विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीले भारतीय अर्थतन्त्रमा पुर्याएको असर सामान्यीकरण हुन एक दशक भन्दा धेरै समय लाग्ने भारतीय केन्द्रीय बैंकले जनाएको छ ।
भारतीय केन्द्रीय बैंक, रिर्जभ बैंक अफ इन्डिया (आरबीआई) ले गरेको आंकलन अनुसार कोभिड अवधिभर भारतलाई भारु ५२ लाख करोड बराबरको घाटा भएको छ । यो घाटाले अर्थतन्त्रमा पारेको असर न्युनिकरण गर्न भारतलाई १२ वर्ष लाग्ने आरबीआईद्धारा प्रकाशित एक रिर्पोटमा उल्लेख गरिएको छ ।
सन् २०२१/२२ को करेन्सी एन्ड फाइनान्स नामक रिर्पोटको “स्कार्स अफ द प्यान्डेमिक” अर्थात “महामारीले निम्त्याएका घाउहरु” भन्ने शीर्षकमा कोभिड–१९ का बारम्बारका लहरहरुले भारतीय अर्थतन्त्रमा पारेको असर र त्रैमासिक कुल ग्राहस्थ उत्पादनमा भएको उतार-चढावका बारेमा विस्तृत रुपमा जानकारी दिइएको छ ।
कोभिडको पहिलो लहरका कारण प्रभावित भएको आर्थिक वर्ष २०२०/२१ को पहिलो त्रैमासले रिकभरीको बाटो तताउँदै गर्दा आव २०२१/२२ को दोस्रो त्रैमासमा आएको डेल्टा भेरियन्टका कारण अर्थतन्त्र संकटमा परेको थियो । उक्त संकटबाट उभ्रिन नपाउँदै सन् २०२२ को जनवरीमा आएको तेस्रो लहरका कारण अर्थतन्त्र पुनः प्रभावित हुन पुग्यो ।
कोभिड–१९ संक्रमणका तीन लहरहरुले अर्थतन्त्रमा परेको असरबाट मुलुक रिकर्भर हुन नपाउँदै फेब्रुअरी २४ मा रुसले युक्रेनमा विशेष सैनिक अप्रेशन सञ्चालन गर्याे । युद्धका कारण आपूर्ति श्रृङखला अवरोध हुँदा विश्वव्यापी रुपमा खाद्यान्न तथा इन्धनको मूल्य वृद्धि भयो र आकाशिएको मुद्रास्फीति थप मौलाउँदै जाँदा त्यसको असर घरेलु उत्पादनमा परेको रिर्पोटले जनाएको छ ।
महामारीको असर क्षणिक भएपनि यसले संरचनात्मक आर्थिक प्रणालीमा पारेको प्रभावले गर्दा मध्यावर्ती कालको लागि गरिएको आर्थिक वृद्धि प्रक्षेपणमा परिवर्तन आउन सक्ने रिपोर्टमा व्यक्त गरिएको छ ।
प्रि-कोभिड समयमा भारतको आर्थिक वृद्धि दर ६.६ प्रतिशत रहेको थियो । सन् २०१२/१३ देखि २०१६/१७ सम्म आर्थिक वृद्धिदर ७.१ प्रतिशत रहेको छ । सन् २०२०/२१ को आर्थिक वृद्धि दर नकारात्मक रहेको छ । यसैकारण सन् २०२१/२२ को आर्थिक वृद्धि दर ८.९ प्रतिशत, आव २०२२/२३को आर्थिक वृद्धि दर ७.२ प्रतिशत र त्यसपछिका वर्षमा ७.५ प्रतिशतका दरले आर्थिक वृद्धि दर प्रक्षेपण गर्दा सन् २०३४/३५ सम्ममा कोभिडले पारेको असर न्युनिकरण गर्ने अपेक्षा गरिएको छ ।
यसैगरी सन् २०२०/२१, २०२१/२२, २०२२/२३को लागि उत्पादन घाटा क्रमश भारु १९.१ लाख करोड, १७.१ लाख करोड र १६.४ लाख करोड प्रक्षेपण गरिएको छ । कोभिड महामारीको समयमा महामारीसँग जुद्न लिइएका ठोस कदमहरुले अर्थतन्त्रको दिगो वृद्धिमा सघाउने रिर्पोटमा उल्लेख गरिएको छ ।
यसैगरी कोभिडको समयमा आएका सकरात्मक व्यवहारिक तथा प्राविधिक परिवर्तनहरुले कोभिड पछिको समयमा अर्थतन्त्रको बलियो, प्रभावकारी, न्यायसंगत, पारदर्शी र स्वच्छ जग बसाउन सहयोग गर्ने रिर्पोटले जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया