निजी क्षेत्रलाई सिंहदरबार र राष्ट्र बैंकमा हुने छलफल र निर्णयबारे थाहा नहुनु दुःखद : शेखर गोल्छा

0
Shares

‘हामी लगानी गर्छौ, प्रक्रिया सहज बनाइदिनुहोस् । हामी उत्पादन गर्छौं, अवरोध नगरिदिनुहोस् । हामी रोजगारी दिन्छौँ, हडताल नगरिदिनुहोस् । हामी निर्यात गर्छौं, प्रोत्साहन गरिदिनुहोस् । हामी पर्यटक ल्याउँछौँ, स्वागत गरिदिनुहोस् । हामी राजश्व बुझाउँछौँ, अपमान नगरिदिनुहोस्,’ यो मर्मस्पर्शी भनाइ हो, नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसीआई) का अध्यक्ष शेखर गोल्छाको ।

प्रसङ्ग थियो आज यहाँ आयोजित महासङ्घको ५६औँ वार्षिक साधारणसभा एवम् उद्योग वाणिज्य दिवसको कार्यक्रम । कोरोनाका कारण सङ्कटमा परेको अर्थतन्त्र क्रमशः लयमा फर्किन लागेको छ । सरकारले क्रमशः लगानीको वातावरण बनाए पनि अपेक्षित नतिजा हासिल हुन सकेको छैन ।

अर्थतन्त्रका प्रमुख तीन ‘पिल्लर’ मध्येको एक निजी क्षेत्र हो । तर देशमा धेरै भयो अपेक्षित मात्रामा लगानी वृद्धि हुन नसकेको । लगानीमैत्री वातावरण बन्न नसकेको गुनासोका बीच महाङ्घका अध्यक्ष गोल्छाले मध्यम र दीर्घकालीन सङ्कट निम्त्याइएको उल्लेख गरे र उनका अनुसार त्यसको कारण हो– अपारदर्शिता र अल्पकालीन नीतिको अलमल ।

आर्थिक सङ्कटमा फसेको श्रीलङ्काको उदाहरण यतिखेर नेपालमा धेरै दिन थालिएको छ । अध्यक्ष गोल्छा नेपालमा पनि त्यस्तै हुन लागेको त होइन भन्ने आशङ्कालाई यहाँका उद्योगी, व्यवसायीले पनि नजिकबाट हेरेको बताउछन । यसैमा आउँछ सरकारको पारदर्शिता र नीतिगत स्ष्टताको प्रसङ्ग पनि ।
हिजोआजका आर्थिक मञ्चहरुमा प्रायः लिइने श्रीलङ्काको उदाहरणप्रति उनले भने, “हामी श्रीलङ्का जस्तो हुँदैनाँै, तर अहिले चनाखो भएनौँ भने केही वर्षपछि खराब अवस्थामा भने पक्कै पुग्नेछौँ,”

अध्यक्ष गोल्छाले सङ्कट रोक्न रकम भित्र्याउने संयन्त्र बलियो बनाउनुपर्ने, मुलुकभित्र लगानीको अवसर सिर्जना गर्नुपर्नेमा जोड दिँदै भने, “लगानी भयो भने उत्पादन हुन्छ । उत्पादनले रोजगारीको माग गर्छ । प्रतिस्पर्धी उत्पादन गर्न सकियो भने निर्यात हुन्छ । यसमा सुहलियत दिन सकियो भने बजार बढ्छ । विश्वबजारमा माग बढ्दा थप अवसर सिर्जना हुन्छ । मुलुकको सम्पत्तिमा बढोत्तरी हुन्छ । सम्पत्ति बढ्यो भने सामाजिक न्यायसहितको खुला अर्थ व्यवस्था मजबुत हुन्छ ।”

