श्रीलंकाको बण्डमा लगानी गरेका नेपाली बैंकहरुको अर्बौं जोखिममा

0
Shares

नेपाली बैंक तथा वित्तीय संस्थाको श्रीलंकाली सरकारको ऋणपत्रमा रहेको लगानी जोखिममा परेको छ । श्रीलंकन सरकार आर्थिक संकटमा फसेपछि बाह्य ऋण भुक्तानी नगर्ने निर्णय गरेसंगै नेपालका बैंक वित्तीय संस्थाको लगानी जोखिममा परेको हो ।

श्रीलंकाको केन्द्रीय बैंकले मंगलबार बाह्य ऋण तिर्न हालको लागि असम्भव र चुनौतीपूर्ण रहेको भन्दै बाह्य ऋण भुक्तानी एकतर्फी रुपमा बन्द गर्ने निर्णय गरेको छ । यो निर्णयले धेरै प्रतिफलका लागि श्रीलंकन सरकारको बण्डमा लगानी गरेको नेपाली बैंक वित्तीय संस्थाको लगानी जोखिममा परेको हो ।

उच्च प्रतिफलको लोभमा समस्या उन्मूख श्रीलंकाली बण्डमा लगानी गरेको नेपाल बैंकका बैंकहरुले अहिले आएर पछुतो मानिरहेका छन् । केही बैंकहरुले आफ्नो लगानीमा प्रतिफल भन्दा पनि सावाँ नै जोखिममा पर्ने देखिपछि केहि महिना अघि समय अविधि नपुग्दै बिक्री गरेर फिर्ता पनि ल्याए । तर, केही बैंक वित्तीय संस्थाको लगानी भने फसेको बताउँदै नेपाल राष्ट्र बैंकका एक अधिकारीले भने,“श्रीलंकाको बण्डमा लगानी गरेको बैंक वित्तीय संस्थाले शतप्रतिशत जोखिम व्यवस्था गर्नुपर्छ।”

धेरै बैंक वित्तीय संस्थाहरुको लगानी श्रीलंकाली वण्डमा रहेको भएपनि नबिल बैंकले गत जनवरी मै फिर्ता गरिसकेको छ । नबिल बैंकले केही वण्डको लगानी अवधि परिपक्क भएपछि र केहीको समयअवधि अगावै फिर्ता गरेको हो । तर, माछापुच्छ्रे बैंकको सन्दर्भमा करिब ६० करोड रुपैयाँ बराबरको प्रोभिजनीङ गर्नुपर्ने भएको छ । त्यसैगरी अन्य बैंक वित्तीय संस्थाले पनि श्रीलंकाली बण्डमा लगानी गरेको भए शतप्रतिशत प्रोभिजनिङ गर्नुपर्नेछ ।

आयातमा निर्भर रहेको श्रीलंकाले इन्धन तथा अत्यावश्यक सामाग्रीको खरिदमा रिजर्भबाट विदेशी मुद्रा प्रयोग गर्ने भएकोले बाह्य ऋण भुत्तानी बन्द गरेको छ । सन् २०२० बाट विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ र त्यसले अर्थतन्त्रमा पार्ने असर न्युनिकरण गर्न करमा छुट दिँदा श्रीलंकाको विदेशी मुद्रा रिजर्भ दुई तिहाइले सकिसकेको छ । अत्यावश्यक सामग्री जस्तै इन्धन, खाद्यान्न, औषधी जस्ता सामग्रीको आपूर्ति हुन नसक्दा जनताले सडक तताउन लागेको एक महिना भन्दा धेरै भइसकेको छ । वर्तमान अवस्थामा बाह्य ऋण भुक्तानी गर्न असम्भव भएका कारण यसबारे चिन्ता नगरी अत्यावश्यक सामाग्रीको आयात कसरी गर्ने भन्नेबारे सोच्नुपर्ने भन्दै अन्तराष्ट्रिय ऋणा भुक्तानी गर्न नसक्ने जनाएको छ ।

अन्तर्राष्ट्रिय ऋणदाता र अन्तराष्ट्रिय मुद्रा कोषसँगको ऋण सहयोग कार्यक्रममा देशले सम्झौता नगर्दा सम्मका लागि बाह्य ऋण भुक्तानी बन्द गरेको छ । श्रीलंकाको करिब ४ अर्ब डलर बराबरको अन्तर्राष्ट्रिय ऋण रहेको छ । जसअन्तर्गत १ अर्ब अन्तर्राष्ट्रिय सभरेन बोन्ड छ । उक्त बोन्डको म्याचुरेसन आगामी जुलाईमा हुँदैछ । श्रीलंकाको यस निर्णयले २५ अर्ब डलर बराबरको दुई पक्षिय तथा व्यवसायी ऋणको भुक्तानी बन्द गरेको छ । यस निर्णय अन्तर्गत १२ अर्ब डलर बराबरको अन्तर्राष्ट्रिय सभरेन बोन्ड पनि पर्छ ।

नेपाली बैंक वित्तीय संस्थाले श्रीलंकाली डिवेञ्चरमा २६ प्रतिशतसम्मको डिस्काउन्टमा खरिद गरेका छन । त्यसमा पनि नेपाली बैंक वित्तीय संस्थाले वार्षिक ६ प्रतिशत प्रतिफल लिने गरी श्रीलंकाको सरकारी बण्डमा लगानी गरेका थिए । अन्यको तुलनामा सरकारी ऋणपत्रको लगानी सुरक्षित मानिने भन्दै लगानी गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।