अमेरिकामा मुद्रास्फीति दर ४० वर्ष यताकै उच्च भएपछि मूल्यवृद्धि नियन्त्रण गर्नको लागि अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले आक्रामक रुपमा औसत ब्याजदर बढाएको छ । फेडले औसत ब्याजदर बढाउँदा पनि मूल्यवृद्धि नियन्त्रणमा नआएपछि उद्योगपति तथा स्टार्टअप कम्पनी लगायत जनमानसले फेडको विश्वसनीयतामा नै प्रश्न उठाएका छन् ।
अमेजनका संस्थापक जेफ बेजोस र टेस्ला तथा स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृत एलन मक्सले मुल्यवृद्धि नियन्त्रणमा नआउनु र उघ्र रुपले बढ्दै जानुमा अमेरिकी सरकार र फेडरल रिजर्भ दोषी भएको ठहर गरेका छन् । मक्स भन्छन्, “मुद्रास्फीतिको कारण थाहा पाउनु जटिल छैन । सरकारले अत्यावश्यक रुपमा बजारमा डलर पठाउनु नै मुद्रास्फीतिको कारक तत्व हो ।”
मक्स लगायतका अन्य व्यक्तिहरुले पनि मुद्राीफीति दर वृद्धि हुनुको कारण माग बढि र आपूर्ति कम बताएका छन् । कोभिड–१९ महामारीका कारण उत्पादनमा कमी कायम नै रहेको बेला रुस–युक्रेन युद्ध लम्बिँदै जानुले आपूर्ति श्रृङ्खलामा थप अवरोध पैदा गरेको छ । रुस–युक्रेनबीचको युद्धले इन्धन तथा खाद्यान्नको अभाव सिर्जना गरेपछि आपूर्तिमा समस्या आएको छ । वर्तमान अवस्थामा थोरै उत्पादन सामग्री र माग धेरै हुँदा मूल्यवृद्धि नियन्त्रणमा आउन समय लागेको उनीहरुको बुझाई रहेको छ ।
यसैगरी कोभिड–१९ महामारीका कारण शिथील भएको अर्थतन्त्र फेडरल रिजर्भले क्वान्टीटेटिभ इजिङबाट आवश्यक भन्दा धेरै रकम बैंकिङ्ग प्रणालीमा पठाएपछि अपेक्षा गरिएको समय भन्दा पहिले नै रिकर्भर भएको छ । सरकारको यो कदमले अत्यावश्यक रुपमापूर्ति हुन नसक्ने गरी माग बढाएको छ ।
कोभिडको समयमा अधिकांश अमेरिकी नागरिकले रोजगारी गुमाएका थिए । त्यले अर्थतन्त्र शिथील भएको थियो । नागरिकहरुका आवश्यकता परिपूर्ति गर्न तथा स्वरोजगारका अवसर सिर्जना गर्न फेडरल रिजर्भले ५ ट्रिलियन भन्दा धेरै रकम धितो तथा सरकारी ऋणको नाममा उपलब्ध गराएको थियो । यसै सम्बन्धमा अन्तर्राष्ट्रिय समाचार पत्रिका वासिङ्टन पोस्टले गरेको विश्लेषण अनुसार बैंकिङ्ग प्रणालीमा उपलब्ध गराइएको रकमले मुद्रास्फीति सिर्जना नगरेको पुष्टि भएको छ ।
वासिङ्टन पोस्टले पूर्व वाणिज्य विभागका वरिष्ठ कर्मचारीसँग गरेको कुराकानीमा सरकारले जनतालाई कोभिड–१९ महामारीबाट सिर्जना भएका आर्थिक समस्या समाधान गर्न राहत स्वरुप उपलब्ध गराएको रकम अमेरिकी नागरिकहरुले बैंकमै बचत गरेको जानकारी गराइएको छ । उनी भन्छन्, “सरकारले जनतालाई राहत दिएतको भएपनि त्यो रकम खर्च भएको थिएन । सरकारी रकम परिचालन भएको थिएन । यसरी सरकारी रकम परिचालन नभएको ६५ वर्ष यताकै पहिलो पटक हो ।”
