धितोपत्र बोर्डको कार्यशैली अझै पनि उस्तै, पीइभिसीको अनुमतिलाई ‘प्रक्रिया’ का नाममा झुलाइयो


नेपाल धितापत्र बोर्डको नेतृत्व परिवर्तन भए पनि कार्यशैलीमा भने कुनै परिवर्तन आएको छैन । बोर्डका कारण धितोपत्र बजारमा आवश्यक नयाँ तथा फरक प्रकृतिका कोष तथा धितोपत्र औजारहरुलाई अघि बढाउने सम्बन्धमा प्रक्रिया बाँकी रहेको भन्दै बोर्डले झुलाउने गरेको भेटिएको हो ।

बोर्डले पछिल्लो समयमा धितोपत्र बजारका लागि मात्र नभई देश विकासका लागि उद्यमशीता प्रवर्द्धन गर्न प्राइभेट इक्वीटी र भेञ्चर क्यापिटलको सुरुवात गर्ने भन्दै विशिष्टिकृत लगानी कोष नियमावली २०७५ ल्यायो । सो नियमावलीको आधारमा प्राइभेट इक्यूटी (पीइ) र भेञ्चर क्यापिटल (भीसी) को काम सुरु गर्न खोजेको भए पनि धितोपत्र बोर्डले यसको महत्व नबुझ्दा आजसम्म काम सुरु हुन् सकेको छैन ।

भ्रष्टाचारको अरोपमा पदच्यूत भएका निर्वतमान अध्यक्ष भीष्मराज ढुङ्गानाको कार्यकालमा आधा दर्जन कम्पनीलाई सैद्धान्तिक सहमति पत्र दिएको भए पनि बोर्डले हालसम्म त्यसमा कुनै निर्णय गर्न सकेको छैन । त्यसका साथै अन्य इच्छुक कम्पनीहरुको सैद्धान्तिक सहमति तथा अन्तिम स्वीकृती प्रदान गर्ने प्रक्रियामा ढिला सुस्ती भैरहेको भन्दै आवेदक कम्पनीहरुले गुनासो गर्दै आएका छन् ।

सैद्धान्तिक सहमति पाएकाहरुमा धेरैजसो मर्चेन्ट बैंकरहरु रहेको र उनीहरुसँग एक चरणको छलफल गरेको धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बताए ।

“पछिल्लो समय बजेटको तयारी गर्नुपर्ने भएकाले अर्थमन्त्रालयका प्रतिनिधिको ब्यस्तताका कारण धितोपत्र बोर्डको सञ्चालक समिति पनि सुस्त भएको छ,” उनले भने, “पिइभीसीको सन्दर्भमा केही नीतिगत अस्पष्टतालाई स्पष्ट गर्नुपर्ने देखिएको छ ।” मर्चेन्ट बैंकरलाई कस्ले के काम गर्ने र त्यसलाई कसरी द्रुत बनाउने भन्ने विषयमा स्पष्ट हुन आवश्यक रहेको उनले बताए ।

विशिष्टिकृत लगानी कोष सञ्चालन गर्ने विषयलाई आफूले पनि प्राथमिकतामा राखेको हमालको भनाई छ । “पीइभीसीको लगानी अनुत्पादक क्षेत्रमा जाने अवस्था बन्नु भएन” उनले थपे, “ती पक्षका लागि पनि हेर्नुपर्यो भनेर अलिकति विज्ञ व्यक्तिको सहभागिता गराउन खोज्दा केही ढिला भएको हो ।” धितोपत्र बोर्डको सञ्चालक समितिले गर्ने निर्णयमा सबै क्षेत्रको विचार पनि समावेश हुनुपर्ने भएकाले केही समय लागेको उनको भनाइ छ । तर, अध्यक्षले मात्र गर्ने निर्णयमा कुनै पनि सुस्तता नआएको समेत उनको दाबी छ ।

