निर्जीवन बीमा व्यवसाय औषतमा २५% बढ्यो, ८ महिनामा सवा २५ अर्ब बीमाशुल्क संकलन

0
Shares

नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०७८/७९ को आठ महिना अवधिमा बीमा व्यवसाय २५.२५ प्रतिशतले वृद्धि गरेका छन् । सञ्चालित २० निर्जीवन बीमा कम्पनीहरुले फागुन मसान्तसम्ममा २५ अर्ब माथि बीमा व्यवसाय गरेका हुन् ।

यस अवधिमा बीमा कम्पनीहरुले १९ लाख ३९ हजार ३८५ वटा बीमालेख जारी गरेर २५ अर्ब ३० करोड रुपैयाँ बराबरको कुल बीमशुल्क संकलन गरेका हुन् । फागुन महिनामा २ लाख ३८ हजार ५०१ वटा बीमालेख जारी गरेका निर्जीवन बीमा कम्पनीहरुले यो महिनामा मात्रै साढे अर्ब रुपैयाँ बराबरको व्यवसाय बढाएका हुन् । माघसम्म १६ लाख ९५ हजार ७८८ बीमालेखबाट बीमा कम्पनीहरुले कुल बीमा शुल्क संकलन २१ अर्ब ८१ करोड संकलन गरेका थिए ।

चालु आवको ८ महिनामा १४ कम्पनीले एक अर्ब रुपैयँभन्दा माथि बीमाशुल्क आर्जन गरेका छन् । यस अवधिमा शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै ३ अर्ब १० करोड २९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । कम्पनीले अघिल्लो फागुनको तुलनामा १५.७८ प्रतिशतले व्यवसाय बढाएको हो । फागुनसम्म शिखरले १ लाख ६५ हजार ५१६ वटा बीमालेख जारी गरेका छ ।

शिखरपछि दोस्रो ठूलो कुल बीमाशुल्क संकलन सगरमाथा इन्स्योरेन्सले गरेको छ । यस कम्पनीले अघिल्लो आवको फागुनको तुलनामा २५.६१ प्रतिशतले बढाउँदै २ अर्ब २२ करोड ३४ लाख रुपैयाँ संकलन गरेको छ । तेस्रो स्थानामा रहेको नेकोले १ अर्ब ९९ करोड ८६ लाख बीमाशुल्क संकलन गरेको छ । यो कम्पनीको बीमाशुल्क संकलन अघिल्लो फागनुको तुलनामा १५.५३ प्रतिशतले बढेको हो ।

यसैगरी सिद्धार्थ इन्सयोरेन्स र एनएलजीले डेढ अर्बमाथि कुल बीमाशुल्क संकलन गर्दा प्रिमियर, राष्ट्रिय बीमा कम्पनी, युनाइटेड, हिमालयन जनरल, आइएमई जनरल, अजोड, नेपाल इन्स्योरेन्स, लुम्बिनी जनरल र प्रभु इस्योरेन्सको कुल बीमाशुल्क संकलन एक अर्बमाथि रहेको छ ।

यस्तै दि ओरियन्टल इन्स्योरेन्सले ९२ करोड, प्रुडेन्सियल ८८ करोड, एरभेष्ट ८२ करोड, सानिमा जनरल पौन ६४ करोड, जनरल इन्स्यारेन्स ६१ करोड र सबैभन्दा कम बीमाशुल्क संकलन गरेको नेशनल इन्स्योरेन्सले ५८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको हो ।

हिमालयन जनरलको उच्च बढ्दा प्रुडेन्सियलको बीमाशुल्क संकलन घट्यो

बीमा समितिले उपलब्ध गराएको २०७८ फागुन मसान्तसम्मको तथ्याङ्क अनुसार हिमालयन जनरल इन्स्योरेन्सको कुल बीमाशुल्क संकलन सबैभन्दा उच्च ८३.४७ प्रतिशतले बढेको छ ।