यसैगरी उनी भन्छन्, “मुद्रास्फीति हुनुको प्रमुख कारण अत्यधिक माग र न्यून आपूर्ति रहेको छ । कोभिड–१९ को समयमा उत्पन्न माग र आपूर्ति बीचको दूरी पूर्ण रुपले मेटिन नपाउँदै, रुस–युक्रेन युद्धका कारण सयौँ उद्योगहरु बन्द भएका कारण उत्पादनमा आएको कमी र रुस–युक्रेनबाट निर्यात हुने सामग्रीको आपूर्ति श्रृङ्खला अवरोधले मूल्यवृद्धि निम्त्याएको हो, न कि फेडरल रिजर्भले दिएको राहतले” मूल्यवृद्धिको सम्बन्धमा फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलको पनि यहि किसिमको विचार रहेको छ । उनी भन्छन्, “रेर्फिजेरेटर भरिने गरी राखेको खानाले मान्छेलाई कहिल्यै मोटो गराउँदैन, तर मान्छेले अनावश्यक रुपमा खायो भने मोटो हुन्छ । त्यसैगरी केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थामा पठाएको रकमले मुद्रास्फीति पैदा गर्दैन । मुद्रास्फीतिको कारक तत्व भनेकै माग र आपूर्तिबीचको तालमेल नमिल्नु हो ।”
यसैगरी सुदृढ आर्थिक वृद्धि दर र बढ्दै गएको रोजगारी दरलाई ध्यानमा नराखी फेडलाई दोष दिनु नमिल्ने राष्ट्रपति जो बाइडेनले बताएका छन् । मुद्रा प्रदायको इतिहास हेर्ने हो भनेपनि मक्स र बेजोसले सरकारलाई लगाएको आरोप अर्थहीन ठहर हुन जान्छ । सन् २०२० मा विस्तृत मुद्रा प्रदाय (एम२) ५० प्रतिशतले वृद्धि हुँदा, उपभोक्ता मूल्य सूचांक (सीपीआई) १५ प्रतिशत भन्दा कम रहेको तथ्यांकले जनाएको छ । यसैगरी सन् २०१०–२०२० सम्ममा एम २ दुई गुणाले वृद्धि हुँदा सीपीआई १९ प्रतिशतले मात्रै बढेको छ । यसैगरी सन् २०२० सम्म वार्षिक मुद्रास्फीति दर २ प्रतिशत भन्दा कम रहेको थियो । सन् १९७० देखि अहिले सम्म एम २ २२ गुणाले बढेको छ भने सीपीआई ७ प्रतिशतले मात्रै बढेको छ । ३ः१ को अनुपातमा रहेको विस्तृत मुद्रा प्रदाय र उपभोक्ता मूल्य सूचांकले के पुष्टि गर्छ भने वित्तीय प्रणालीमा प्रशस्त रकम हुँदा पनि मुद्रास्फीति भएको छैन ।
यसका साथै बजारमा सस्तो दरमा रकम उपलब्ध हुने व्यवस्थाले मानिसहरु खर्च भन्दा लगानी गर्न तर्फ आकर्षित हुन्छन् । जसले उत्पादन क्षमता वृद्धि गर्नुका साथै उद्यमशीलता, सिर्जनशीलता तथा रोजगारी दर बढाउँछ । यसरी उत्पादन बढ्दा मूल्य कम हुन्छ र मुद्रास्फीति नियन्त्रणमा सहयोग गर्छ । यसैगरी फेडको विस्तारकारी नीतिले मूल्यवृद्धि भयो भन्ने तर्क गरेका मक्स र बेजोसका कम्पनीहरुले त्यहि समयमा आफ्नो स्तरोन्नति गरी विश्व सामु चिनिएका थिए जब फेडले विस्तारकारी नीति अवलम्बन गरेको थियो । फेडको विस्तारकारी नीतिकै कारण टेस्लाले आफूले उत्पादन गर्ने सवारी साधनको मूल्य कम गरी सस्तो दरमा अमेरिकी नागरिकलाई सस्तो दरमा विद्युतीय कार उपलब्ध गराउन सफल भएको थियो । यसैगरी स्पेसएक्सले अन्तरिक्षको भ्रमण शुल्क कम गरेको थियो ।