“बोर्डमा लगेर निर्णय गर्नुपर्ने काममा जहिले पनि समय लाग्छ,” उनले भने, “ बोर्डमा सहभागि सबै सदस्यहरुको समय मिल्नु पर्यो, सबै सदस्य सहभागी भएपछि ऐजेण्डामा प्रश्न तथा फरक मत तथा प्रतिक्रियाहरु आउने गर्छन्, त्यसमा स्पष्टता पनि दिनुपर्ने हुन्छ ।” बोर्डमा लगिएका एजेण्डा जस्ताको त्यस्तै स्विकृत हुन्छ भन्दा पनि केही परिवर्तन गर्नुपर्ने अवस्था आउने भएकाले पनि ढिलासुस्ती हुने गरेको उनको भनाइ छ । “बोर्ड भनेकै चेक एण्ड ब्यालेन्स सिस्टम हो,” उनले भने, “पीइभीसीको लागि अब धेरै समय लाग्दैन । स्थानिय तहको निर्वाचन पछि यसको प्रक्रिया अघि बढ्छ ।”

पीइभीसीको सन्दर्भमा अन्य कुनै समस्या नभएको बताउँदै उनले भने, “आगामी एक महिनामा पीइभीसीलाई अनुमति दिने गरी काम अघि बढाउँछु ।” आफुले चाहेर मात्रै भन्दा पनि बोर्ड सञचालक समितिले कसरी साथ दिन्छ र त्यसलाई प्रश्न गर्छ भन्ने कुराले पनि धेरै कामहरु निर्धारण हुने उनले बताए । अहिले बोर्डले पीइभीसीका लागि आवश्यक अध्ययन अध्ययन अनुसन्धान गरिरहेको उनको भनाइ छ । पुर्वाधार खडा गरेर कर्मचारी भर्ना गरेर खर्च व्यहोरी रहेका कम्पनीको सन्दर्भमा टुङ्गो लगाइदिनुपर्छ भनेर बोर्डमा भन्ने गरेको समेत उनले बताए ।

यता पीइभीसीमा काम गर्न चाहने संस्थाहरु भने बोर्डले यसको महत्वलाई गम्भिरताका साथ नलिएको आरोप लगाउँछन् । बोर्डमा ८ संस्थाले आवेदन दिएको ६ वटाले सैद्दान्तिक स्वीकृति पाए पनि त्यस पछिको प्रकृया अघि नबढेपछि अरु धेरै संस्थाहरु पर्ख र हेरको अवस्थामा रहेको आवेदनको तयारीमा रहेको एक संस्थाका प्रतिनिधि बताउँछन् । “ पाइपलाइनमा रहेका संस्था नै अलपत्र छन्, यस्तो माहोलमा सोचे अनुसार काम गर्ने वातावरण बन्छ भन्ने आश नै मरिसक्यो ।”

के हो पीइभीसी ?

प्राईभेट इक्वीटी, भेन्चर क्यापिटल फण्डको छोटो रुप पीइभीसी हो । भेन्चर क्यापिटलले नयाँ र साना सुरुवाति कम्पनीहरुमा संयुक्त पूँजी लगानी गर्छ । यसको विशिष्टता भने सुरुवाती स–साना कम्पनीहरुमा इक्वीटी र ऋणको लगानी गर्नु हो । आज लगानी गर्ने, व्यवस्थापन सम्हाल्ने, आम्दानी र मुनाफा बढाउने, अनि कम्पनी नै बिक्री गरेर मुनाफा कमाउने काम भेन्चर क्यापिटलले गर्छ ।

त्यसैगरी प्राइभेट इक्वीटीले पब्लिकमा रहेको कम्पनीको पूरै इक्विटी खरिद गरेर प्राइभेटमा परिणत गर्छ । यसले विविध क्षेत्रमा लगानी गर्छ तर प्राथमिक रुपमा भने पब्लिक वा निजी कम्पनीहरुको सम्पूर्ण वा बहुमत सेयर किनेर प्राइभेट बनाउने काम गर्छ । भर्खरै स्थापना भएका कम्पनीहरु जसको भोलि ठूलो व्यवसाय हुने सम्भावना र सञ्चालनमा रहेका तर व्यवस्थापनको समस्या कारण प्रतिफल दिन नसकिरहेको कम्पनीहरुमा यसले लगानी गर्छ ।