२०७७ फागुनसम्म ६० करोड रुपैयाँ कुल बीमाशुल्क उठाएको यस कम्पनीले चालु आवको यसै अवधिमा १ अर्ब १० करोड माथि बीमाशुल्क संकलन गरेको हो । कम्पनीले ६८ हजार ९७३ वटा बीमालेख जारी गरेको छ ।

यसैगरी गत आवको फागुनको तुलनामा चालु आवको फागुनमा सानिमा जनरल इन्स्योरेन्सको कुल बीमशुल्क संकलन ६३, युनाइटेड ४९, जनरल इन्स्योरेन्सको ३० प्रतिशतले वृद्धि भएको छ । दि ओरियन्टल, सगरमाथा, नेपाल, एभरेष्ट, अजोड इन्स्योरेन्सले २० प्रतिशत माथि व्यवसाय विस्तार गरेका छन् ।

शिखर, नेको, प्रिमियर, लुम्निी जनरल, सिद्धार्थ, आईएमइ जनरलको दशदेखि २० प्रतिशतसम्म कुल बीमाशुल्क संकलन बढेको छ । एनएलजी, नेशनल र प्रभु इन्स्योरेन्सको कुल बीमाशुल्क संकलन सामान्य बढेको छ । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको अघिल्लो फागुनको तथ्याङ्क उपलब्ध नभएका कारण वृद्धि वा ह्रास के भयो उपलब्ध हुन सकेको छैन । राष्ट्रिय बीमा कम्पनीले १ अर्ब २९ करोड माथि बीमाशुलक संकलन गरेको छ ।

यस अवधिमा प्रुडेन्सियलको बीमाशुल्क संकलन भने अघिल्लो फागुन मसान्तको तुलनामा ५.८८ प्रतिशतले घटेर ८८ करोड ४७ लाख रुपैयाँमा संकुचित बनेको हो । २०७७ फागुन मसान्तसम्ममा यो कम्पनीले ९४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।

फागुनमा मात्रै साढे ३ अर्ब बीमाशुल्क संकलन, राष्ट्रिय बीमाको सबैभन्दा अधिक

निर्जीवन बीमा कम्पनीहरुले फागुन महिनामा मात्रै ३ अर्ब ४७ करोड ५६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । २ लाख ३८ हजार ५०१ वटा बीमालेख जारी गरेर २० निर्जीवन बीमा कम्पनीहरुले उक्त रकम संकलन गरेका हुन् ।

माघसम्म २१ अर्ब ८१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका कम्पनीहरुले फागुनसम्म आइपुग्दा २५ अर्ब ३० करोड रुपैयाँ पुगेको हो । माघसम्म १६ लाख ९५ हजार वटा बीमालेख जारी भएकोमा फागनुसम्म आइपुग्दा जारी बीमालेख संख्या १९ लाख ३९ हजार ३८५ वटा पुगेको छ ।

फागुनमा राष्ट्रिय बीमा कम्पनीले यो महिनामा सबैभन्दा धेरै बीमाशुलक संकलन गरेको छ । फागुनमा संकलित बीमाशुल्कको करिब १६ प्रतिशत हिस्सा आरबिसीएल एक्लैको छ । कम्पनीले फागुनमा मात्रै ५५ करोड २५ लाख रुपैयाँ बीमाशुल्क उठाएको हो । यो कम्पनीले फागनुसम्म संकलन गरेको बीमाशुल्क रकमको (१२९ करोड) ४२.७७ प्रतिशत रकम फागुन महिनामा मात्रै संकलन गरेको छ । कम्पनीले यसअघिका ७ महिनामा औसत १० करोड ५६ लाख रुपैयाँका दरले संकलन गरेको थियो ।

फागुनमा दोस्रो ठूलो बीमाशुल्क संकलन गरेको शिखरले ३३ करोड ७४ लाख, सगरमाथा २६ करोड ७९ लाख, नेको २२ करोड १० लाख, सिद्धार्थ २१ करोड ८१ लाख, एनएलजी २१ करोड १८ लाख र प्रिमियर इन्स्योरेन्सले फागुनमा २१ करोड २ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

