अर्थ व्यवस्था संकटको अवस्थामा नरहेको उद्योग परिसंघको दाबी, ‘त्रसित बनाउने काम भयो’


नेपाल उद्योग परिसंघ (सिएनआई) ले नेपालको अर्थतन्त्र संकटको अवस्थामा नपुगेको भन्दै त्रसित बनाउने काम भएको जनाएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी सिएनआईले आर्थिक सूचकहरुले अर्थतन्त्र संकटपूर्ण अवस्थामा रहेको नदेखाएको बताएको हो ।

पत्रकार सम्मेलनमा सिएनआई अध्यक्ष विष्णु अग्रवालले मुलुकको अर्थतन्त्र बाहिर चर्चा भएजस्तो संकटको अवस्थामा नरहेको तर सावधानीपुर्वक अघि बढ्नु पर्नेमा जोड दिए ।

उनले नेपालको अर्थतन्त्रलाई श्रीलंकासँग तुलना गर्न नमिल्ने भन्दै राज्यबाट नै सर्वसाधारण, उद्योगी व्यवसायी लगायतलाई त्रसित बनाउने गरी सन्देश प्रवाह गर्ने काम भएको बताए ।

कुल गार्हस्थ उत्पादन, कुल सञ्चिती, मुद्रास्फिति लगायतका सूचकका आधारमा नेपाल श्रीलङ्काभन्दा धेरै अब्बल रहेको भन्दै अग्रवालले त्रास फैलाउने गरी नेपालको अर्थतन्त्रलाई श्रीलङ्कासँग तुलना गर्न नहुने बताए । श्रीलङ्काले अहिलेको अवस्थामा १ महिनाका लागि पनि वस्तु तथा सेवा आयात गर्न नसक्ने भन्दै उनले नेपालको अवस्था त्यस्तो नभएकोमा जोड दिए ।

नियमनकारी निकायबाट जारी निर्देशनका कारण अर्थतन्त्रमा असहज परिस्थिती बनेको आरोप लगाएको परिसंघले विदेशी विनिमय सञ्चिति सन्तुलनका लागि एकपछि अर्को निर्देशन जारी हुँदा अवस्था असहज बनेको आरोप लगाएको हो ।

परिसंघका पुर्वउपाध्यक्ष अनुज अग्रवालले विदेशी मुद्रा आर्जनका लागि गैरनेपालीलाई निश्चित स्थानमा अपार्टमेन्ट खरिदको अनुमति दिन माग गरे । साथै गैरआवासीय नेपालीलाई नेपालमा पैसा राख्न प्रोत्साहन गर्नुपर्ने उनको भनाई थियो । यसले विदेशी मुद्रा मुलुकमा रोकिन गइ हालको समस्या समाधानमा टेवा पुग्ने उनको भनाई थियो । गैरआवासीय नेपालीलाई विदेशी मुद्रामा सेयर खरिद गर्न प्राथमिक निष्काशनमा १५ प्रतिशत कोटा सुनिश्चित गर्न सुझाव दिइएको पनि उनले बताए ।

कुनै पनि वस्तुको आयात बन्द गर्नु समस्याको समाधान नभएको भन्दै परिसंघले सोको व्यवस्थापन गर्न पनि आग्रह गरेको छ । आयात बन्द गर्दा उद्योग व्यवसाय धरासायी भएको भन्दै परिसंघले यसबाट समस्या समाधान हुने नभई बढ्नेतर्फ ध्यानाकर्षण गराएको छ ।

उत्पादन गर्न सकिने क्षेत्रमा हात नहाली व्यापार केन्द्रित भएर नाफा बचाउन लबिङ गरेको भन्ने सञ्चारकर्मीको जिज्ञासामा भने परिसंघ अध्यक्ष अग्रवालले क्रमिक रुपमा उत्पादन क्षेत्रमा लगानी बढिरहेको प्रतिकृया दिएका थिए । त्यसको नतिजा आउन समय लाग्ने बताएका उनले व्यापार धेरै गरेको देखिए पनि सम्बद्ध व्यवसायी तथा उद्यमीहरुले उत्पादनका क्षेत्रमा काम गरिरहेको बताएका थिए ।

यस्तो छ परिसंघको वित्तीय विष्लेषण, जहाँ मुलुकको आयात, निर्यात अनि व्यापार घाटाका सम्बन्धमा भने कुनै तथ्यांक समेटिएको छैन ।

हामी किन संकटमा छैनौँ ?

