प्रसारण (लाइभ)गर्ने र विश्व किर्तिमान तयार गर्न प्रोजेक्ट तयार गरे ।

किर्तिमान राख्ने कार्य सम्पन्न गर्नका लागि उनको समुहलाइ देश तथा विदेशबाट एक हप्तामा नै १० लाख रुपैयाँ जम्मा भएको थियो । त्यो संगै उनीहरुलाई प्रधानमन्त्री, अर्थमन्त्री, सञ्चार मन्त्री लगायत सबैले बोलाए रै शुभकामना दिएका थिए । ६ हजार ४७८ मिटरको उचाइमा गएर प्रत्यक्ष प्रसारण (लाइभ) गर्ने र विश्वकिर्तिमान तयार गर्ने उदेश्यका साथ १८ जनाको टोली लिएर उनी हिमालय चढ्न तर्फ लागे । बाटोमाकरिब ४ वटा म्यूजिक भिडियोको सुटिङ गरे । उनको समहुको योजना अनुसार नै हाइक्याम्पमा कार्यक्रम सम्पन्न भयो । १४ जना फेरि आफ्नो इच्छ्याले टप अर्थात मेरापी चढ्न गए । दुर्भायवश फर्किने क्रममा एकजना साथी वेपत्ता हुन पुगे । साथी बेपत्ता भएपनि उनले पर्यटन मन्त्रालय, गृहमन्त्रालयलगायत सबैलाई हेलिकप्टर पठाउन आग्रह गरे । तर जाँदा भब्य शुभकामना दिनेहरुले नै आपतको बेला हेलीकप्टर सहयोग गरेनन् । त्यसको दुई दिनपछि शेर्पा संघलाई आग्रह गरेर उनले निजी हेलिकप्टर मगाए । २० दिन खोज्दा पनि बेपत्ता भएको साथी फेला परेनन् । त्यसपछि निराश हुँदै उनीहरु फर्किन बाध्य भए ।

त्यताबाट फर्किएपछि उनलाई एक जना अग्रजले व्यवसाय पनि गर्न आग्रह गरे । त्यस समय ब्रान्डेड कपडा अथवा स्पोर्ट सम्बन्धी जुत्ता बनाउने सल्लाह भएको थियो । त्यसपछि वल्ड रेकर्डमा जानु पूर्व युवाहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यले खोलियो जिआइसी (ग्लोवल इन्भेष्टमेन्ट गू्रपकम्पनी) जिआइजी कम्पनी वल्ड रेकर्डमा जानु भन्दा पहिला खोलिएको कम्पनी हो । उक्त कम्पनी मार्फत उनले एउटा रिसोर्ट निमार्ण गरिरहेका छन् ।

वल्ड रेकर्डमा गएर आइसकेपछि उनले युवाहरुलाई लक्षित गर्दै माघ महिनाबाट केटिएम स्पोर्ट सुरु गरेका छन् । बौद्ध, कपन, जोरपाटी, थली, चावहिल लगायत ठाउँहरुलाई केन्द्रीत गरेर खोलिएको हो । यसको प्रमुख शाखा न्यूरोडको प्रमुख ब्यापारिक केन्द्र विशालबजारमा रहेको छ । जुन लिलाराज त्रिपाठीले सञ्चालन गरिरहेका छन् । यसको शाखा बनेपा, ललितपुर, भक्तपुर, पोखरामाखोल्ने योजना रहेको शेर्पाले बताए ।

काकाको सहयोग र हौसलामा करिब २५ लाख लगानीमा सुरु गरिएको केटीएम स्पोर्ट सपमा खेलकुदजन्य (स्पोर्ट)सम्पूर्ण सामाग्री पाउन सकिन्छ । ब्यवसायीक अवस्थाका हिसाबले पनि केटीएम स्पोर्टको व्यवसाय राम्रै छ । भर्खर खोलिएको कारण आगामी दिनमा व्यवसाय विस्तार गर्ने सोच छ । पसल भएको आसपासमा स्पोर्ट सम्बन्धी सामाग्री पाइने अन्य व्यवसाय नभएकाले अझ राम्रा हुने आशा उनको छ । छोटो समयमा नै व्यवसायबाट राम्रो कारोबार हुन थालिसकेको छ । हाल मासिक करिब ५ लाख रुपैयाँ बराबरको कारोबार भइरहेको छ ।

स्पोर्ट सम्बन्धी सामाग्री निमार्ण गर्ने कुनै कारखाना वा उद्योग नेपालमा नभएका कारण यहाँ पाइने सामाग्री विदेशबाट नै आयात गरिने गरिएको छ । उपलब्ध सम्पूर्ण सामान थाइल्यान्ड, चीन र भारतबाट ल्याइने गरिएको छ । जसमा भारतीय सामाग्री मूल्यका हिसाबले सस्तो हुन्छ भने थाइल्याण्डको सामाग्री अन्यको तुलनामा महँगो रहेको छ ।

शेर्पा हिमाल चढ्न, व्यवसाय गर्न, कार्यक्रमहरु गर्न मात्र सिपालु छैनन् उनले समाज सेवा पनि गर्ने भएका छन् र गर्दै छन् । अहिले उनले एउटा फाउन्डेसन अर्थात च्यारिटी नेपाल फाउन्डेसन नामक संस्था खोले । सो संस्थाको संस्थापक अध्यक्ष शेर्पा नै छन् । यो फाउन्डेसन मार्फत उनले आगामी वर्षबाट तत्काल ९ जना विद्यार्थिलाई १० कक्षासम्म पढाउने, बुढाबुढी, अनाथ, असाहय विद्यार्थीलाई सहयोग गर्ने योजना गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।