कोभिड–१९ महामारीले शिथिल पारेको अर्थतन्त्र पूर्ण रुपमा रिकभर हुन नपाउँदै रुस–युक्रेनबीच युद्ध सुरु हुँदा विश्व अर्थतन्त्र पुनः समस्यामा परेको छ ।
कोभिडको समयमा गरिएको लकडाउनका कारण उत्पादनमा कमी आएको थियो भने आपूर्ति श्रृङ्खला अवरोध भएको थियो । उच्च माग, उत्पादनमा आएको कमी र आपूर्तिमा समस्या आउँदा मुद्रास्फीति उच्च भएको छ ।
चार दशक यताकै उच्च मुद्रास्फीति नियन्त्रण गर्न विकसित देशका केन्द्रीय बैंकहरुले आक्रामक रुपमा औसत ब्याजदर बढाउन सुरु गरेका छन् । ब्याजदर बढाएसँगै आर्थिक गतिविधि कमी हुने र त्यसले आर्थिक मन्दी निम्त्याउने सम्भावना रहेको विज्ञहरुको भनाइ रहेको छ ।
यसै सन्दर्भमा अबको पुस्ताले आर्थिक मन्दीको अर्थ के बुझ्लान् ?–अर्थतन्त्रमा मच्चिएको कोलाहल बुझ्लान् या आर्थिक अनुशासन कायम गर्न आवश्यक एक आर्थिक चर्क बुझ्लान् ?
उनीहरुको बुझाइ खास दुई आर्थिक मन्दीमा निर्भर हुनेछ–पहिलो, सन् २००७–२००९ सम्ममा आएको आर्थिक मन्दी र सन् २०२२ मा आउने भनिएको सम्भावित आर्थिक मन्दी ।
सन् १९३० को दी ग्रेट डिप्रेसन पछि सन् २००७ को डिसेम्बर महिनाबाट सुरु भई सन् २००९ सम्म कायम रहेको आर्थिक मन्दीले लाखौँ अमेरिकी नागरिकहरुको जीवन विस्थापित गरेको थियो । मानिसहरु रोजगारका अवसरको खोजीमा भौतारिरहेका थिए । सो अवस्थाबाट पूर्ण रुपमा रिकर्भर हुन अमेरिकालाई करिब एक दशक लाग्यो ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ले अर्थतन्त्रमा पुराएको प्रभावलाई नहेर्ने हो भने अधिकतम अमेरिकी समुदायले भोगेको आर्थिक मन्दी नै सन् २००८ को आर्थिक मन्दी थियो ।
सन् २०१९को डिसेम्बर महिनाबाट विश्वव्यापी रुपमा फैलिएको महामारीका कारण विश्व अर्थतन्त्र शिथिल बन्न पुगेको थियो । मूल्यवृद्धि अमेरिकाकै सन्दर्भमा ४० वर्ष यताकै उच्च विन्दुमा पुगेको छ । मूल्यवृद्धि दरलाई दुई प्रतिशत कायम गर्ने गरी अमेरिकी केन्द्रीय बैंक, फेडरल रिजर्भले औसत ब्याजदर बढाउन सुरु गरेको छ । औसत ब्याजदर बढाउने र आर्थिक क्रियाकलापलाई नै सुस्त गति दिने ध्येयले फेडरल रिजर्भले औसत ब्याजदर बढाइरहेको छ । यसै कारण लगानीकर्ताहरुको मनसाय कमजोर भइरहेको छ । औसत ब्याजदर बढिरहनु, मुद्रास्फीति दर नियन्त्रण नहुनु र सम्भावित आर्थिक मन्दीका कारण लगानीकर्ताहरु अत्तालिएका छन् ।
तर विशेषज्ञहरु भन्छन्,“आर्थिक मन्दी अर्थतन्त्रको एक चक्र हो । मानिसहरु जसरी आत्तिरहेका छन्, त्यसरी आत्तिनु पर्ने अवस्था छैन । कोभिड–१९ले अर्थतन्त्रमा पारेको असर, औसत ब्याजदर वृद्धि, रुस–युक्रेन युद्धले पारेको असरका कारण सबै एकैठाउँमा मिसिएको जस्तो भएको छ ।” तर आर्थिक मन्दीको सम्भावना उच्च रहेको हावर्ड विश्वविद्यालयका अर्थशास्त्रीहरुको भनाई छ ।
