बजेटपछि १४५ अंकले घट्यो बजार, एकै दिन ३३ अंकको गिरावट


आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएयता शेयर बजार तिब्र गतिमा ओरालो लागिरहेको छ । यस क्रममा साताको अन्तिम दिन शुक्रबार बजार परिसुचक नेप्से ३३.७६ अंकले घटेको छ । बजार खुलेको केही समय स्थिर हुन खोजे पनि क्रमिक रुपमा ओरालो लागेर २०७८.७० अंकमा ओर्लिएको हो ।

बजेट पछि यो साताको सोमबारदेखि शुक्रबारसम्ममा बजार बजार पसिूचक नेप्से १४५ अंकले ओरालो लागेको छ । बजेट सार्वजनिक हुनु पहिलोअन्तिम पाँच कारोबार दिनमा ३ दिन बढेको बजार बजेट सार्वजनिक भएपछि निरन्तर ओरालो लागेको हो । बजेटले शेयर बजारका विद्यमान समस्या सम्बोधन गर्ने विश्वासमा गत साता बजार बढे पनि लगानीकर्ताको अपेक्षा अनुसार बजेट नआएपछि बजारको ओरालो यात्राले निरन्तरता पाएको हो ।

बजेट सार्वजनिक भएको भोलिपल्ट अर्थात जेठ १६ गते सोमबार सेयर बजार ५० अंक बढीले ओरालो लागेको थियो । जेठ १७ गते मंगलबार ३५.५२ अंकले घटेको बजार १८ गते बुधबार ७.१९ अंकले ओरालो लाग्यो । जेठ १९ गते बिहीबार १८.२६ अंकले ओरालो लागेको बजार शुक्रबार ३३.७६ अंकले तल झरेको हो ।

शुक्रबार २२६ कम्पनीका ३८ लाख ४८ हजार ५०८ कित्ता शेयरहरु २६ हजार ६९३ पटक किनबेच हुँदा १ अर्ब ३० करोड ७३ लाख ५९ हजार ५४० रुपैंयाको कारोबार भएको छ । बजार ओरालो लाग्दै गर्दा कारोबार रकम भने १ देखि डेढ अर्ब रुपैंयाको बिचमा बसिरहेको छ ।

यस दिन २० कम्पनीको शेयर मूल्य बढेको छ भने १९७ कम्पनीको घटेको छ । बाँकी ९ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । साधारण शेयर सूचीकरण गराएदेखि राम्रोसँग कारोबारमा आउन नसकेका उपकार लघुवित्त र बलेफी हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले बढेको बजारमा गणपति लघुवित्त, अजोड इन्स्योरेन्स, हिमालयन उर्जा विकास कम्पनी, युनाइटेड इदी मार्दी आरबि हाइड्रो लगायत कम्पनीको शेयर मूल्य बढेको छ ।

किसान लघुवित्तको शेयर मूल्यमा सबैभन्दा धेरै गिरावट आएको बजारमा उन्नती सहकार्य लघुवित्त, प्रोग्रसिभ फाइनान्स, लिबर्टी इनर्जी, एशियन लाइफ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, नेपाल इन्भेस्टमेन्ट बैंक लगायत कम्पनीहरुको शेयर मूल्यमा धेरै गिरावट आएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट सेयरबजारमैत्री भएको दाबी गर्दै आए पनि नेप्सेको गिरावटमा सुधार नदेखिएको हो । तरलताको अवस्था सहज नभएको र बैंक ब्याजदर अझै बढ्ने संकेतले लगानीकर्ताको मनोबल उकासिन सकेको छैन ।

अर्कातिर आगामी आर्थिक वर्षको बजेटलाई सघाउने गरि नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति कस्तो होला भन्ने चासो पनि लगानीकर्तामा छ ।

मौद्रिक नीतिमार्फत ४ १२ को सीमा हट्ने अपेक्षा लगानीकर्तामा भए पनि यसमा संसोधन हुने आधार जीर्ण बन्दै गइरहेको अवस्थामा लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् ।

बजार निरन्तर ओरालो लाग्दै गर्दा समग्र बजार पूँजीकरण पनि संकुचित भईरहेको छ । शुक्रबार बजारमा आएको गिरावटसँगै बजार पूँजीकरण घटेर २९ खर्ब ५९ अर्ब ४८ करोड ६३ लाख ४९ हजार ७२८ रुपैंया कायम भएको छ । बजारले ऐतिहासिक उचाई ३१९८ अंकको यात्रा तय गरेका दिन २०७८ भदौ २ गते यस्तो पूँजीकरण ४४ खर्ब हाराहारी थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।