हिमालयन पावर पर्टनरको दोर्दीखोला आयोजनाले शनिबारदेखि बिजुली उत्पादन परीक्षण गर्ने


हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीले लमजुङमा निर्माण गरेको दोर्दीखोला जलविद्युत् आयोजनाबाट शनिबारदेखि बिजुली उत्पादन परीक्षण थालिने भएको छ । दोर्दीखोलामा निर्माण गरिएको २७ मेगावाट क्षमताको उक्त आयोजनाको निर्माण साता पहिले पुरा भएसँगै शनिबारदेखि बिजुली उत्पादन परीक्षण थाल्ने भएको हो ।

आयोजनाका साइड इन्चार्ज दीपक ज्ञवालीका अनुसार शनिबारदेखि पाँच दिन बिजुलीको उत्पादन परीक्षण गर्न लागिएको हो । पावरहाउससम्म पानी ल्याएर टर्वाइन सबै घुमाएर कतै केही छ कि भनेर जाँच गर्ने उनले बताए । यस अघि आयोजनाको युनिट–१ को सफल परीक्षण गरिसेकेको बताएका उनले अहिले आयोजनाको तीनवटै टर्वाइन जाँच गर्ने बताए । परीक्षण सफल भए पनि व्यावसायिकरूपमा बिजुली उत्पादन हुन भने केही समय लाग्ने उनले जानकारी दिए ।

आयोजनाबाट उत्पादिन बिजुली उदिपुरमा रहेको २२० केभीको राष्ट्रिय प्रसारण लाइन निर्माण भइनसकेकाले व्यवसायिक उत्पादनमा समय लाग्ने भएको हो । राष्ट्रिय प्रसारण लाइनमा आयोजनामा उत्पादित विद्युत जोड्न नसकिने भएकाले प्रशारण लाइन जोडिए पछि व्यवसायिक उत्पादन सुरु गर्न लागिएको हो । उक्त अवधिसम्म आयोजनाबाट उत्पादित विद्युत खेर जाने छ ।

उक्त प्रसारण लाइनको ट्रान्समिसन एक–डेढ महिनामामै सम्पन्न हुने बताइए पनि कहिले सम्पन्न हुन्छ भन्ने यकिन नभएको आयोजनाले जनाएको छ । ट्रान्समिसन लाइन दुई–चार महिनासम्म पनि बनेन भने पनि निर्माण सम्पन्न नहुञ्जेल नै राष्ट्रिय प्रसारण लाइनमा बिजुली जोड्न पर्खिनुपर्ने बाध्यता रहेको आयोजनाले जनाएको छ ।

आयोजनाको इलोट्रो–मेकानिकल, पेनस्टकको इनटेक, फिल्डर पाइपलगायत काम सम्पन्न भइसकेको छ । ती सबैको सफल परीक्षणसमेत भइसकेको र पाइप बिच्छ्याउने, सुरुङ खन्नेलगायत निर्माण पनि पूरा भएको छ ।
बेँसीसहर नगरपालिका–११ रामचोकबेँसीमा पावरहाउस बनाइएको आयोजना २०७२ फागुनदेखि निर्माण सुरु गरिएको थियो । आयोजनाले विसं २०७५ भदौ १५ गते विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकोमा नाकाबन्दी, अघिल्लो वर्षायाममा विद्युत्गृहमा मर्स्याङदी नदीको पानी पसेपछि अवधि लम्बिएको थियो । यसका साथै कोरोना महामारीका कारण आयोजना निर्माणको काम निर्धारित अवधिमा पुरा हुन सकेको थिएन ।

४ अर्ब २३ करोड रुपैंया लगानी अनुमानका साथ आयोजनाले निर्माण थालनी गरे पनि निर्माण अवधि लम्बिँदै गएकाले लागत बढेर ४ अर्ब ६४ करोड हाराहारी पुगेको आयोजनाले जनाएको छ ।

आयोजनामा गैरआवसीय नेपाली सङ्घ ९एनआरएनए०को ३५ दशमलव सात प्रतिशत, आइएमई गु्रपको ३४ दशमलव तीन प्रतिशत र ३० प्रतिशत सर्वसाधारणको लगानी छ ।

नेपाल विद्युत् प्राधिकरण र सो कम्पनीबीच विसं २०६९ असार १ गते विद्युत खरिदबिक्री सम्झौता भएको थियो । आयोजनाका अनुसार सुक्खायाममा आठ रुपैयाँ ४० पैसा र वर्षायाममा चार रुपैयाँ ८० पैसामा विद्युत् खरिद गर्ने सम्झौता भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।