हावर्डका अर्थशास्त्री जेसन फरम्यान भन्छन्,“आर्थिक मन्दी हुने सम्भावना धेरै छ तर अहिलेको आर्थिक मन्दी सन् २००८को जस्तो अर्थतन्त्र नै कोल्याप्स पार्ने हुँदैन ।” यसैगरी एम्बरवेयर पार्टनरका सहस्थापक स्टेफन मिरानले पनि आर्थिक मन्दी अर्थतन्त्रको अपरिहार्य चक्र रहेको बताएका छन् । उनी थप्छन्, “ हामीले लामो समयसम्म आर्थिक मन्दीको सामना गर्नु परेन, त्यो हाम्रो लागि राम्रो हो तर अर्थतन्त्रको इतिहास पल्टाएर हेर्ने हो भने पनि आर्थिक मन्दी हुनु अर्थतन्त्रको अपरिहार्य चक्र हो ।” अब हुने आर्थिक मन्दी सन् २००८को जस्तो नहुने र एकदम सामान्य आर्थिक मन्दी हुने मिरानको भनाइ छ ।
आर्थिक मन्दीसँग जुझ्ने बेलामा हामीले याद गर्नुपर्ने हुन्छ कि, आर्थिक मन्दी समान प्रकृतिका हुँदैनन् । सबैको आफ्नै आफ्नै विशेषता हुन्छ । विशेषतः आर्थिक मन्दीले मानिसहरुको जीवनमा आर्थिक समस्या उत्पन्न गर्छ । मानिसहरु रोजगार गुमाउँदै जान्छन् । उनीहरुको आयमा कमी हुँदै जान्छ र अन्ततः जीवनस्तर नै सुदृढ हुन सक्दैन । केही आर्थिक मन्दीहरु यो भन्दा भिन्न प्रकारका हुने गर्छन् । सेयर बजारमा आएको उतारचढाव र उच्च सम्भावनामा रहेको आर्थिक मन्दीका कारण अमेरिकी आर्थिक वृद्धि दरमा केही त्रैमास सम्म कमी आउने उनको भनाइ रहेको छ ।
यसै सन्दर्भमा साउन्ड भिउ वेल्थ एडभाइजर्सका वरिष्ठ लगानीकर्ता केली बौचिलोनले आफूहरु उदास र विनासकारी सोच लिएर बस्नु भन्दा आशावादी भएर बसेको बताएका छन् । अमेरिकाको कर्पोरेट ब्यालेन्स सीटमा यस अघि कहिल्यै पनि बढी नगद भएको थिएन । बैंकको सर्वेक्षणले पनि उपभोक्ता ऋणको भारमा नपरेको देखाउँछ र मानिसहरूको वचत खातामा नगद धेरै छ । यसले उपभोक्ता खर्चमा धेरै कमी आउने देखिँदैन । तसर्थ अब हुने आर्थिक मन्दी विगतका वषर््ाहरु जस्तो रहँदैन । अरु क्षेत्रमा निरास हुनुपर्ने अवस्था नआए पनि सेयरबजारमा आएको कमीले गर्दा मानिसहरुमा निरासा छाएको बताएका छन् ।
मिरानले अमेरिकाले दोस्रो विश्व युद्धपछि दुई प्रकारको आर्थिक मन्दीको अनुभव गरेको बताएका छन् । ती हुन्– गार्डेन भेराइटी आर्थिक मन्दी र ब्यालेन्स–सीट आर्थिक मन्दी ।
गार्डेन भेराइटी आर्थिक मन्दी: आर्थिक क्रियाकलाप अस्वभाविक रुपमा बढेपछि माग बढ्दै जान्छ । माग र आपूर्तिबीच सन्तुलन नमिल्दा मुद्रास्फीति हुन्छ । मुद्रास्फीति नियन्त्रण गर्न र मागलाई कम गर्न केन्द्रीय बैंकले औसत ब्याज दर बढाउँछ । फेडरल रिजर्भले अर्थतन्त्रलाई सुस्त पारी मुद्रास्फीति नियन्त्रण गर्दा उत्पन्न आर्थिक मन्दीलाई गार्डेन भेराइटी आर्थिक मन्दी भनिन्छ । दोस्रो विश्वयुद्ध पछि अमेरिकाले अनुभव गर्दै आएका आर्थिक मन्दीहरु गार्डेन भेराइटी आर्थिक मन्दी रहेको मिरानको भनाइ छ ।
