दोस्रो बजारमा लगानी गर्दा राम्रा र सुरक्षित कम्पनी कसरी छनौट गर्ने ?

0
Shares

नेपालको दोस्रो बजारमा २३० भन्दा बढी कम्पनी सूचीकृत रहेका छन् । यसमध्ये राम्रो सेयर छान्न नयाँ लगानीकर्ताका लागि केही असहज हुनसक्छ । दोस्रो बजारमा लगानीगर्नका लागि राम्रो कम्पनी छान्ने केही उपायहरु यसप्रकार रहेका छन् ।

बजार पूँजीकरण धेरै भएको कम्पनीको सेयर राम्रो मानिन्छ । साथै ठूलो पूँजी भएको कम्पनीमा चलखेल असम्भव हुने हुँदा यस्ता कम्पनीमा कम जोखिम हुनेगर्छ । वित्तीय अवस्था राम्रो भएको कम्पनी छनौट गरेर लगानी गर्न सकेमा पनि फाइदा लिन सकिन्छ । यसका लागि कम्पनीहरुले प्रकाशित गरेका वित्तीय विवरणहरुको अध्ययन गर्नुपर्छ ।

संस्थागत सुशासन राम्रो भएका कम्पनीको सेयरमा लगानीकर्ता पनि जोखिम कम हुने गर्छ । विगतमा नियामकीय निकायबाट कुनै कारबाहीमा नपरेका कम्पनीहरु, स्वच्छ छबिका प्रबद्धक र संचालक भएका कम्पनीहरु नै बजारका राम्रा कम्पनी मानिन्छन् ।

विगत तीन चार वर्षयतादेखि नियमित रुपमा लाभांश बाँडेका साथै लाभांशदर बढाउँदै लगेका कम्पनीहरु छान्न सकिन्छ । यस्ता कम्पनीमा लगानीगर्दा कम्पनीको मूल्य घटेमा पनि लाभांशले राहत दिन सकोस् ।

त्यस्तै कम्पनीकोहरुको नाफा, जगेडा, प्रतिसेयर आम्दानी, मूल्य आम्दानी अनुपात, कुल नेटवर्थ तथा सेयर मूल्यमा भएको उतारचढावको अध्ययन गरेर पनि उपयुक्त कम्पनी छनौट गर्न सकिन्छ ।

वणिज्य बैंकहरुमा कुन कम्पनीको सेयर किन्दा राम्रो होला ?

नेपालको धितोपत्र बजारका लगानीकर्ताले आफुले लगानी गर्न चाहेका कम्पनीहको आधारभुत अवस्थाबारे जानकारी नराखी हल्ला र अरुको लहैलहैमा लाग्दा अप्रत्याशित नोक्सानी र जोखिम बहन गरेको अवस्था पनि छ । कम्पनीको वास्तविक अवस्था पत्ता लगाउने, तथ्य विश्लेषण गर्ने र जोखिम मूल्याङ्कन गरेर लगानी गर्ने गरेमा अहिलेको बजारबाट पनि राम्रा र सुरक्षित कम्पनीहरु छनौटको अवसर कायमै छ ।

नेपालको पूँजी बजारको अवस्था हेर्दा सबैभन्दा भरपर्दा र चलायमान कम्पनीहरु भनेका वाणिज्य बैंकहरु नै हुन् । अन्य कम्पनीहरुको तुलनामा वाणिज्य बैंकहरुको सेयरमा कम जोखिम हुनुका साथै धितोपत्रहरु सहजै बेच्न सकिने, धितो राखेर कर्जा लिन सकिने अवस्था रहन्छ । वाणिज्य बैंकहरुको चुक्ता पूँजी, कमाई, जोखिम ब्यवस्था र लाभांश बाँड्न सक्ने क्षमता लगायतका आधारभुत कुराहरुको विश्लेषण गरेर लगानीको निर्णय लिन सकिन्छ ।

