अमेरिकाले पनि मूल्यवृद्धि नियन्त्रण गर्न ब्याजदर बढाउँदै, मुद्रास्फीति ४० वर्ष यताकै उच्च

0
Shares

अमेरिकी केन्द्रीय बैंक, फेडरल रिजर्भ (फेड) को मुद्रास्फीति मापन सूचांक ४० वर्ष यताकै उच्च भएको छ । रुस युक्रेन युद्धका कारण इन्धन र खाद्यान्नको मूल्य बढेपछि व्यक्तिगत उपभोग खर्च मूल्य सूचांक ४० वर्षयताकै उच्च भएको हो ।

अमेरिकी वाणिज्य विभागले संकलन गरेको तथ्यांक अनुसार अप्रिल महिनामा मुद्रास्फीति मापन सूचांक, व्यक्तिगत उपभोग खर्च मूल्य सूचांक ६.६ प्रतिशत रहेको छ । यो तथ्यांक सन् १९८२ जनवरी पछिकै उच्च हो । यहि सूचांकको आधारमा फेडरल रिजर्भले मुद्रास्फीति नियन्त्रण गर्न ब्याजदर बढाउन थालेको छ।

यस अघि मुद्रास्फीति नियन्त्रण गर्नको लागि फेडले औसत ब्याज दर वृद्धि गरेको थियो । मुद्रास्फीति मापन सूचांक उच्च भएसँगै फेडरल रिजर्भको यसै हप्ता बस्ने बैठकमा औसत ब्याजदर ०.५ प्रतिशतले बढाउने आकलन विज्ञहरुले गरेका छन् ।

फेब्रुअरी २४ मा रुसले युक्रेनमा विशेष सैनिक अप्रेशन सञ्चालन गरेपछि इन्धन र खाद्यान्नको मूल्य आकाशिएको थियो । मार्च महिनामा इन्धनको मूल्य ३३.९ प्रतिशतले बढेको थियो भने खाद्यान्नको मूल्य ९.२ प्रतिशतले बढेको थियो । इन्धन र खाद्यान्नको मूल्य बढेपछि मार्च महिनामा व्यक्तिगत उपभोग खर्च मूल्य सूचांक ५.२ प्रतिशत पुगेको थियो ।

अप्रिल महिनाको तथ्यांक हेरेर अर्थशास्त्रीहरु मुद्रास्फीति नियन्त्रणमा आउने विषयमा आशावादी रहेका छन् । यसैगरी मार्च महिनामा आकाशिएको इन्धनको मूल्यमा अप्रिल महिनामा गिरावट आएपछि अमेरिकी जनता मूल्यवृद्धि घट्छ भन्नेमा आशावादी रहेका छन् ।

वर्तमान अवस्थामा अमेरिकामा रोजगार दर वृद्धि भएको छ । रोजगारदाताहरु तलब बढाउने लगायतका उपायहरु अपनाइ कामदारहरुलाई काममा बोलाउने काम गरिरहेका छन् । जसकारण अमेरिकी परिवारहरुको आय र खर्च योग्य आयमा पनि वृद्धि भएको छ । आम्दानी बढेसँगै उपभोक्ता खर्च दर पनि १.१ प्रतिशतले वृद्धि भएको छ । आम्दानी र खर्च बढ्दै गर्दा व्यक्तिगत बचतमा कमी आउँदा ६.२ प्रतिशत भएको छ । यो तथ्यांक सन् २०१३ यताकै कम रहेको छ ।

अर्थतन्त्र मजबुत भएको र मुद्रास्फीति उच्च भएका कारण गत महिनामा फेडले औसत ब्याज दर वृद्धि गरेको थियो । मार्च महिनाको तथ्यांक सिजनल तथ्यांक रहेको र फेडले पूर्व निर्धारित दरमा नै ब्याजदर बढाउने विज्ञहरुको अनुमान रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।