पुँजीबजार अध्ययन समितिमा लगानीकर्तालाई नसमेटिएको गुनासो, “बिरामी बिनै उपचार असम्भव”


अर्थ मन्त्रालयले पुँजी बजारमा देखिएका विद्यमान समस्या अध्ययन र समाधानका लागि गठन गरेको सुझाव समितिप्रति लगानीकर्ताहरुले असन्तुष्टि जनाएका छन् ।

नेपाल धितोपत्र बोर्डको बोर्डको ३० औं वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले बुधबार नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र अर्थ मन्त्रालयका प्रतिनिधि सम्मिलित चार सदस्यीय सुझाव समिति गठन गरिएको जानकारी सार्वजनिक भए पछि लगानीकर्तालाई नसमेटिएको भन्दै आलोचना भएको हो ।

समितिले दिएका सुझावहरुका आधारमा सम्बन्धित निकायहरुले गर्नुपर्ने काम गर्नेगरी समिति गठन गरिएको अर्थमन्त्री शर्माले जानकारी दिएका थिए । सो जानकारी सार्वजनिक भए लगत्तै लगानीकर्ताहरुले समिति अपुर्ण भएको टीकाटिप्पणी गरिरहेका छन् ।

धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीको संयोजकत्वमा गठित समितिमा अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकका प्रतिनिधि मात्र रहने र बोर्डबाट नै सदस्य सचिव रहने व्यवस्था गरिएको छ । उक्त समितिमा लगानीकर्ता, बीमा समिति, विद्युत नियमन आयोग लगायत क्षेत्रलाई समेटिएको छैन ।

पूँजी बजारका समस्या समाधानका लागि अर्थ मन्त्रालयद्धारा चार सदस्यीय समिति गठन

यस सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघको पुँजी बजार फेरमका अध्यक्ष एवं नेपाल इन्भेष्टर्स फोरमका पुर्व अध्यक्ष अम्बिका प्रसाद पौडेलले लगानीकर्तालाई नसमेटिएको समितिले लगानीकर्ताका समस्या उजागर गर्न नसक्ने बताएका छन् । यसै सम्बन्धमा उनले सामाजिक सञ्जालमा लेखेका छन, “सिकिस्त अवस्थामा पुगेको विरामीलाई नै उपस्थित नगराई उपचार गरेर बिरामी निको होला र महोदय ?”

नोटबजारसँगको कुराकानीमा पौडेलले भने, “समस्या पुँजी बजारका लगानीकर्ताको हो, मर्चेण्ट बैंकरको हो, सामुहिक लगानी कोषहरुको हो, शेयर दलाल व्यवसायीहरुको हो भने यी सबै तह र तप्कालाई अर्थमन्त्रीले किन समितिमा अटाउन सक्नु भएन ?” बजारका सरोकारवालाहरुलाई पाखा लगाएको आरोप लगाएका पौडेलले भने, “बजारका स्टेकहोल्डरहरुलाई पाखा लगाएर किन समिति गठन गरियो ? अर्थमन्त्रीले लगानीकर्ताका समस्यालाई बुझ्न नचाहेको कुरालाई यसले थप प्रष्ट बनाउँछ । समितिले काम गरे पनि त्यसको प्रभावकारितामा प्रश्न आउनेछ ।”

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसी राम ढकालले भने अर्थमन्त्रालयको कदम स्वागतयोग्य भएको बताएका छन् । नोटबजारसँगको कुराकानीमा ढकालले भने, “आम लगानीकर्ताको तर्फबाट समिति गठनको विषय स्वागतयोग्य छ । समिति गठन हुनु मात्र ठुलो कुरा होइन, यसका उद्धेश्य पुरा हुने गरी काम भएको खण्डमा मात्र अर्थमन्त्रीको पहलले सार्थकता पाउँछ । लगानीकर्ता तथा अन्य सम्बद्ध पक्षलाई समितिमा अटाउन सकेको भए सुनमा सुगन्ध हुने थियो ।”

पुँजीबजारमा लाखौं व्यक्ति तथा सयौं कम्पनीहरु आबद्ध भएको र उनीहरुको समस्यालाई हेरिरहेकाले बजार व्यवस्थापनका लागि समस्याको अध्ययन गरी सुझाव पेश गर्न समिति गठन गरिएको अर्थमन्त्री शर्माले बताएका थिए ।

बुधबार बिहान मन्त्रालयमा भएको छलफलपछि समिति बनाइएको थियो । यद्यपी नवगठित समितिका सम्बन्धमा आम लगानीकर्ता तथा अन्य सम्बद्ध पक्षहरुका बिचमा सकरात्मक र नकरात्मक चर्चा चुलिँदै गएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।