चुक्ता पुँजी र खुद नाफा

चुक्ता पुँजी बैंकहरुको लागि आधार हो तर चुक्ता पुँजी धेरै हुँदैमा बैंकहरुको खुद नाफा धेरै हुन्छ भन्ने भ्रम पाल्नु हुँदैन् । बैंकहरुले नाफा कसरी बढाएका छन भन्ने पनि हेरिनुपर्छ । बैंकहरुले नियमित बैंकिङ कारोबारबाट नाफा बढाउँदै लगेका छन् कि गैर बैंकिङ आम्दानीबाट नाफा बढाएका छन् । सेयर लगानीकर्ताले यस बारेमा अध्ययन गर्नुपर्ने हुन्छ ।

बैंकहरुले ब्याज आम्दानी, सञ्चालन आम्दानी, शुल्क, कमिशन, विदेशी मुद्राको कारोबार जस्ता स्रोतहरुबाट कति कमाएको छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । कतिपय बैंकहरु क्रमबद्द रुपमा नाफा बढाउँदै लगेको पाइन्छ भने कतिपयले खराब कर्जा उठाएर तत्कालका लागि खुद नाफा देखाउने गरेका पनि हुन्छन् । बैंकहरुको नाफा किन र कसरी बढ्यो भन्ने पनि सेयर लगानीकर्ताका लागि अध्ययनको एउटा विषय हुनसक्छ ।

बैंकहरुको कोषको लागत बैंकहरुले निक्षेपकर्तालाई दिने ब्याज र ऋणीहरुबाट लिने ब्याज अन्तरले पनि बैंकहरुको कमाईमा असर पार्ने गर्छ । राष्ट्र बैंकको निर्देशन अनुसार वाणिज्य बैंकहरुको स्प्रेडदर ४.४ प्रतिशत हुनुपर्छ ।

निक्षेप तथा कर्जा विस्तार

बैंकहरुको प्रगति निक्षेप संकलन र कर्जा बिस्तारको अबस्था हेरेर पनि मापन गर्न सकिन्छ । निक्षेप संकलन बढाउन नसक्नेले कर्जा पनि आक्रामक रुपमा बिस्तार गर्न सक्दैन र खुद नाफा पनि बढाउँन सक्दैन भन्ने देखिएको छ । विगतका वर्षहरुको तुलनामा निक्षेप र कर्जाको आकार समानुपातिक रुपमा बढाँउदै लगेका बैंकहरुका सेयरमा गरिएको लगानीमा कम जोखिम देखिन्छ । निक्षेप र कर्जा बढ्नु भनेको बैंकको व्यवसाय बढ्नु हो व्यवसाय विस्तारले बैंकको कमाईमा समेत प्रभाव पार्नेगर्छ।

प्रति सेयर आम्दानी

बैंकहरुले प्रतिशेयर आम्दानी जति बढाउँदै लग्छन् सेयर लगानीकर्ताहरुले त्यत्ति नै धेरै प्रतिफल पाउने गर्छन् । यसले प्रतिसेयर आम्दानी बढाउँदै लगेका बैंकहरु लगानीकर्ताका लागि उपयुत्त हुनसक्छन् । कतिपय बैंकहरुले पूँजी बढाउँदा प्रतिसेयर आम्दानी सन्तुलनमा राख्न सकेका छैनन् । पूँजी बढाउँदा समेत सेयर आम्दानी सन्तुलनमा राखेका बैंकहरु सेयर लगानीकर्ताका लागि राम्रा मानिन्छन् । यस्ता बैंकहरुले एकनासको लाभांश दिने क्षमता राख्ने गर्छन् ।

