‘ब्रिफ’ बाट ‘क्लिक’ बैंकिङ रुपान्तरणमा कोभिड वरदान, ‘कम्प्लायन्स’ नगर्ने बैंकहरुको सूची निकालौँ

0
Shares

डिजिटल बैंकिङको प्रबद्र्धन गर्न कोरोना अवधि बरदान नै सावित भएको पूर्व बैंकर भुवन कुमार दाहालले बताए । कोरोनाका कारण ब्रिफ बैंकिङबाट क्लिक बैंकिङमा रुपान्तरण गर्न महत्वपुर्ण भुमिका खेलेको उनले बताएका हुन ।

नेपाल बैंकर्स संघका निवर्तमान अध्यक्ष समेत रहेका दाहालले कोरोनाका कारण नगद कारोबारलाई निरुत्साहित गरी विद्युतीय बैंकिङ कारोबारको विकास गर्न सम्भव भएको बताएका हुन । “वित्तीय क्षेत्रमा डिजिटलाइजेसन कोभिड–१९को अवधिलाई वरदान मान्न सकिन्छ,” उनले भने,“पहिले जूम अमेरिका तिर प्रयोग गर्छन् जस्तो लाग्थ्यो, नेपालमा पनि कोरोना भन्दा अघि भिडियो कन्फेरेम्सीङको लागि पहिले वल्र्ड ट्रेड सेन्टरमा आउनु पथ्र्यो ।”

कोरोनाका कारण वर्क फ्रम होम तथा लकडाउनका कारण अहिले घरघरमा जूम, मेसेन्जर मार्फत भिडियो कन्फेरेन्सीङ गर्न सकिने अवस्था बनेको छ । कोभिड–१९को समयमा बैंकिङ क्षेत्रले डिजिटाइजेसनमा ठूलो फड्को मारेको बताउँदै उनले भने,“ग्राहक सचेतना बढेसँगै अहिले ‘बैंक एट ह्यान्डको कन्सेप्ट विकास भएको छ ।” त्यसैगरी ब्रिफ बैंकिङबाट क्लिक बैंकिङमा रुपान्तरण हुने दिशामा कोभिड–१९ वरदान नै भएको भन्न मिल्ने समेत उनको दावी छ ।

अहिले हामी घरमै बसेर बिजुलीको बिल तिर्न, हवाईजहाजको टिकट किन्न, टेलिफोनको बिल तिर्न सक्छौं । विद्युतीय कारोबार गरेबापत ग्राहकले पाउने सुविधाहरु सन्तोषजनक रहेको उनले बताए । डिजिटल बैंकिङको दृष्टिकोणबाट नेपालको सन्दर्भमा रिभोलुसन नै आएको छ । डिजिटल बैंकिङको विकास हुन समय लाग्न सक्थ्यो कोभिडका कारण छिटै सम्भव भएको समेत उनको बुझाई छ।

बैंकिङ क्षेत्रको ब्याजदरको कुरा गर्दा पछिल्लो समयमा आधार ब्याजदर नै २ देखि २.५ प्रतिशतको विन्दुले बढिसकेको उनले जानकारी दिए । “वर्किङ क्यापिटल लोनको नबिकरणको बेलामा बैंकहरुले आफ्नै हिसाबले प्रिमियम बढाइरहेका छन्,” उनले भने,“यसो हुँदा खराब कर्जा बढ्ने जोखिम बढेको देखिन्छ, किनभने कर्जाको किस्ता भुक्तानी गर्ने व्यक्तिहरुको आम्दानी बढेको छैन ।”

किस्ता तिर्ने व्यक्तिको आम्दानी नबढ्दा कर्जा खराबमा परिणत हुने सक्ने जोखिम बढेको उनको बुझाइ छ । त्यसका साथै विदेशी विनिमय सञ्चितिमा परेको दबाब तथा शोधनान्तर घाटा वढीरहेको भएपनि हाम्रो अवस्था पक्कै पनि श्रृलंकाको जस्तो नभएको उनको बुझाइ छ । तर चालु खाता घाटा हेर्यो भने अहिले कुल ग्राहस्थ उत्पादनको १० प्रतिशत पुग्छ भने सचेत हुनुपर्छ । चालु खाता घाटा ५ प्रतिशत भन्दा माथि पुग्यो भने यसलाई सकरात्मक मानिँदैन । यसका लागि राष्ट्र बैंकले विगतका महिनादेखि नै आवश्यक उपाउहरु अपनाइरहेको देखिन्छ ।

यसमा राष्ट्र बैंक र अर्थ मन्त्रालयले संयुक्त रुपमा काम गर्यो भने सम्भव हुने समेत उनले बताए । जस्तै अर्थ मन्त्रालयले कस्टम ड्युटी र आयातमा नियन्त्रण गर्नुपर्ने छ । “गाडी आयातमा नियन्त्रण गरेसँगै इन्धन उपभोगमा पनि कमी गर्दै जाने हो कि,” दाहालले भने,“इन्धन उपभोग कम गर्न सरकारले विभिन्न उपाय अपनाएको नै छ, मैले भन्न चाहेको जस्तै माक्स लगाएर गाडी चलायौँ भने एसी प्रयोग गर्नु परेन । यसरी पनि पेट्रोलको केही बचत गर्न सकिन्छ कि ? किनभने पेट्रोलको मूल्य १०० डलर प्रति ब्यारल भन्दा माथि पुगिसकेको छ ।”

वित्तीय क्षेत्रमा देखिएको अस्वस्थ्य प्रतिस्पर्धाको सन्दर्भमा नेपाल राष्ट्र बैंक, नेपाल बैंकर्स एसोसिएसन, नेपाल डेभेलपमेन्ट बैंक एसोसिएसन र फाइनान्स एसोसिएसन मिलेर काम अगाडि बढाउनु पर्ने समेत उनले सुझाए । “बैंक/वित्तीय संस्थाले नाफा कमाउनको लागि नीति भन्दा तल गएर लोन दिनु भएन,” उनले थपे,“गत वर्षकै कुरा गर्दा बेस रेट भन्दा तल गएर लोन दिएको अवस्था थियो, के हामीले नाफा कमाउन सफल भयौँ त ?”

बैंक/वित्तीय संस्थाबाट प्रबाह हुने कर्जा ३० प्रतिशतले वृद्धि भएता पनि खुद ब्याज आम्दानीको वृद्धि जम्मा ३ प्रतिशत थियो । राष्ट्र बैंकले ४.४ प्रतिशत कर्जा निक्षेपको ब्याजदर कायम गर्नुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्थामा पनि बैंकहरुको स्प्रेड रेट ३.६५ प्रतिशत मात्रै कायम भएको उनले जानकारी दिए । अस्वस्थ प्रतिस्पर्धा भएका कारण त्यो अवस्थामा पनि बैंकहरुले नाफा गर्न नसकेका उनको बुझाई छ ।

बैंक/वित्तीय संस्थामा भएको प्रतिस्पर्धाले व्यवसायीक समुदायलाई भने फाइदा पुगेको हुन सक्ने बताउँदै उनले थपे,“बिजनेस कम्युनीटिको ब्यालेन्स सीट हेर्दा उनीहरुको रिटर्न अन इक्युटी हाम्रो भन्दा धेरै छ ।” गत वर्षको त तुलना नै भएन, त्यस अघिको वर्षमा पनि केही क्षेत्र, पर्यटन, होटल व्यवसाय बाहेकका अन्य क्षेत्रको रिटर्न अन इक्विटी राम्रो थियो । तर, बैंक÷वित्तीय संस्थामा जसरी अस्वस्थ प्रतिस्पर्धा भैरहेको छ, त्यसले बैंकिङ क्षेत्रलाई लूजर्स बनाएको समेत उनको विश्लेषण छ । “नेपाल राष्ट्र बैंक तथा बैंकर्स एसोसिएसनमा जति सक्दो उजुरी गर्नु पर्यो,” उनले भने,“हामीले एउटा साथीले अर्को साथीको उजुरी गर्यौ भने मात्रै रिफर्म आउँछ । आफ्नै साथीको के उजुरी गर्नु भन्दै बस्यौँ भने रिफर्म आउँदैन ।”