ब्यालेन्स–सीट आर्थिक मन्दी: मानिसहरुले बैंकबाट ऋण लिई अनुउत्पादक क्षेत्रमा लगानी गर्ने र त्यसकारण निजी क्षेत्रको ऋण व्याप्त भई मानिसहरुले ऋण तिर्ने र भएको रकम बचत गर्न तर्फ लाग्दा व्यक्तिगत खर्चमा कम हुन गई आर्थिक वृद्धि सुस्त हुने प्रक्रियालाई ब्यालेन्स–सीट आर्थिक मन्दी भनिन्छ । यो समयमा अर्थतन्त्र सुस्ताउनुका साथसाथै बेरोजगारी दर व्यापक रुपमा बढ्छ । यस किसिमको आर्थिक मन्दीमा सिर्जना भएको बेरोजगारी दरलाई निर्मूलीकरण गर्न ३२ महिना लाग्ने मिरानले बताएका छन् । यद्यपि गार्डेन भेराइटी आर्थिक मन्दीले सिर्जना गरेको बेरोजगारी दर निर्मूलीकरण गरी आर्थिक मन्दी अघिको समयमा पुग्न १० महिना लाग्ने उनी बताउँछन् । सन् २००८को आर्थिक मन्दी ब्यालेन्स सीट आर्थिक मन्दी रहेको समेत उनको भनाइ रहेको छ ।
अहिलेको आर्थिक मन्दी पनि गार्डेन भेराइटी आर्थिक मन्दी रहने उनको ठम्याई रहेको छ । यसैगरी केली बौचिलोनले पनि अहिलेको आर्थिक मन्दी सन् २००८को जस्तो नहुने र आर्थिक मन्दी हुन्छ हुँदैन भन्ने पनि निश्चित नभएको बताएका छन् । सन् २००८मा मानिसहरुले अस्वभाविक रुपमा तिर्न नसक्ने गरी ऋण लिएका थिए । यसै सन्दर्भमा ऋण चुलिँदै जाँदा सन् २००८मा आर्थिक मन्दी आएको थियो ।
तर अहिले अवस्था भिन्न छ । मानिसहरुले अस्वभाविक रुपमा ऋण लिन नसकुन भनेर नीति निर्माण गरिएको छ । सन् २०१०मा डोड–फ्रान्क वाल स्ट्रीट रिफर्म एन्ड कन्जुमर प्रोटेक्सन नीति ल्याइ, उपभोक्ता वित्तीय सुरक्षा ब्यूरोको स्थापना गरिएको थियो । तसर्थ पनि अहिले हुने आर्थिक मन्दी सन् २००८को जस्तो नहुने तर सुस्त अर्थतन्त्र र मुद्रास्फीति दर वृद्धि भइरहँदा अमेरिकी अर्थतन्त्र समस्यामा आउने बौचिलोनले अर्थाएका छन् ।
विज्ञहरुले अब हुने आर्थिक मन्दी सन् २००८को जस्तो नहुने बताएता पनि लागनीकर्ता र उपभोक्ता भने सजग रहनु आवश्यक छ । अमेरिकी नागरिकहरुको वचत दरमा गिरावट आइरहेको छ । अप्रिल महिनाको तथ्यांक अनुसार प्रति महिनाको बचत दर ११.८ प्रतिशतबाट ४.४ प्रतिशतमा कायम भएको छ । इन्धन र खाद्य पदार्थको मूल्य दिनानुदिन बढेको छ । बढ्दो महंगीलाई नियन्त्रण गर्न फेडरल रिजर्भले ब्याज दर आक्रामक रुपमा बढाउने संकेत गरेको छ । यस अवस्थामा मानिसहरुले वचत गर्नुपर्ने बौचिलोनको भनाइ छ । उनी भन्छन्,“ यस अघि फेडले बढाएको औसत ब्याज दरले आर्थिक मन्दी निम्त्याएको नै छ । अहिले पनि त्यहि हुने सम्भावना छ ।”
उत्तरदायी फेडरल बजेट समितिका नीति निर्देशक मार्क गोल्डवीन भन्छन्, “ फेडरल रिजर्भले वृद्धि गरेको औसत ब्याजदरले आर्थिक मन्दी ननिम्त्याए पनि मुद्रास्फीति नियन्त्रण गर्न नसक्दा, त्यसको परिणाम दुखदायी हुनेछ ।” उनी थप्छन्, “सत्यता नै यहि हो कि मुद्रास्फीतिले मानिसको जीवनस्तर थप कष्टकर बन्दै जान्छ । सधैंभरी अर्थतन्त्रलाई खुम्च्याउन सम्भव छैन । त्यसैले जनजीवन थप कष्टकर हुन नदिन फेडरल रिजर्भले यो काम अघि सार्नु नै पर्छ । एउटा घाउबाट अरु ठाउँमा संक्रमण फैलाउनु भन्दा घाउको उपचार गर्नु नै बेस हुन्छ ।” -एजेन्सीको सहयोगमा
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया