अन्तर्राष्ट्रिय बजारमा नेपाली फुटवेयर ‘डोचा’, साढे २ लाखको लगानीमा ४ करोडको कारोबार

0
Shares

पछिल्लो समयमा युवा पुस्तामा रोजगार गर्ने भन्दा पनि दिने सोच हावी हुँदै गएको छ । यहि सोचका कारण पनि स्वरोजगार तथा उद्यमशीलताको विकास हुन थालेको देखिन्छ । यस्तो सोचको एक उदाहरणको हो नेपाली फुटवेयर ब्राण्ड ‘डोचा’ ।

स्वदेशमै केही गर्ने सोचबाट सुरु भएको डोचा आज अन्तर्राष्टिय फुटवेयर मार्केटमा पनि देखिन थालेको छ । वत्सल राजभण्डारी र दिकेश प्रजापतिको निरन्तरको मेहनत, धैर्यता र परिश्रमले स्थापना भएको डोचाले सुरुका चरणमा एउटा कोठामा ह्याण्ड मेड उत्पादनबाट सुरु गरेको थियो । त्यसमा पनि सीमित परिमाणमा मात्र उत्पादन हुने डोचा जुत्ता अहिले फ्याक्ट्रीबाट तयार हुन्छ ।

फुटवेयर उत्पादनमा डोचा नाम सुन्दा नयाँ जस्तो लाग्न सक्छ । तर हिमाली भेगमा डोचा भनेपछि जुत्ता भनेर बुझिन्छ । हिमालय क्षेत्रमा लगाइने विशेष प्रकारको जुत्ताको नामबाट नामाकरण गरिएको डोचाले सन् २०१७ देखि उत्पादन सुरु गरेको हो ।

वत्सलको बन्द भएको व्यवसाय र बाँकी पार्टनरहरुसँगको भेट

डोचाका को–फाउण्डर रहेका वत्सल राजभण्डारीले सन् २०११ मा डेक्सटर पेन्टबल इन्टरटेनमेन्ट नामको आफ्नै व्यवसाय सुरु गरेका थिए । उनले त्यसलाई करिब ४ वर्ष सञ्चालन गरे । सन् २०१४ मा विविध कारणले व्यवसाय बन्द गर्नुपर्ने बाध्यता आइलाग्यो । व्यवसाय बन्द भइसकेपछि उनले फरक–फरक खालका तालिम लिइरहेका थिए । तालिम लिने क्रममा नै उनले उज्यालो फाउन्डेशन नामक एक संस्थासँग सहकार्य गर्ने मौका पाए । सो संस्थामा उनले स्वंयमसेवकको रुपमा काम गर्न थालेका थिए ।

फाउन्डेसनले विसं २०७२ सालमा गएको महाभुकम्पको क्रममा ठूलो राहात वितरण गर्ने क्रममा हालको डोचाका सहकर्मी साथिहरुसँग भेट भयो । तीन जनाबीच कला तथा फुटवेयर क्षेत्रमा काम गर्ने विषयमा छलफल सुरु भयो । उनीहरुको छलफल बढ्दै गएपछि बजारको अवसर तथा चुनौतिका सन्दर्भमा पनि अध्ययन गर्न जरुरी ठाने । त्यसपछि उनीहरुले लामो समय रिसर्च र बजार अध्ययन मै समय बिताए । अध्ययनका समयमा धेरै ठाउँमा पुग्दा ज्येष्ठ नागरिकहरूले अझै पनि आफ्नो परम्परागत पहिरन दैनिक रूपमा लगाउने गरेको उनीहरुले देखे । मौलिक भेषभुषा जोगाई त्यसमै व्यवसाय गर्ने सोचले उनीहरुलाई झनै गहिराइमा पु¥याउन थाल्यो ।

