चीनको आर्थिक वृद्धि दर खस्किँदै, आर्थिक क्रियाकलापमा गिरावट

0
Shares

कोभिड–१९ संक्रमण फैलिँदै गएपछि चीनमा लकडाउन हुँदा मार्च महिनाको आर्थिक क्रियाकलापमा गिरावट आएको छ । लकडाउनका कारण उपभोक्ता तथा फ्याक्ट्रीहरु मारमा पर्दा मार्च महिनाको चीनको आर्थिक वृद्धि दर खस्किएको हो ।

कोभिड–१९लाई लिएर चीनले शून्य सहिष्णुता नीति लागु गरेका कारण विभिन्न कम्पनी तथा उपभोक्ताहरु मारमा परेका छन् ।

चीनको मुख्य औद्योगिक सहर रहेको साङ्घाईमा कोभिड–१९का कारण लकडाउन हुँदा विभिन्न विश्व प्रसिद्ध कारमेकर कम्पनी तथा ग्याजेट मेकर कम्पनीहरुको उत्पादन घटेको छ ।

उत्पादन घट्नेमा विद्युतीय कारनिर्माता कम्पनी टेस्ला र एप्पल पनि परेका छन् । कम्पनी बन्द हुँदा र यातायातमा प्रतिबन्ध लगाइँदा कम्पनीहरुको उत्पादन तथा आपूर्तिमा समस्या आएको छ ।

मार्च महिनाको आर्थिक कारोबार सुस्ताएपनि सन् २०२२/२३को पहिलो त्रैमासको आर्थिक वृद्धि दर भने बढेको छ । गत वर्षको अन्तिम त्रैमासको आर्थिक वृद्धि दर ४.० प्रतिशत रहेको थियो भने यो त्रैमासको आर्थिक वृद्धि दर बढेर ४.४ प्रतिशत पुगेको छ ।

कोभिड प्रभावित कम्पनी तथा जनमानसको लागि भनेर चिनियाँ सरकारले नयाँ स्टीमूलस जारी गर्ने भएको छ । यसै सन्दर्भमा पिनपोइन्ट एसेट म्यानेजमेन्टका प्रमुख अर्थशास्त्री जीवेइ झाङ भन्छन्, “अहिलेको प्रमुख समस्या भनेको नै ओमिक्रोन संक्रमणको फैलावट र लकडाउनका कारण यातायातमा लागेको निषेध रहेको छ ।

तरलता प्रवाहले केही हद सम्म काम गरेता पनि समस्याको मुल कारण समाधान गर्दैन । यातायात बन्द हुँदा सामाग्रीको आपूर्ति श्रृङखला बन्द भएको छ । जबसम्म आवागमनलाई लिएर कुनै प्रभावकारी नीति बन्दैन, तबसम्म आर्थिक गतिविधि कम हुने हुँदा दोस्रो त्रैमासको आर्थिक वृद्धि पनि कम हुन्छ ।”

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।