समस्याग्रस्त कम्पनी सस्तोमा खरिद गर्ने, व्यवस्थापनमा सुधार गर्ने र आम्दानी/मुनाफा बढाएर बिक्री गर्ने काम पनि प्राइभेट इक्वीटीले गर्छ । प्राइभेट इक्वीटीले एकै पटकमा एक वा धेरै कोष व्यवस्थापन गर्न सक्छ । प्राइभेट इक्वीटीको लगानी लामो समयको लागि हुन्छ ।

पीइभीसीको महत्व

वैकल्पिक लगानी कोषको महत्वलाई पनि बुझ्न जरुरी हुन्छ । उद्योग धन्दाको विकास र विस्तार गर्ने पर्याप्त सम्भावना हुँदाहुँदै पनि फस्टाउन नसक्ने हुन्छ । प्राईभेट इक्वीटी तथा भेन्चर क्यापिटल फण्डहरुले विशेष गरी यस्ता क्षेत्रको विस्तृत अध्ययन, जोखिम मुल्याङ्कन तथा व्यवसायको भविष्यका सम्बन्धमा उचित विश्लेषण गरी लगानी गर्ने हुँदा औधोगिकरणमा नवप्रवर्तन बढाउनका लागि महत्वपूर्ण योगदान गर्छन् ।

त्यसैगरी साना तथा मझौला उद्योग तथा व्यवसायको प्रवर्द्धनमा समेत पीइभीसीको योगदान महत्वपूर्ण हुन्छ । साना तथा मझौला उद्योग तथा व्यवसायको प्रवर्द्धनका लागि कर्जा लगानी गर्ने मात्र नभई पूँजी लगानी गरी व्यवसाय सञ्चालन तथा विस्तारमा प्राविधिक सहयोग गर्नुपर्ने हुन्छ । प्राईभेट इक्वीटी तथा भेन्चर क्यापिटल फण्डहरुले यस्ता उद्योगहरुमा आवश्यकता बमोजिम पूँजी लगानी गर्ने, यिनीहरुको विस्तारको सम्भावना हेरी आवश्यकता अनुसार प्राविधिक रुपले सहयोग गर्ने, सञ्चालन तथा वित्तीय सुशासन सुनिश्चित गर्ने लगायतका काम गर्छन् ।

ठू-ठूला उत्पादन मुलक उद्योगहरुमा पूँजी लगानी गरी सुशासन कायम गर्ने तथा धितोपत्र बजारमा सूचीकरण गराउनमा समेत पीइभीसीको महत्वपुर्ण योगदान हुन्छ । प्राईभेट इक्वीटी फण्डहरुले ठूला ठूला उद्योगहरुमा आवश्यक इक्वीटी लगानी गर्ने गर्दछन् । प्राईभेट इक्वीटी फण्डहरुले यसरी इक्वीटी लगानी गरिसके पछि यस्ता उद्योगहरुमा वित्तीय तथा सञ्चालन सुशासन कायम गराउँछन् । साथै कोषले निश्चित समयपछि लगानी झिक्नुपर्ने हुँदा धितोपत्रबजारमा सूचीकरण गराउन प्रेरित गर्दछन् । त्यसैले प्राईभेट इक्वीटी तथा भेन्चर क्यापिटल फण्डहरुले देशको आर्थिक विकासमा ठूलो भमिका खेल्न सक्दछन् ।

विशेष गरी व्यवसायीक घरानाहरुको कब्जामा रहेका उद्योग व्यवसायमा समेत लगानी गरी सूचीकरण मार्फत सर्वसाधारणसम्म पुर्‍याउने काम समेत पीइभीसीले गर्दछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।