उपभोक्ता मुल्य वृद्धि बजेटको लक्ष्य भन्दा माथि


चालु आर्थिक वर्षको चैत महिनाको मुल्य वृद्धि सरकारले तोकेको सीमा भन्दा माथी पुगेको छ । सरकारले चालु आर्थिक वर्षको मूल्य वृद्धि ६.५ प्रतिशतको सीमा भित्र राख्ने लक्ष्य राखेको भएपनि चैत महिनाको मूद्रास्फीति ७.२८ प्रतिशत पुगेको हो ।

२०७८ चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२८ प्रतिशत रहेको छ । गत आवको सोही महिनामा यस्तो मुद्रास्फीति ३.१० प्रतिशत रहेको थियो ।

चालु आवको चैतसम्ममा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ७.१८ प्रतिशत रहेको छ । चालु आवको चैतसम्मको औसत मुद्रास्फीति ५.६२ प्रतिशत रहेको छ ।

२०७७ चैत महिनाको तुलनामा २०७८ चैत महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, दुग्ध पदार्थ तथा अण्डा, दाल तथा गेडागुडी र सुर्तीजन्य पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः २८.३६ प्रतिशत, ११.५६ प्रतिशत, १०.५३ प्रतिशत र ८.९१ प्रतिशत रहेको छ । साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, शिक्षा र विविध वस्तु तथा सेवा उपसमूहको मुद्रास्फीति क्रमशः २०.१६ प्रतिशत, ८.७९ प्रतिशत र ८.१७ प्रतिशत रहेको छ ।

चालु आवको चैत महिनामा काठमाडौं उपत्यकामा ६.२५ प्रतिशत, तराईमा ७.६१ प्रतिशत, पहाडमा ७.७९ प्रतिशत र हिमालमा ८.२५ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७७ चैतमा यी क्षेत्रहरुमा क्रमशः ३.२४ प्रतिशत, २.९२ प्रतिशत, ३.३८ प्रतिशत र १.५४ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

२०७८ चैत महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १४.४२ प्रतिशत रहेको छ । गत आवको सोही महिनामा यस्तो मुद्रास्फीति ६.१४ प्रतिशत रहेको थियो । चालु आवको नौ महिनामा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः १७.०७ प्रतिशत, १४.१३ प्रतिशत र ७.२२ प्रतिशत रहेको छ ।

चालु आवको चैतसम्ममा निर्माण सामग्रीको थोक मूल्यवृद्धि २५.२२ प्रतिशत रहेको छ । २०७८ चैत महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ८.५२ प्रतिशतले बढेको छ । गत आवको सोही महिनामा उक्त सूचकाङ्क १.८९ प्रतिशतले बढेको थियो ।

चालु आवको नौ महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः ९.४४ प्रतिशत र ८.२७ प्रतिशतले बढेको छ । २०७८ चैत महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति नेपालमा ७.२८ प्रतिशत र सन् २०२२ मार्चमा भारतमा ६.९५ प्रतिशत रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।