उनीहरुले अध्ययन गर्दै गर्दा यूवा पुस्तामा नेपालमा मौलिकता हराउँदै गएको समेत निष्कर्ष निकाले । “नयाँ जेनेरसनमा मौलिकता हराउँदै गएको देखियो,” वत्सलराज भण्डारीले भने, “जुत्ता भन्दा पनि मौलिकता हराउँदा अहिलेका युवाहरु र हाम्रो मौलिक पद्धती, भेषभुषा हराउँदै गइरहेको अथवा घट्दै गइरहेको हुनाले त्यसलाई नै आधार बनाएर डोचा सुरु गरेको हौं ।” डोचा सुरुवाती दिनहरुमा तीन जना पार्टनर मिलेर सञ्चालन गरिएको थियो । जहाँ बत्सल राजभण्डारी सँगै अमुदा मिश्र र दिकेश प्रजापति थिए ।

उनीहरूले फेसनेबल जुत्ता उत्पादन गर्ने मात्र नभई सांस्कृतिक कुरा पनि प्रदान गर्ने कम्पनी खोल्ने निर्णय गरे । सोही अनुसार उनीहरुले काम पनि अघि बढाए । सुरुवाति दिनहरुमा तीन जना मिलेर स्थापना गरेको यो व्यवसायमा अहिले राज भण्डारी र प्रजापतिले सम्हाल्दै आएका छन् । अमुदा मिश्र भने करिब ४ वर्षदेखि यस व्यवसायमा निष्कृय छिन् ।

साढे दुई लाखमा सुरु भएको डोचा

मौलिक भेषभुषाबाट सुरु भएको डोचा फुटवेयरको सुरुवाति लगानी मात्र साढे दुई लाख रुपैयाँ हो । कम्पनीले सुरुवाति चरणमा १०० पिस मात्र जुत्ता उत्पादन गर्यौ। त्यो समय डोचाको आफ्नै उद्योग पनि थिएन । उत्पादन भएका १०० जुत्ताहरु बिक्री गर्नुपर्ने थियो । राज भण्डारी आफ्नै कोठाबाट डेलिभरी गर्न दौडिरहन्थे । यो क्रम झण्डै डेढ वर्षसम्म चलिरह्यो । जुत्ता बिके आम्दानी हुन्थ्यो ।

“सुरुमा १०० वटा जुत्ता तयार गर्यौ, त्यसपछि ३०० पिसको आँट आयो, त्यसपछि क्रमश: ५०० निकाल्दा निकाल्दै त्यो भन्दा बढी निकाल्यौं,” राज भण्डारीले भने “तीन चार वर्षसम्म त हामीले तलब पनि नलिई डोचा स्थापित गर्न काम गर्यौ ।” डोचाका जुत्ता विशेष गरेर गर्मी महिनामा माग बढी हुने गरेको उनको अनुभव छ । हाल डोचाले माग अनुसार साताको १०० देखि ५०० पिससम्म जुक्ता उत्पादन गर्दै आइरहेको छ ।

कहिले काँही विदेशबाट पनि माग आउँदा एक हजार पिस पनि उत्पादन गर्ने गरेको राजभण्डारी बताउँछन् । कुनै समय एउटा सानो कोठाबाट सुरु भएको डोचा फुटवेयर अहिले अन्तर्राष्ट्रिय बजारमा पनि पुगेको छ ।

डोचाले स्वदेशी मात्र होइन विदेशी मन पनि जित्न सफल भएको छ । डोचा फुटवेयर बेलायत, अष्ट्रेलिया लगायत देशहरुमा पनि निर्यात हुन्छ । विदेशबाट हुने मागमध्ये सबैभन्दा बढी अष्ट्रेलियामा निर्यात हुने गरेको उनले जानकारी दिए ।

कच्चा पदार्थ र उद्योग

डोचाले जुत्ता बनाउनका लागि अधिकांश कच्चा पदार्थ नेपाली नै प्रयोग गर्दै आएको छ । देशका विभिन्न समुदायबाट मैलिक भेषभुषाका कपडाहरु नै डोचा फुटवेयरको कच्चा पदार्थ हो ।

डोचाले तामाङ समुदायबाट स्यामा कपडा अथवा ढाका ल्याउने गरेको छ । त्यससँगै ढाकाको कपडा तेह्रथुम, धनकुटा, पाल्पा, काठमाण्डौं र ललिपुरबाट ल्याउने गरेको छ । त्यसैगरी ललितपुर तथा भक्तपुरबाट लव कपडा, मनाङबाट पाङदेङ कपडा ल्याउने गरेको छ । त्यस्तै सोलुखुम्बु, डोल्पा लगायत जिल्लाबाट पनि अन्य कपडाहरुको ल्याउने गरेको छ ।