नेपाल र श्रीलंकाबीचको अमिल्दो तुलना:
१) नेपाल र श्रीलंकाको कूल गार्हस्थ्य उत्पादनको आकार दोब्बर अन्तर रहेको,
२) कूल गार्हस्थ्य उत्पादनको तुलनामा नेपालको कूल राष्ट्रिय ऋण ४०.५ प्रतिशत र श्रीलंकाको १११ प्रतिशत रहेको
३) कूल सञ्चिति ६.७ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने, रहेको तर श्रीलंकासँग एक महिनाको पनि वस्तु र सेवा आयात धान्न सक्ने अवस्था नरहेको
४) मुद्रास्फिति नेपालको ७ प्रतिशत रहेको जबकी श्रीलंकामा २५ प्रतिशत रहेको
माथिका तथ्यांकले नेपाल र छिमेकी देश श्रीलंकाबीच तुलना गर्न नसकिने अवस्था प्रष्ट पारेको छ । यसकारण असहज र अत्यासलाग्दो वातावरण सिर्जना हुने गरी तुलना गरिनु हुँदैन ।

चालु आर्थिक वर्षको सुरुवाती पाँच महिना र त्यसपछिका तीन महिनाको संक्षिप्त आर्थिक झलक:
१) वैदेशिक व्यापार
सुरुवाती पाँच महिनामा औषतमा १ खर्ब ६७ अर्ब बराबरको आयात भइरहेकोमा पछिल्लो तीन महिनामा मासिक औषत १ खर्ब ५६ अर्बको मात्रै मासिक आयात भएको
सुरुवाती ५ महिनामा २० अर्ब ६० करोडको औषत निर्यात भएकोमा पछिल्लो तीन महिनामा औषत निर्यात १५ अर्ब रहेको
२) कूल विदेशी विनिमय सञ्चिति – पहिलो ५ महिनामा ३.२४ प्रतिशतले ऋणात्मक रहेकोमा पछिल्लो तीन महिनामा आइपुग्दा १.५३ प्रतिशतले मात्रै घटेको देखिएको
३) पुँजीगत खर्च – सुरुवाती ५ महिनामा २८ अर्ब ४० करोडले खर्च भएकोमा पछिल्लो ३ महिनामा ४८ अर्ब ७० करोड खर्च भएको
४) बैंक तथा वित्तीय संस्थामा रहेको कूल निक्षेप/कर्जा – सुरुवाती ५ महिनासम्ममा ४८ खर्ब ९ अर्ब रूपैयाँ कूल निक्षेप संकलन भएकोमा पछिल्लो तीन महिनासम्ममा ९२ अर्बले वृद्धि भइ ४९ खर्ब १ अर्ब पुगेको ।
सुरुवाती ५ महिनासम्ममा ४६ खर्ब ३ अर्ब रूपैयाँ कूल ऋण प्रवाह भएकोमा तीन महिनासम्ममा ९८ अर्ब थप भइ भइ ४७ खर्ब १ अर्ब पुगेको ।
५) विप्रेषण – पहिलो ५ महिनामा मासिक औषत ७७ अर्ब ७० करोड मासिक विप्रेषण आय रहेकोमा पछिल्लो ३ महिनामा मासिक औषत ८० अर्ब ८० करोड रूपैयाँ पुगेको ।
६) पर्यटन आगमन – पहिलो ५ महिनामा मासिक औषत १७ हजार ७ सय ५७ जना पर्यटक आगमन भएकोमा पछिल्लो ३ महिनामा मासिक औषत २६ हजार २ सय ४९ पुगेको।
७) मूल्यवृद्धि – सुरुका ५ महिनामा करिब ५ प्रतिशत औषत मूल्यवृद्धि रहेकोमा पछिल्लो ३ महिनामा औषत ६.२५ प्रतिशत पुगेको ।

पछिल्ला तीन महिनाको सूचकले हामी सही दिशातर्फ अघि बढिरहेको देखाउँछ । यसले भविष्यमा विदेशी मुद्रा सञ्चिति वृद्धि हुने देखाउँछ ।