सस्तो ब्याजदरमा अर्काको ग्राहक तान्ने अभ्यास देखिन्छ । भोलि अर्कैले त्यो भन्दा सस्तो दरमा ग्राहक तान्ने भएकाले बैंकिङ क्षेत्रले गुमाइ रहेको उनको तर्क छ । यस्तै प्रतिस्पर्धा गरेर नीति तथा नियमहरुको पालना गर्न सक्यौँ भने बैंकको लाइफ न धेरै हुने उनको बुझाई छ । “नीति तथा नियम पालना गर्न सकेनौँ भने हामीले नाफा त कमाउला तर मार्केटले के भन्छ भन्ने कुरा बुझ्नु पनि उत्तिकै जरुरी छ,” उनले भने,“अहिले कतिपय बैंकहरुले एकै ब्याज दरमा ऋण दिइराखेको अवस्था छ, यस्तो अभ्यासलाई हटाउन पनि उजुरी गर्नुपर्यो । कम्प्लेन गरेनौँ भने हामी सुध्रिने वाला छैनौँ ।”

बैंकिङ क्षेत्रको सम्पत्तिको आकार कुल ग्राहस्थ उत्पादनको झन्डै ५० प्रतिशत बढी छ । त्यसलाई पनि ध्यान राखेर बैंकरहरुले काम गर्नुपर्ने उनको भनाई छ । सञ्चालनमा रहेका २७ वटा बैंकका प्रमूख कार्यकारी अधिकृत प्रोफेसनल भएर काम गर्न सक्यौँ भने यसले बैंकिङ क्षेत्र स्वस्थ बनाउन राम्रो योगदान दिन सक्ने उनको बुझाई छ । अरु क्षेत्रको तुलनामा बैंकिङ क्षेत्र राम्रो भएपनि सुधार गर्नुपर्ने कुराहरु पनि उत्तिकै रहेको उनको ठहर छ । “हामी नाफा कमाउने नाममा अस्वस्थ काम गर्ने अभ्यासलाई बन्द गर्नुपर्ने हुन्छ,” उनले भने, “यसमा राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्था सबै मिलेर काम गर्नुपर्छ, यसमा चाहिँ बैंकहरुले एकअर्काको ‘कम्प्लेन’ गर्ने अभ्यास गरौँ ।”

नेपाल राष्ट्र बैंकले समेत पूर्ण ‘कम्प्लायन्स’ गर्ने र नगर्ने बैंकहरुको वर्गिकरण गर्न दाहालले सुझाए । “केन्द्रीय बैंकले सञ्चालनमा रहेका बैंकहरु मध्येका पुर्ण ‘कम्प्लायन्स’ गर्ने उत्कृष्ट ५ बैंकलाई पुरस्कार दिने व्यवस्था गर्दा उपयुक्त हुन्छ,” उनले भने,“हरेक वर्ष त्यस्ता बैंकहरुलाई रिवार्ड गर्ने अभ्यास गर्दा उपयुक्त हुने देखिन्छ ।” यो व्यवस्थाले ग्राहकहरुलाई पनि सहज हुने उनको विश्लेषण छ । त्यती मात्र नभई एक्युजिसनमा जान चाहेका बैंकहरुलाई पनि यसले थप सहज गर्ने उनको तर्क छ । त्यसका साथै ‘कम्प्लायन्स’ नगर्ने बैंकहरुको पनि सूची प्रकाशन गर्ने अभ्यास गरेको खण्डमा धेरै सुधार आउने दाहालको सुझाव रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० जेठ २०७९, शुक्रबार  १८ : १० बजे