यस अवधिमा थप दश निर्जीवन बीमा कम्पनीहरु आईएमई जनरल, नेपाल, अजोड, लुम्बिनी, युनाइटेड, हिमालयन, एरभेष्ट, प्रुडेन्सियल, सानिमा र दि ओरिइन्टलले फागुनमा १० करोड माथि बीमाशुल्क संकलन गरेका छन् । प्रभु, जनरल र नेशनल इन्स्योरेन्सले १० अर्बभन्दा कम बीमाशुल्क संकलन गरेका छन् ।

कुन कम्पनीको बीमालेख कति ? नेको इन्स्योरेन्सको बीमालेख सबैभन्दा धेरै

निर्जीवन बीमा कम्पनीहरुमध्ये फागुनमा मसान्तसम्म कुल १९ लाख ३९ हजार ३८५ वटा बीमालेख जारी भएको छ । जसमध्ये नेको इन्स्योरेन्सले सबैभन्दा धेरै १ लाख ८९ हजार ६५० वटा जारी गरेको छ । जुन कुल बीमालेखको ९.७८ प्रतिशत हो । कम्पनीले फागुनमा मात्रै २२ हजार ३७० वटा बीमालेख जारी गरेको हो ।

यसैगरी सगरमाथा इन्स्योरेन्सले फागुनमा जारी गरेको २१ हजार ६५४ सहित कुल १ लाख ७७ हजार ५२१ वटा, सिद्धार्थ १ लाख ६९ हजार ७११ वटा, शिखर इन्स्योरेन्स १ लाख ६५ हजार ५१६ वटा, एनएलजी इन्स्योरेन्स १ लाख ३५ हजार ९०७ वटा, युनाइटेड १ लाख १५ हजार १६१ वटा, नेपाल १ लाख १३ हजार ८५३ वटा र प्रिमियर इन्स्योरेन्सले १ लाख ९ हजार ८०९ वटा बीमालेख जारी गरेका छ । २० मध्ये ८ कम्पनीको बीमालेख एक लाखभन्दा धेरै रहेको छ ।

यसअवधिमा लुम्बिनी जनरल, प्रुडेन्सियल, अजोड, प्रभु, आइएमई जनरल, एभरेष्ट, हिमालयन जनरल, सानिमा जनरल र जनरल इन्स्योरेन्सले ५० हजारभन्दा बढी एक लाखभन्दा कम संख्यामा बीमालेख जारी गरेका छन् ।

राष्ट्रिय बीमा कम्पनी, दि ओरियन्टल इन्स्योरेन्स, र नेशनल इन्स्योरेन्सले चालु आवको ८ महिनामा ५० हजारभन्दा कम बीमालेख जारी गरेका छन् । सबैभन्दा कम बीमालेख जारी गरेको नेशनल इन्स्योरेन्सले १४ हजार ९२५ वटा जारी गर्दा दि ओरियन्टल इन्स्योरेन्सले २३ हजार ७०३ वटा र राष्ट्रिय बीमा कम्पनीले ३६ हजार ६६५ वटा बीमालेख जारी गरेको हो ।

फागुन महिनामा सिद्धार्थ र शिखरले १९ हजारभन्दा धेरै बीमालेख जारी गर्दा एनएलजी १७ हजार तथा युनाइटेड, नेपाल र प्रिमियर इन्स्योरेन्सले १३ हजार बढी बीमालेख जारी गरेका छन् । लुम्बिनी जनरल, प्रुडेन्सियल, अजोड र प्रभु इन्सयोरेन्सले १० हजारभन्दा बढी बीमालेख जारी गरेका छन् ।

यस्तै फागुनमा आइएमई जनरल, एभरेष्ट, हिमालयन जनरल, सानिमा जनरल, जनरल इन्स्योरेन्स, राष्ट्रिय बीमा, दि ओरियन्टल र नेशनल इन्स्योरेन्सले १० हजारभन्दा कम संख्यामा बीमालेख जारी गरेका छन् । सबैभन्दा कम बीमालेख जारी गरेको नेशनल इन्स्योरेन्सले २ हजार २५० वटा बीमालेख जारी गरेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।