मक्स र बेजोसको विपरित केही बुद्धिजीवि तथा फेडरल रिजर्भले मुद्रास्फीति नियन्त्रण गर्न थप आक्रामक रुपमा औसत ब्याज दर बढाउनुपर्ने तर्क राखेका छन् । पछिल्लो समयमा भएका आर्थिक मन्दीको इतिहास हेर्दा फेडरल रिजर्भले औसत ब्याजदर वृद्धि गरेपछि आर्थिक मन्दी निश्चित रुपमा भएको देखिन्छ । जति आक्रामक रुपमा औसत ब्याज दर बढ्छ, त्यति नै मन्दी लम्बिँदै गएको अभिलेख छ । फेडले औसत ब्याजदर बढाउँदा पनि आर्थिक मन्दी नआएको एउटा मात्रै अपवाद सन् १९९० मा प्राविधिक कम्पनीहरु बूम भएको समय रहेको छ । सन् १९९० लाई टेक्नोलोजिकल बूमिङको समय मानिन्छ । यस समयमा फेडले सन् १९९४ मा करिब दुई गुणा बढीले ब्याजदर वृद्धि गरेको थियो ।
धेरैले अहिले हुने आर्थिक मन्दीलाई सन् १९७० को आर्थिक मन्दीसँग जोडेर हेरेका छन् । सन् १९६५ मा स्थापना भएको पेट्रोलियम पदार्थ निर्यात गर्ने देशहरुको संगठन (ओपेक) ंले इन्धन तथा पेट्रोलियम पदार्थको उत्पादन तथा निर्यात सुरु गरेपछि अमेरिकाद्धारा उत्पादित इन्धन घटेको थियो । निर्यातमा आएको समस्या, ५० प्रतिशत भनदा धेरैले ओरालो लागेको सेयर बजार, फेडको इजीङ्ग मनी नीति, गोल्ड वीन्डो बन्द गरिनु र तत्कालीन राष्ट्रपति रिचार्ड निक्सनले लिएको अविवेकी निर्णय जस्ता तत्वहरुले १९७० को समयमा अर्थतन्त्रमा ग्रेट डिप्रेसन र ग्रेट इन्फ्लेसन निम्त्याएको थियो । सन् १९७० मा बेरोजगारी दर ७ प्रतिशत थियो भने सन् १९८० सम्म आइपुग्दा ११ प्रतिशत पुगेको थियो ।
बेरोजगारी दरकै अनुपातमा बढेको मुद्रास्फीति नियन्त्रण गर्न सन् १९७९ मा फेडरल रिजर्भका अध्यक्षका रुपमा पल भोल्कर नियुक्त भएका थिए । उनले आक्रामक रुपमा औसत ब्याजदर बढाएका थिए जसकारण सन् १९८० मा ११ प्रतिशत रहेको मुद्रास्फीति दर सन् १९८३ को अन्त्यमा ४ प्रतिशतमा कायम भएको थियो । जसकारण फेडले ब्याजदर बढाएता पनि मुद्रास्फीति नभई सन् १९९० मा टेक्नोलोजिकल बूम सम्भव भएको थियो ।
अहिलेको अवस्थालाई सन् १९७० सँग तुलना गरेर आक्रामक रुपमा ब्याजदर बढाउनु अघि फेडका नीति निर्माताहरुले जनमानसको भावना बुझ्नु आवश्यक छ । मुद्रास्फीतिले जनजीवन कष्टकर बनाएता पनि मानिसहरु बेरोजगार हुनु चाहन्दैनन् र सामाजिक सुरक्षा भत्ता वृद्धि भएसँगै मानिसहरु अलिकति आश्वस्त भएका छन् ।
यसैगरी फेडले ब्याजदर बढाउँदा के पनि बिर्सनु हुँदैन भने, औसत ब्याजदर वृद्धि भएसँगै डलर थप शक्तिशाली बन्ने र यसले आयातलाई सस्तो बनाएता पनि निम्न–वर्गीय तथा मध्यम वर्गीय परिवारमा थप समस्या पैदा गर्छ । तसर्थ औसत ब्याजदर बढाएर अर्थतन्त्रको घाँटी थिचेर मूल्यवृद्धि नियन्त्रण गर्छु भन्नु पारम्परिक उपचार विधि अंगालेर रगत बगाउनु समान रहेको छ ।
फेडका नीति निर्माताहरुले धनाढ्य ब्यक्तिहरुको पक्षमा नीतिहरु बनाउने हो भने २४ ट्रिलियन आकार रहेको अमेरिकी अर्थतन्त्र पूर्ण रुपमा अमेरिकी हुँदैन । तसर्थ अमेरिकी सरकारले निम्न–वर्गीय परिवारहरुलाई सशक्त बनाउनुपर्ने र गरीबलाई भोकै र धनीलाई वैभव नै वैभव जस्तो नीति अघि ल्याउनु हुँदैन ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया