चार्टर्ड एकाउन्टेन्टले सोखले सुरु गरेको मौरी पालनको व्यवसायिकरण

0
Shares

पेसाले चार्टर्ड एकाउन्टेन्ट चितवनका कृष्ण हरी बुढाथोकीले व्यक्तिगत सन्तुष्टीका लागि मौरी पालन सुरु गरेका थिए। उनको सोखले नै विस्तारै विस्तारै व्यवसायिक आकार लिदै गयो । त्यसपछि उनले सोखका कारण सुरु भएको मौरी पालनलाई व्यवसाययिकरण गर्न सुरु गरेका छन् ।

आजभन्दा करिब २३ वर्ष अघि बुढाथोकी एक कृषि विज्ञ अर्थात जेटिएको संगको चिनजानमा पुगे । उनले बुढाथोकीलाई घार ठिक पारे अनुदानमा मौरी मिलाइ दिने बताए । जेटिएको आश्वासनपछि वुढाथोकीले मौरीको घार बनाउन सुरु गरे । स्थानिय जङगलमा काठ खोजेर घार बनाइसकेपछि बुढाथोकीले ८०० रुपैयाँमा एक घार मौरी ल्याई पाल्न सुरु गरे । यो समयमा बुढाथोकी कक्षा ८ मा पढ्दै थिए ।

मौरीपालन सम्बन्धी लेखिएका किताबहरु खासै पाइदैन थियो । अंग्रेजी र हिन्दीका किताबहरु पाइए पनि “कालो अक्षर भैँसी बराबर” जस्तो हुन्थ्यो । “त्यो बेला सिक्न पनि समस्या थियो,” उनले भने,“एकैछिन आएर १० मिनेट जति हेरेको पनि ५०० रुपैयाँ दिनु पथ्र्यो ।”

बुढाथोकीका अनुसार उक्त समयमा मौरी पालकहरुले नयाँ किसानलाई आइडीया दिन मान्दैन थिए । तर, उनले मौरीपालन सम्बन्धी किताबहरु खोज्न भने छाडेनन् । खोज्दै गर्दा एकजनाले उनलाई मौरीपालन सम्बन्धी नेपाली किताब उपलब्ध गराए । सुरुका तीन वर्ष बुढाथोकीले मौरीपालनबाट कमाउन भन्दा पनि सिक्नमा खर्च गरे ।

त्यसपछि बुढाथोकीले मौरी पालनलाई विस्तार गर्दै व्यवसायिकरण गर्ने सोच बनाए । सोही अनुसार मौरीका घार पनि बढाउँदै गए । धेरै मौरीका घार भएपछि बुढाथोकी मौरी चराउन कहिले दाङ सम्म पुग्थे त कहिले सर्लाहीको समथर भु–भागमा पुग्थे । उनी मौरी चराउनका लागि दाङ सर्लाही जादाँ त्यहाका स्थानियले पनि त्यसलाई नक्कल गर्न सुरु गरे । “त्यहाँका स्थानियले सिकीसकेपछि त्यहाँबाट हामीलाई लखेटियो, दाङमा पनि हामीलाई बस्न दिएनन । अहिले हामी मौरी चराउन रोल्पा, प्यूठान पुग्छौँ,” बुढाथोकीले भने । बुढाथोकीका अनुसार कहिले काँही दाङका किसान चितवन आउने र चितवनका किसान दाङ जाने प्रवृति पनि छ ।

बुढाथोकीले २०६३ सालमा व्यवसायिक अध्ययनमा स्नातक गरेपछि एक लाख रुपैयाँ पूँजी राखेर आधिकारीक रुपमा ‘मामावि कन्सर्न’ नामक कम्पनी दर्ता गरे । यसअघिसम्म उनले संस्थागत भएर व्यवसायिक नभई सामान्य रुपमा मात्र मौरी पालन गर्दै आएका थिए । यो अवधिमा पनि उनले मह भने बिक्री गर्थे । उनले बिक्री गरेको एक सय रुपैयाँको मह विचौलियाले ३ सय रुपैयाँसम्म बिक्री गर्थे ।

विचौलियाले त्यसो गरेको देखेपछि बुढाथोकी आफै कम्पनी दर्ता गरेर व्यावसयिक मौरी पालनमा अघि बढे । त्यसपछि उनी विचौलियालाई स्थान नदिने गरी मह बेच्न २०६३ सालमा काठमाण्डौ झरे । काठमाडौं उत्रिएपछि उनले मह प्याकेजिङ गर्नेको भाडोको खोजीमा लागे । भाडो खोज्ने क्रममा उनले कवाडीमा गएर ८०० थान जामका सिसिका बट्टा जम्मा गरे । त्यही बट्टालाई नयाँ बिर्को ल्याए र लेबलिङ गरेर महको प्याकेजिङ सुरु गरे ।

तर काठमाण्डौमा मह बेच्न उनले सोचेको जस्तो सजिलो भने भएन । “दुई तीन महिना मह झोलामा राखेर घर–घर घुमे,” उनले भने,“कुसे औंसिको समय थियो असनबाट मान्छेले गोबर, माटो किनेका छन् तर मह किन्दैनन, चिनी ल्यायो भन्छन् के भन्छन् ।”