नेपाल राष्ट्र बैंकले चालेका पछिल्ला कदमहरू
क) २०७८ पुस ५ गते १८ किसिमका वस्तुमा शतप्रतिशत र २ किसिमका वस्तुमा ५० प्रतिशत मार्जिन लगाउने परिपत्र भएको
ख) २०७८ माघ २६ गते ४३ किसिमका वस्तुमा १०० प्रतिशत र ४ किसिमका वस्तुमा ५० प्रतिशत मार्जिन राख्नुपर्ने परिपत्र भएको
ग) २०७८ फागुन ११ गते भारित जोखिम वृद्धि गरिएको
घ) २०७८ चैत २१ गते बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरूलाई प्रतितपत्र नखोल्न मौखिक निर्देशन भएको
– अर्थतन्त्र संकटमा रहेको संकेतहरू प्रदान गर्ने गरी राष्ट्र बैंकबाट एकपछि अर्को कदम चालिएको छ । यस प्रकारका कदमहरूले बजारलाई त्राषदिपूर्ण वातावरणमा पु¥याउने र थप तपशील बमोजिमका समस्याहरू बढाउने:
क) विप्रेषण आप्रवाहमा ढिलाइ हुने र रेमिट् गर्नेहरू हिचकिचाउने अवस्था सिर्जना हुने
ख) प्रत्यक्ष विदेशी लगानीकर्ता निरुत्साहित हुने जोखिम बढ्ने
ग) सरकारी राजस्व घट्ने
घ) समग्र बजारको माग घट्ने
ङ) मूल्यवृद्धि तथा सबै पक्षबाट अनावश्यक भण्डारण बढ्न सक्ने
च) अनाधिकृत व्यापार वृद्धि हुन सक्ने
छ) पुँजी पलायनको जोखिम बढ्ने
ज) विद्यमान रोजगारी कटौतीको अवस्था आउन सक्ने

परिसंघले निम्न कारणले वैदेशिक मुद्रा सञ्चिति बढ्न सक्ने आँकलन गरेको छ ।
१) वैदेशिक रोजगारीमा जानेको संख्यामा उल्लेख्य वृद्धि भएकाले आगामी दिनमा विप्रेषण बढ्ने
२) पर्यटक आगमन उच्च दरले बढ्दै गएकाले पर्यटन आय बढ्ने
३) कोभिडका कारण न्यून भएको माग आर्थिक अवस्था सामान्य हुँदै जाँदा उच्च दरमा वृद्धि भएकोमा अहिले त्यस्तो माग पूर्ति भइसकेकाले आयात स्थितर हुने संकेत देखिएको

विदेशी मुद्रा सञ्चिति र तरलता व्यवस्थापनका लागि संभाव्य उपायहरू:
गैर नेपालीलाई अपार्टमेण्ट खरीदको अनुमति:
क) गैह्र नेपालीलाई निश्चित संख्यामा निश्चित स्थानमा विदेशी मुद्रामा अपार्टमेण्ट खरिद गर्न अनुमति दिने
ख) विदेशी मुद्रामा जुनसुकै समयमा अपार्टमेण्ट बिक्री गर्न पाउने व्यवस्था कायम गर्ने, नेपाली मुद्रामा बिक्री गर्न निश्चित समय सीमा कायम गर्ने
ग) यसरी अपार्टमेण्ट खरिद गर्नेलाई दीर्घकालीन भिषा वा स्थायी बसोबासको प्रमाणपत्र उपलब्ध गाउने व्यवस्था समेत कायम गर्ने

गैर आवासिन नेपालीलाई नेपालमा पैसा राख्न प्रोत्साहन गर्ने:
क) हाल कानुनले नरोके पनि उनिहरू रकम फिर्ता हुनेमा सशंकित भइरहेकोले रकम फिर्ता हुने सुनिश्चितता गर्दै विज्ञापन गर्ने
ख) गैर आवासीय नेपालीहरूलाई विदेशी मुद्रामा सेयर खरिद गर्न प्राथमिक निष्काशनको कूल रममको १५ प्रतिशत कोटा सुनिश्चित गर्ने

