तरलता अभावका कारण व्यवसायीले कर्जा पाउन सकेनन् : परिसंघ अध्यक्ष अग्रवाल


नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवालले तरलता, शोधनान्तर घाटा, विदेशी मुद्रा संचितीमा परेको चापका कारण अर्थतन्त्र चुनौतीपुर्ण अवस्थाबाट गुज्रिरहेको बताएका छन् । संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रसँग भएको श्रम तथा रोजगार विषयमा छलफलका क्रममा उनले कर्जा नपाउँदा उद्योगी व्यवसायी समस्यामा परेको बताएका हुन् ।

नेपाल उद्योग परिसंघ र संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रबीच श्रम, रोजगार लगायतको विषयमा भएको छलफलका क्रममा अग्रवालले भने, “तरलताको समस्या हुँदा उद्योगीहरुले बैंकबाट ऋण पाइरहेका छैनन् ।

नयाँ उद्योगहरु स्थापना हुन सकेका छैनन् । भएका उद्योगहरुले पनि लगानी विस्तार गर्न पाइरहेको अवस्था छैन ।”

आन्तरिक उत्पादनको प्रबद्र्धन गरिनुपर्ने आवश्यकता औल्याउँदै अग्रवालले परिसंघले औद्योगिकीकरणलाई बढावा दिन जोडबल गरिरहेको बताए । औद्योगिकरणले रोजगारी सिर्जना हुने, आन्तरिक उत्पादन बढ्ने र आयात प्रतिस्थापन हुँदै जाने अध्यक्ष अग्रवालको भनाई थियो ।

परिसंघको रोजगारदाता परिषद्ले केन्द्रको पाँचौँ श्रम संसदबाट चयन भएका पदाधिकारीहरुलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ ।

अग्रवालले केन्द्रको पाँचौँ श्रम संसदबाट चयन भएका अध्यक्ष एवं पदाधिकारीहरुलाई बधाई दिँदै कोडिभ १९ को विशेष परिस्थितीमा कर्मचारीहरुले समझदारीपूर्ण सहयोग गरेको बताए । केन्द्रको स्थापना भएदेखि राम्रो श्रम सम्बन्ध स्थापित हुँदै आएको भन्दै उनले ट्रेड युनियन, कर्मचारीहरुबाट राम्रो सहयोग पाइरहेको बताए ।

कार्यक्रममा संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रका अध्यक्ष प्रेमल कुमार खनालले श्रमिकको समस्या समाधान गर्न केन्द्र साझा थलो बनेको बताए । उनले न्यूनतम पारिश्रमिक लागू गर्ने विषय चुनौतीपूर्ण रहेको भन्दै योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा पनि थोरै मात्र कर्मचारी, श्रमिक आवद्ध भएको बताए । श्रमिकहरुको सीप विकासमा रोजगारदातासहित राज्यले पनि दायित्व निर्वाह गर्नुपर्ने उनले बताए ।

कार्यक्रममा सहभागीहरुले श्रमिकका कारण उद्योग व्यवसाय बन्द हुने अवस्था नभएको भन्दै सरकारको राजश्वका नीतिका कारण उद्योगीहरुले नै उद्योग बन्द गर्नुपर्ने अवस्था देखिएको बताएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।