२०६३ सालमा उनले दर्ता गरेको कम्पनी मामावि कन्सर्न करमा दर्ता भएको रहेनछ । उनले घरेलुमा नविकरण गर्दै आएका थिए । २०६९ सालमा बजारमा फेरी जान्छु भन्दा दुई तीनलाख रुपैयाँ जरिवाना तिर्नु पर्ने अवस्था आयो । एकलाख रुपैयाँ पूँजी भएको कम्पनी ३ लाख कसरी तिर्नु ? बरु नयाँ कम्पनी खोल्छु भनेर हनिहन्ट कन्सर्न नेपाल स्थापना गरेर काम गर्न थाले ।

हाल हनीहन्ट कन्सर्न नेपाल वुढाथोकीका बुबा र भाई भएर हेरीरहेका छन् । हनीहन्ट कन्सर्न नेपालले वर्षिक ४ हजार ५ सय किलोग्राम मह उत्पादन तथा बिक्री गर्ने गरेको बुढाथोकीले बताए । त्यसका लागि बुढाथोकीको परिवारले करिब २०० घार मौरी पालन गरेका छन् ।

मौरी पालन तथा मह उत्पादनमा वातावरणको विशेष भुमिका रहने भएकाले यो उत्पादन कम रहेको उनको भनाइ छ । “२०० घारबाट लगभग ६०/७० क्विनटल हुनु पर्ने हो,” उनले थपे ।

यस्तै मौरी पालन तथा उत्पादन गर्ने किसानहरुले बजारमा महको गुणस्तरको विश्वास दिलाउन नसक्ने समस्या रहेको बुढाथोकीले बताए । रहर रहरमा ८ सय रुपैयाँबाट सुरु गरेको मौरी पालन अहिले व्यवसायिक भएको छ । त्यसका साथै बलीयो आम्दानीको स्रोत समेत बनेको छ ।

अझ नेपालमा प्रसस्त मात्रामा चिउरी रोप्न सकियो भने मह उत्पादनमा थप टेवा पुग्ने बुढाथोकीको अनुभव छ । चिउरीको फूलमा मौरी असाध्यै झुम्मिन्छ । तथ्यांक अनुसार चिउरीको फूलको रसमा चिनीको मात्रा ४२ प्रतिशत हुन्छ । यसैले चिउरीलाई मह उत्पादनको महत्वपूर्ण स्रोत मानिने गरीन्छ ।

चार्टर्ड एकाउन्टेन्ट बुढाथोकी बिजनेस काउन्सीलिङ ग्रुपका प्रबन्ध निर्देशक हुन् । त्यस्तै उनी आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा चितवनको कालिका नगरपालिकको मेयरका लागि स्वतन्त्र उमेद्धवार दिने तयारी गरीरहेका छन् । मौरी पाल्दा–पाल्दै दशक बिताइसकेका बुढाथोकी मौरीबाटै प्रभावित भएर स्वतन्त्र उमेद्धवारमा उठेको बताउँछन् ।

पछिल्लो समयमा मौरी पालनलाई पनि व्यवसयिकरण हुन थालेपछि महको उत्पादन तथा उपलब्धता सहज हुन थाल्यो । त्यसको प्रभावले केही वर्ष यता महपारखीहरुलाई धेरै सहज पनि भएको छ । केही समय अघि वन, जंगल र भिरपाखामा मात्र सिमित मौरीहरुलाई मानिसहरुले अहिले घार बनाएर घारमा नै व्यवस्थित तरिकाले पाल्न थालेका छन् । मह उत्पादन व्यवसायबाट राम्रो आम्दानी हुने भएपछि मौरी पालक किसानहरुको संख्या बढ्दै गएको छ । राम्रोसंग मौरी पालन गर्न सके सरल तरिकाले मनग्य आम्दानी हुने बुढाथोकीको उदाहरणले पनि पुष्टि गर्छ ।

व्यवसायिक मौरी पालन बढेदेखि मौरी पालन गर्ने किसान तथा मह व्यवसायीहरु पनि संगठित भएका छन् । नेपाल केन्द्रीय मह व्यवसायी संघका अध्यक्ष पवन सत्यालका अनुसार नेपालमा सबैभन्दा बढी मौरी पालन र मह उत्पादन चितवन जिल्लामा हुने गरेको छ ।

यस्तै दाङ, कैलाली, सुनसरी, मोरङ र सर्लाहीमा धेरै मौरी पालन गरिन्छ । अध्यक्ष सत्यालका अनुसार नेपालमा करिब २५ हजार मौरी व्यवसायीले १ लाख घारको हाराहारीमा मौरी पालन गरेका छन् ।

यस्तै नेपालमा दुई किसीमको मौरी पालनगरिने गरिएको छ । नेपालमा भाग्ने मौरी अर्थात लोकल मौरी (सेरेना मौरी) र व्यवसायीक मौरी (एपिस मेलिफेरा मौरी)लाइ पाल्ने गरिएको छ । नेपाल सरकार र अनुदान दिने विभिन्न संस्थाले सेरेना मौरी दिने गरेका छन् भने बढी मह उत्पादन गर्न व्यवसायीहरुले व्यवसायिक मौरी पाल्ने गर्छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।