कम्पनीले जुत्ताका लागि आवश्यक पर्ने यस्ता कपडाहरु उत्पादकबाट सिधै आयात गर्ने गरेको को–फाउण्डर राजभण्डारीले बताए । डोचाले जुत्ताको सोल भने विदेशबाट आयात गर्छ । नेपालमा बनेको सोलले क्वालिटी दिन नसकेपछि विदेशी प्रयोग गर्ने गरेको उनको भनाई छ । राजभण्डारीका अनुसार सर्वप्रथम डोचाबाट उत्पादन गरिएका १०० वटा जुत्तामा सोल पनि स्वेदशी नै प्रयोग गरिएको थियो ।

“शतप्रतिशत नेपाली कच्चा पदार्थहरु प्रयोग गरौं भनेर प्रयास गरेको भएपनि त्यसमा सफल हुन सकेनौं,” उनले भने,“ त्यसपछि सोल आयात गर्न थालेका हौं ।” डोचाले सोल चीन र भारतबाट आयात गर्ने गरेको छ । हाल डोचाको उद्योग गौरीघाट बौद्धमा छ । पहिला जुत्तामात्र बन्ने महाराजगन्जमा थियो भने ब्याग, पर्स लगायत सामाग्री आमा समुहसँग मिलेर ठिमीमा उत्पादन हुने गर्दथ्यो ।

‘केवा ह्यान्डक्राफ्टेड’ नामक ब्रान्ड पनि डोचोको सहायक ब्रान्ड हो । जसबाट महिलाका लागि चप्पल, पर्स, झोला र मास्क उत्पादनहरु ल्याउने गर्दछ । केवा विदेशी मागले गर्दा शुरु भएको ब्रान्ड हो । सुरुको अवस्थामा केवाका उत्पादनहरु अष्ट्रेलिया मात्र पठाइन्थ्यो । पछिल्लो समयमा स्वदेशी बजारमा पनि यसको माग बढ्न थालेको छ । केवा नेवारी भाषको शब्द हो । केवा शब्दले बगैचा भन्ने बुझाउँछ ।

डोचा ब्रान्डका सामाग्री कहाँबाट खरिद गर्न मिल्छ ?

डोचाका सामाग्री अनलाइन मात्र नभएर स्टोरबाट पनि किन्न सकिन्छ ।डोचाको अहिले झम्सीखेलेमा स्थित एउटा मात्र स्टोर छ । यसका अलवा डोचाका सामाग्री भर्चुअल माध्यमबाट पनि खरिद गर्न सकिन्छ । फेसबुक, वेवसाइट, इन्ष्टाग्राम र फोनबाटै पनि अर्डर गर्न सकिन्छ । उपत्यकामा अर्डर भएकै दिन र उपत्यका भन्दा बाहिर दुई दिनभित्रमा डेलिभरी दिने गरेको कम्पनीले जनाएको छ ।

हालको बजारको अवस्था र आम्दानी कस्तो रहेको छ ?

अहिले डोचाको कार्यालय तथा उद्योग सरुवाको कारण उत्पादन कार्य होल्ड भएको छ । कम्पनीका लागि अझै विभिन्न मेशिन तथा नयाँ टेक्नोलोजी ल्याउने काम पनिसँगै भईरहेको राज भण्डारीले बताए । यसका साथै कम्पनीले ट्रेनिङ सेन्टरपनि सञ्चालन गर्ने उनले जानकारी दिए ।

“हामीले ट्रेनिङ सेन्टर राख्ने भन्ने कुरा भइरहेको छ,” राजभण्डारीले भने, “महिलाहरुलाई जुत्ता सिलाइ सिक्न ठाउँ बनाइसकेका छौं ।” अहिलेसम्म कम्पनीको ४ करोड भन्दा धेरैको कारोबार गरिसकेको छ । यो कारोबारमा २० देखि २५ प्रतिशत खुद नाफा निस्कने उनले सुनाए ।

कोरोनाका समयमा के कति घाटा भयो ?

