इन्धनको मूल्य थप बढ्नसक्ने, अहिलेको मूल्यमा निगमलाई असारसम्म ६० अर्ब नोक्सानी

0
Shares

रुस युक्रेन द्धन्द्धपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य आकासिएपछि त्यसको प्रत्यक्ष असर विश्वका कयौं देशमा परिरहेको छ । नेपाल पनि त्यसबाट अछुतो रहने कुरै भएन ।

विश्व बजारमा बढेको मूल्यले नेपालमा इन्धन आपूर्ति र बिक्री गर्दै आएको नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेशन (आइओसी) लाई भुक्तानी गर्नुपर्ने रकम बढ्दो छ ।

आइओसीले बुधबार पठाएको नयाँ मूल्यका आधारमा निगमलाई पाक्षिक रुपमा ३ अर्ब ७ करोड ५० लाख रुपैयाँ नोक्सानी पुगेको छ । नयाँ मूल्यका आधारमा पाक्षिक रुपमा निगमलाई पेट्रोलमा ६७ करोड, डिजेलमा १ अर्ब ३० करोड र एलपी ग्याँसमा १ अर्ब ४३ करोड रुपैयाँ घाटा नै रहेको निगमले जनाएको छ ।

नयाँ मूल्यसूची अनुसार मासिक ६ अर्ब १५ करोड नोक्सानी हुने भएपछि हाल ( वैशाख मसान्तसम्ममा) करिब ४७ अर्ब नोक्सानी भइसकेको निगमलाई यो आर्थिक बर्षको असार मसान्तसम्ममा झण्डै ६० अर्ब नोक्सान हुने स्थिति देखिएको निगमले जनाएको छ ।

आईपीओसीलाई जेठ २५ गतेभित्र ३२ अर्ब भुक्तानी गर्नुपर्ने, २२ अर्ब अपुग

नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेशन लिमिटेडलाई पेट्रोलियम पदार्थ खरिद वापतको रकम जुन महिनाको ८ तारिखमा ३२ अर्ब भुक्तानी गर्नु पर्नेछ । जुन महिनाको लागि पहिलो किस्ता वापत १६ अर्ब रुपैयाँ र बाँकी बक्यौता बापतको अर्को १६ अर्ब गरी जम्मा ३२ अर्ब आगामी जुन ८ तारिख अर्थात जेठ २५ गतेभित्र भुक्तानी गर्नु पर्नेछ ।

तर यस अवधिमा इन्धन बिक्री वापत संकलन हुने रकमबाट करिब १० अर्ब मात्र भुक्तानी दिन सक्ने स्थिति देखिएको निगम बताउँछ । यस आधारमा निगमलाई यो किस्ता भुक्तानीका लागि नै २२ अर्ब रुपैयाँ अपुग हुने देखिन्छ ।

नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेशन लिमिटेडलाई मे महिनामा पेट्रोलियम पदार्थ खरिद वापतको रकम ४३ अर्ब भुक्तानी गर्नुपर्नेमा सम्झौता मुताविक भुक्तानी गर्न नसकी २३ मे, २०२२ अर्थात जेठ ९ गतेसम्म २२ अर्ब ४० करोड बक्यौता कायम हुन पुगेको थियो । पछिल्लो समय केही थप भुक्तानी दिएपछि अझै आईओसीलाई निगमले १६ अर्ब बक्यौता (भुक्तानी दिन बाँकी रकम) कायम नै रहेको छ । भुक्तानी गनुपर्ने नियमित १६ अर्ब र बक्यौता १६ अर्ब गरी ३२ अर्ब रुपैयाँ आईओसीलाई भुक्तानी गर्न बाँकी रहेको हो ।

भाउ थप बढ्नसक्ने, सहज आपूर्तिका लागि लागत सरह भाउ कायम गर्नुपर्ने

अन्तर्राष्ट्रिय बढ्दो मूल्य र अहिलेकै बिन्दूमा पनि भाउ स्थिर रहने हो भने पनि पेट्रोलियम पदार्थको आपूर्ति तथा विक्री वितरण सहज बनाइ राख्नका लागि नेपाल आयल निगमलाई इन्धनको मूल्य वृद्धि गर्नुको विकल्प छैन ।

बुधबार इन्डियन आयल कर्पोरेशन (आइओसी) ले पठाएको नयाँ मूल्यका आधारमा निगमलाई मासिक ६ अर्ब ३० करोड रुपैयाँ घाटा हुने अनुमान नेपाल आयल निगमको छ ।

निगमका सह प्रवक्ता भन्छन्, “अन्तर्राष्ट्रिय मूल्य नघट्ने र यहि बिन्दूमा स्थिर रहने हो भने पेट्रोलियम पदार्थको आपूर्ति तथा विक्री वितरण सहज बनाइ राख्नका लागि पेट्रोल, डिजेल र एल.पी. ग्यासको खुद्रा विकी मूल्य लागत सरह नै हुने गरी कायम गर्नुपर्ने स्थिति रहेको छ ।”

आइओसी पठाएको नयाँ मूल्यमा पेट्रोल र मट्टीतेलको भाउ बढेर आएको छ भने डिजल, ग्याँस र हवाई इन्धनको मूल्य घटेर आएको देखाएको छ । आइओसीले जेड १८ गते पठाएको नयाँ मूल्य अनुसार अघिल्लो साता (जेठ ८ गते) भन्दा पेट्रोल लिटरमा ८.२९ रुपैयाँ, मट्टीतेलमा ७.०३ रुपैयाँले बढेको हो । उता डिजल लिटरमा ७.०९ रुपैयाँ, हवाई इन्धन (आन्तरिक) ३.३८ रुपैयाँ, हवाई इन्धन (बाह्य) प्रतिकिलोलिटर ३.३६ रुपैयाँ, र एलपी ग्याँसमा प्रतिसिलिण्डर १२८.६० रुपैयाँ मूल्य घटेको हो ।

नेपाल आयल निगमको घाटा थप बढेको भन्दै फेरि मूल्य बढाउनुपर्ने जनाएको छ । नेपाल आयल निगमका अनुसार जेठ १८ गते आईओसीले पठाएको नयाँ मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर २२.९३ रुपैयाँ, डिजेलमा १९.७३ रुपैयाँ र ग्याँसमा प्रति सिलिण्डर ७५१.१४ रुपैयाँ घाटा रहेको छ । मट्टीतेल र हवाई इन्धनमा भने निगमलाई नाफा छ । मट्टीतेलमा १५.०८ रुपैयाँ, हवाई इन्धन (आन्तरिक) मा १७.३६ र हवाई इन्धन (बाह्य) मा ६४.५७ रुपैयाँ नाफा रहेको निगमले जनाएको छ ।

अहिले पेट्रोल प्रतिलिटर १८० रुपैयाँ, डिजेल र मट्टीतेल १६३ रुपैयाँ, हवाई इन्धन (आन्तरिक) १६६ रुपैयाँ, र हवाई इन्धन (बाह्य) प्रतिकिलोलिटर १.५४५ अमेरिकी डलरमा र ग्याँस प्रतिसिलिन्डर १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।