अर्थतन्त्रमा ७७ प्रतिशत हिस्सा र ७५ प्रतिशत बढी रोजगारी सिर्जना गर्ने निजी क्षेत्रलाई सिंहदरबार र नेपाल राष्ट्र बैंकमा हुने छलफल र निर्णयबारे थाहा नहुनु दुःखद रहेको भन्दै उनले अर्थतन्त्रमा के कस्ता समस्या छन् भनेर उद्यमी व्यवसायीसँग छलफल गरेर समाधान निकाल्दा राम्रो हुनेमा जोड दिए । उनले भने, “हामी पनि यही मुलुकका नागरिक हौँ, अर्थतन्त्रमा हाम्रो लगानी ७७ प्रतिशत छ । यहाँ करिब ७५ प्रतिशत रोजगारी हामीले सिर्जना गरेका छौँ । सोही हाराहारीमा राजश्व हामी र हाम्रो माध्यमबाट सङ्कलन हुन्छ । हामी पनि सङ्कट हुन नदिन योगदान दिन चाहन्छाँै, हामीलाई पनि मुलुकको माया छ ।”

चालु आवको सात महिनाको विवरणका आधारमा आत्तिनुपर्ने अवस्था नभएको स्पष्ट पार्दै उनले मुलुक गत कात्तिकदेखि नै सङ्कटोन्मुख भएको बताए । अध्यक्ष गोल्छाले निजी क्षेत्रलाई राजश्वकोे स्रोतका रुपमा मानिएको तर विकासको साझेदार भने नमानिएका गुनासो गरे । उनले सरोकारवालासँग सार्थक सहकार्यका लागि आफूहरु तयार रहेकामा जोड दिँदै भने, “हामीलाई थाहा छ, हामी सङ्कटोन्मुख छौँ, तर सङ्कटग्रस्त भइसकेका छैनौँ । मलाई विश्वास छ, अहिलेको सङ्कट केही महिनामा टर्छ ।”

उद्योगी व्यवसायीको छाता सङ्गठनका रुपमा रहेको महासङ्घका अध्यक्ष गोल्छाले गरेको यो भावनात्मक सम्बोधनले कार्यक्रमका अतिथि मुख्यसचिव शङ्करदास बैरागीलाई पनि सायद छोयो होला । त्यसैले उनको सम्बोधनमा पनि अध्यक्ष गोल्छाका गुनासोहरु मुखरित भएका थिए । उनले सरकारले निजी क्षेत्रलाई सरकारले आफ्नो सारथिका रुपमा नलिएको गुनासाको खण्डन सुरुमै गरे र भने, “सरकारले कहिल्यै पनि निजी क्षेत्रलाई फरक ढङ्गले हरेको छैन बरु आफ्नो साझेदार अर्थात् सहयोगीका रुपमा लिएको छ ।”

मुख्यसचिव बैरागीले थपे, “निजी क्षेत्र सरकारको अनन्य विकास साझेदार हो । हामीले हरेक क्षेत्रमा साझेदारी गरेका छौँ,” । सरकार र निजी क्षेत्र एक आपसमा मिल्नुको विकल्प छैन ।” उनले देशको अवस्था खराब नभएको र हल्ला भएजस्तो समस्यामा नपरेको बताए । “जोखिमका केही लक्षण देखिएका छन् । हामी सबै मिलेर त्यसको समाधान निकाल्नुपर्छ । हामी खुला हृदयका साथ छलफल गर्छौं र समाधानको उपाय पनि निकाल्छौँ ।”

“सरकार र निजी क्षेत्रबीचको उद्देश्यमा समानता छ । सुधार निरन्तरको प्रक्रिया हो, कहीँ कतै कमजोरी भएको भए, त्यसलाई सुधार गरेर जान हामी तयार छौँ,” निजी क्षेत्रलाई ढाडस दिँदै मुख्यसचिवले भने, “लगानीको सहज वातावारण बनाउन सरकारले गृहकार्य गरिरहेको छ ।”

महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पनि अर्थतन्त्रमा देखिएको समस्या र समाधानका उपाय, सरकार र निजी क्षेत्रको समन्वयका बारेमा धारणा राखे । यसअघि आएको श्रीलङ्काको उदाहरण उनले पनि पेस गरे र भनेो, “समस्या छन् तर समाधान नै गर्न नसकिने अवस्थामा पुग्यो भन्ने होइन । त्यसका लागि हामी सबै सचेत हुनुपर्छ ।” उनले समस्याको पहिचान र त्यसको निरुपणका लागि ढिलाइ गर्न नहुनेमा भने जोड दिए।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।