तरलता कायम गर्न वा बढाउन गर्नु पर्ने नीतिगत निर्णय
क) गोल्ड बोण्डः सुनलाई कमोडिटी सरह बोण्ड बनाई लागू गर्ने – सरकार तथा अनुमति प्राप्त वाणिज्य बैंकहरूले निश्चित दरका सुन बोण्ड जरी गरी भविष्यमा कायम हुने सुनको भाउमा सो समयमा खरिद बिक्री हुने व्यवस्था कायम गर्ने । यसले हाल भइरहेको सुनको आयातमा कमी आउने र सो बोण्ड खरिद गर्न बजारमा नगद आउने देखिन्छ । भारतमा समेत कार्यान्वयन भएको यस्तो बोण्ड नगदमा जारी गरिनुपर्ने हाम्रो सुझाव छ ।
ख) नेपाल विकास पत्र : निश्चित समयमा रकम दोब्बर हुने गरी नेपाल सरकारले ‘नेपाल विकास पत्र’ जस्ता बियरर् बोण्ड जारी गर्ने । जोसुकैले यस्ता बोण्ड नगदमा खरिद गर्न पाउने व्यवस्था कायम गरिनु पर्ने । यस्ता बोण्ड पहिलो तथा दोस्रो बजारमा समेत खरिद बिक्री गर्न मिल्ने व्यवस्था कायम गर्ने ।

हेजिङ – हेजिङ नियमावली शीघ्र कार्यान्वयन गरिनुपर्ने । नोडल एजेन्सी तोकेर कार्यान्वयन थालनी गरिनुपर्ने ।

विप्रेषण – रेमिट्यान्स बैंकिङ प्रणालीबाट भित्रिने गरि रेमिट्यान्स भित्र्याउने कम्पनी तथा रेमिट गर्ने व्यक्तिहरूलाई राज्यबाट निश्चित सुविधा तथा सहुलियत उपलब्ध गराउने ।
क) रेमिट्यान्स भित्र्याउने कम्पनिलाई उसलाई लाग्ने करमा सहुलियत दिने ।
ख) पाकिस्तानमा जस्तै रेमिट्यान्स कम्पनीहरूलाई रेमिट गर्दा लाग्ने शुल्कमा नेपाल सरकारले सहुलियत उपलब्ध गराउने वा बाँग्लादेश र श्रीलंकामा जस्तो सेवाग्राहीहरूले पठाएको रेमिट्यान्समा निश्चित प्रतिशत थप गरि नगद अनुदान उपलब्ध गराउने।
ग) रेमिट गर्ने व्यक्तिलाई प्राथमिक निष्काशनको कूल रकमको १० प्रतिशत कोटा निर्धारण गर्ने
घ) रेमिट गर्ने व्यक्तिलाई परिचयपत्र उपलब्ध गराइ सरकारी सेवा सुविधामा अग्राधिकार उपलब्ध गराउने ।

पोर्टफोलियो लगानी:
क) निश्चित समय (कम्तिमा ३ वर्ष)सम्म नेपाली मुद्रामा कारोबार गर्न नमिल्ने गरी विदेशीहरूलाई विदेशी मुद्रामा धितोपत्र बजारमा लगानी गर्न दिने गरि बजार खुल्ला गर्ने । धितोपत्रमा लगानी गर्ने लगानीकर्ताले स्वदेशमा जारी भएका ऋणपत्रमा समेत समान लगानी गर्नुपर्ने व्यवस्था कायम गर्ने ।

विदेशमा लगानी खुला:
नेपालमा लगानी आकर्षित गर्न र नेपाली वस्तुको विदेशमा बजारीकरण तथा प्रवद्र्धन गर्न विदेशमा लगानी खुला गरिनुपर्ने ।

निश्कर्ष:
क) कुनै पनि वस्तुको आयात बन्द गर्नु समस्याको समाधान होइन । यसकारण आयात व्यवस्थित गर्नेतर्फ सोच राखिनुपर्ने ।
ख) स्वदेशी वस्तुको उत्पादन, बजारीकरण र उपभोग वृद्धिमा सरकारले विशेष पहल गर्नुपर्ने,
ग) नेपाल गम्भीर आर्थिक संकटमा नरहेको यथार्थ मनन् गर्दै बजारमा त्राषदिपूर्ण अवस्था आउन दिन नहुने ।
घ) विदेशी मुद्रा आर्जनको संरचना र दीगो स्रोत पहिचानका लागि काम गर्ने उचित अवसर आएकाले ठोस नीति बनाइ काम गर्ने ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।