व्यवसायले विस्तारै गति लिँदै थियो । सोही समयमा कोरोना महामारीको सुरु भयो । “कोरोनाका कारण मानिसहरु घरभित्र सीमित भएकाले पनि व्यवसायमा ठूलो असर पुग्यो,” उनले भने ।

कोरोनाको समयमा ठूल्ठुला कम्पनीहरुले कर्मचारी कटौती गरीरहेका थिए । तर त्यस्तो महामारीका समयमा पनि डोचाले कर्मचारी कटौती भने गरेन । “कोभिडको समयमा कर्मचारी घटाएनौं, अर्को स्टोर खोल्ने तथा भएको बचत रकम सबै स्टाफहरुका लागि खर्च गर्यौ,” राज भण्डारी भने “हाम्रो स्टाफहरुले गर्दा नै हामी छौं ।” कोरोनाको समयमा अन्य व्यवसाय जस्तै डोचाले पनि केही नोक्सान त अवश्य व्यहोर्नुपर्यो । उक्त समय ५ देखि ६ लाख रुपैयाँसम्म घाटा भएको राज भण्डारीले बताउँछन् ।

गुणस्तरीय सामाग्रीमा जोड

डोचाले गुणस्तरीय उत्पादनमा विषेश जोड दिँदै आएको छ । “भोलि हाम्रो समाग्री विदेशबाट फर्किएर आयो भने धेरै नोक्सान हुन्छ,” भण्डारीले भने ,“ त्यसले गर्दा पनि गुणस्तरमा कुनै सम्झौता हुँदैन ।” यस्तै कम्पनीले उत्पादन गर्ने जुत्ताको मूल्य एउटै रहेको छ । जुनसुकै डिजाइनमा जस्तो जुक्ता किन्दा पनि मूल्य २ हजार ७५० रुपैयाँ रहेको छ ।

मूल्य फिक्स गरेको कम्पनीले वारेन्टीको पनि व्यवस्था गरेको छ । कम्पनीले ६ महिनासम्मको वारेन्टी लिने गरेको छ भने २ वर्षसम्म रिपियर पनि गरिरहेको छ । नेपाली उत्पादन प्रयोग बढाउन उपभोक्ताले विदेशी उत्पादन भन्दा पनि स्वदेशी उत्पादनलाई प्राथमिकतामा राख्नुपर्ने हुन्छ । उपभोक्ताले डोचा नै भन्दा पनि नेपाली जुत्ता रोजे आफु खुसी हुने राजभण्डरीले बताउँछन् ।

नेपाली उत्पादनहरु चीनबाट र बाहिरका आयातकर्ताहरुसँग प्रतिस्पर्धा गरिरहेको हुनाले नेपाली जुत्ता उत्पादन गर्ने कम्पनीहरुलाई प्रतिस्पर्धीका रुपमा हेर्दैनन् । तर, यो व्यवसाय सञ्चालन गर्दै गर्दा कच्चा समाग्री संकलन गर्न बढी समय लाग्ने, गुणस्तरीय कच्चा पदार्थ नपाउने, कच्चा समाग्री खोजेको समयमा नपाइने लगायत समस्याले पनि समय समयमा अफ्ठ्यारो पार्ने गरेको उनको अनुभव छ ।

डाक्टर बन्ने सपना र व्यवसाय

बत्सल राजभण्डारीले कहिल्यै पनि व्यवसाय गर्ने सोचेका थिएनन । तर, कक्षा १२ सम्मको पढाइ विज्ञान विषयमा सकेका उनी स्नातक पढ्नका लागि नेपाल इन्जिनियरिङ कलेज काठमाण्डौंमा भर्ना भएका थिए । तर तेस्रो सेमेस्टरमा पुग्दा उक्त पढाइ आफ्नो लागि नभएको महसुश भएपछि छाडे ।

उनले इन्जिनियरिङ पढ्नका लागि सरकारी छात्रावृति समेत पाएका थिए । हाल राजभण्डारी एमबिए अध्ययन गर्दैछन् । राजभण्डारीले डोचा मात्र नभई मिराना ग्लोबल, क्रिमसन ब्लू, कोटलय लगायत संस्थासंग पनि आवद्ध छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।