धितोपत्र बजारले ‘वियरिस टेण्ड्र’ लिएपछि सेयरको औसत मूल्य गणना अवधि र मार्जिन सीमा घट्यो

0
Shares

धितोपत्र बजारले घट्दो क्रम समाएपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मार्जिन कारोबार सम्बन्धी कार्यविधि २०७५ संशोधन गरेको छ । नेप्सेले लगानीकर्ताको मनोविज्ञान कमजोर हुन नदिन तथा मार्जिन कलको व्यवस्थामा थप लचकता अपनाएको हो ।

नेप्सेले तयार गरेको कार्यविधि संशोधनको मस्यौदा धितोपत्र बोर्डले २०७८ बैशाख १४ गते स्वीकृत गरेपछि लागू भएको छ । संशोधित कार्यविधि अनुसार धितोपत्रको औसत मूल्य गणना अवधि १८० दिनबाट घटाएर १२० दिनमा झरेको छ । त्यसैगरी धितोपत्र दलाल कम्पनीले लगानीकर्तालाई मार्जिन कारोबार सुविधा उपलब्ध गराउँदा प्रारम्भिक मार्जिन सीमा ५० प्रतिशत लिने व्यवस्थालाई घटाएर ३० प्रतिशतमा झारिएको छ ।

नेप्सेको संशोधित कार्याविधि अनुसार धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सम्बन्धित सूचीकृत संगठित संस्थाको सेयरको १२० दिनको औषत मूल्य वा बजार मूल्य मध्ये जुन कम हुन्छ सो को तीस प्रतिशतले हुन आउने रकम ग्राहकसंग प्रारम्भिक मार्जिन को रुपमा लिनुपर्नेछ । तर, धितोपत्र दोस्रो बजारको अवस्था तथा सम्बन्धित धितोपत्रमा हुन सक्ने निहित जोखिमलाई ध्यानमा राखि सदस्य दलाल व्यवसयाीले ३० प्रतिशत भन्दा बढी प्रारम्भिक मार्जिन लगानीकर्तासँग लिन सक्ने व्यवस्था कार्याविधले गरेको हो ।

नेप्सेले मार्जिन कारोबारका लागि सूचीकृत कम्पनीहरुको धितोपत्रमा लगाएको सीमा भने हटाएको छ । नेप्सेले मार्जिन कारोबार सुविधा पाउनका लागि लगानीकर्ताले दोस्रो बजारमा अघिल्लो आर्थिक वर्षभर कम्तिमा ८० प्रतिशत कारोबार दिनमा सेयर कारोबार भएको तथा आर्थिक वर्षको प्रथम ६ महिनाभित्रै वार्षिक साधारण सभा सम्पन्न गरेको कम्पनीको धितोपत्र खरिदका लागि मात्र मार्जिन सुविधा पाउने व्यवस्था थियो ।

त्यसैगरी धितोपत्र दलाल कम्पनीले लगानीकर्ताबाट लिँदै आएको ४० प्रतिशत सम्भार मार्जिन घटाएर २० प्रतिशतमा झारेको छ । सदस्य दलाल व्यवसायीले बजारको अवस्था तथा जोखिम हेरी लगानीकर्ताबाट मार्जिन खातामा प्रत्येक दिन कारोबारको अन्तिम मूल्यको आधारमा २० प्रतिशतमा वास्तविक मार्जिन कायम गर्नुपर्ने व्यवस्था गरेको छ । यसभन्दा अघि यस्तो व्यवस्था ४० प्रतिशत थियो ।

मार्जिन कारोबार सुविधा उपभोग गर्ने लगानीकर्ताको मार्जिन खाताको वास्तविक मार्जिन २० प्रतिशत भन्दा कम भए सदस्य दलाल व्यवसायीले सम्बन्धित लगानीकर्तालाई मार्जिन कल गर्नै व्यवस्था गरेको छ । यसभन्दा अघि यस्तो सीमा ४० प्रतिशत रहेको थियो ।

त्यसैगरी सम्भार मार्जिन भन्दा वास्तविक मार्जिन कम हुन आएमा ७ कार्य दिनको समय दिई वास्तविक मार्जिन सम्भार मार्जिन भन्दा माथि कायम गर्न सदस्य दलाल व्यवसायीले निश्चित प्रतिशत मार्जिन कल गर्न सक्नेछ । सात कार्य दिनमा ब्यवसायीले तोकेको सम्भार मार्जिन कायम गर्न नसकेमा आठाैं कार्य दिनपछि वा खाता बन्द हुनु भन्दा ५ दिन अगावै वास्तविक मार्जिन सम्भार मार्जिन भन्दा माथि कायम गर्नका लागि आवश्यक पर्ने मार्जिन खाता अन्तर्गतका कुनै पनि धितोपत्रहरु बिक्री गर्न सक्नेछ । यस प्रयोजनको लागि ब्यवसायीले तोकेको मार्जिनका कारणले वा सोही अवधिमा बजार घट्न गई वास्तविक मार्जिन १५ प्रतिशत भन्दा कम हुन आएमा सदस्य दलाल ब्यवसायीले सेयर बिक्री गर्न सक्नेछ । यसभन्दा अघि यो व्यवस्था अन्तर्गतको सीमा ३० प्रतिशत थियो ।

मार्जिन खाता अन्तर्गत रहेका धितोपत्रहरुको कारोबार मर्जर, एक्वीजिशन वा अन्य कुनै कारणले बन्द भएको अवस्थामा सो धितोपत्र समावेश भएको समूहगत परिसूचक १५ प्रतिशत भन्दा धेरैले घटेमा सम्बन्धित लगानीकर्तालाई ७ दिनको समय दिई उक्त धितोपत्र बापतको मार्जिन ऋण तथा सोसँग सम्बन्धित अन्य दायित्व चुक्ता गर्न सूचीत गर्न सक्नेछ । यसभन्दा अघि यस्तो समुहगत सूचक ३० प्रतिशत भन्दा धेरैले घटेमा मात्र मार्जिन कायम गर्न सुचिक गर्ने व्यवस्था थियो ।

कार्याविधिको संशोधनले धितोपत्र दलाल कम्पनीका कर्मचारीलाई पनि आफु कार्यरत संस्थाबाट मार्जिन सुविधा दिन नपाउने व्यवस्था गरेको छ । यसभन्दा अघि अनुमतिपत्र प्राप्त सदस्य दलाल व्यवसायीको संस्थापक, सञ्चालक र अधिकारिक प्रतिनिधिले आफ्नो कम्पनीबाट कुनै प्रकारको ऋण वा सापटी लिन नपाउने व्यवस्था थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।