जोखिम ब्यवस्थापन तथा खराब कर्जा

बैंकहरुले प्रवाह गरेको कर्जाको साँवा ब्याज तोकिएको समयमा असुल भएन भने यस्ता कर्जाहरु निस्क्रिय कर्जामा पर्छन् । यस्ता निस्क्रिय कर्जा वापत बैंकहरुले तोकिए अनुसारको रकम जोखिम ब्यहोर्ने कोषमा छुट्याउनुपर्ने हुन्छ । बढी रकम प्रोभिजन गर्नु पर्यो भने बैंकहरुको नाफा घट्छ । राष्ट्र बैंकले निस्क्रिय कर्जाको अनुपात पाँच प्रतिशत भन्दा तल हुनुपर्ने गरी तोकेको छ । पाँच प्रतिशत भन्दा बढी निस्क्रिय कर्जा भएका बैंकहरुलाई सामान्यतया राष्ट्र बैंकले लाभांश बाड्ने अनुमति पनि दिँदैन भने सीमा नाघेका राष्ट्र बैंकले कारबाही समेत गर्छ ।

यस्तै पछिल्लो चरणमा एनएफआरएस अनुसार वित्तीय विवरण प्रकाशित गर्दा इम्पेरिमेन्ट चार्ज शिर्षकमा बैंकहरुले विभिन्न जोखिम वापतको व्यवस्था राख्नुपर्नेहुन्छ । यो शिर्षकमा बढी रकम भएका र इम्पेरिमेन्ट चार्ज बढ्दै गएका बैंकहरुले पनि लगानीकर्तालाई दिने प्रतिफल घट्ने गर्छ ।

जगेडा कोष 

बैंकहरुको लगानी बिस्तार र जोखिम ब्यवस्थापन गर्न जगेडा कोषले महत्वपूर्ण भुमिका खेल्ने गर्छ । पूँजी, निक्षेपका साथै जगेडा कोष पनि कुन बैंक कति बलियो छ भनेर नाप्ने आधार हो । त्यसैले कम्पनीहरुले खुद नाफाबाट आर्जित सबै रकम लगानीकर्ताहरुलाई नबांडी केही रकम यस्तो कोषमा राख्ने गर्छन । लगानीकर्तालाई लाभांश बाड्न नपाउने कम्पनीहरुले खुद नाफालाई जगेडा कोषमा राख्ने गर्छन भने लाभांश बाड्न पाउने अबस्थामा त्यो कोषको पनि उपयोग गर्छन ।

विगतका वर्षहरुमा दिएको लाभांश

राम्रा कम्पनीहरुले लगानीकर्ताहरुलाई लाभांश दर बढाउँदै लाने गर्छन् । राम्रो नाफा गरेका बैंकहरुले लगानीकर्ताहरुलाई सन्तुष्ट बनाउने गरी लाभांश दिन सक्छन् । पुँजी पर्याप्त भएका र वर्षेनी बोनस सेयर र नगद लाभांशमा संतुलन गरी वितरण गर्दै आएका बैंकहरु लगानीकर्ताका लागि उपयुक्त हुनसक्छन् ।

अन्य कुरा

शेयर बजारमा अल्पालीन तथा दीर्घकालीन प्रकारका लगानीकर्ता हुन्छन् । यी दुबै लगानीकर्तालाई कम्पनी छनौटको एउटै सुत्रले काम नगर्न पनि सक्छ । कम्पनीमा कुन प्रकारले लगानी गर्न लागिएको त्यसले पनि कम्पनी छनौटमा फरक पार्छ । विशेषत वाणिज्य बैंकहरु भनेका अल्पकालिन भन्दा दीर्घकालीन लगानीका लागि नै उपयुक्त मानिन्छन् । अन्य कम्पनीहरुमा जस्तो वाणिज्य बैंकहरुको शेयरमा तिब्र उतारचढाव नहुने भएकाले पनि दीर्घकालिन लगानी गर्न सकिन्छ ।

केही बाणिज्य बैंकहरुले आफ्नो कर्जा बिस्तारमा आबश्यक पर्ने पूँजीका लागि सहायक हुने गरी बण्ड र डिबेन्चर पनि जारी गरेका छन् । यस्ता बैंकहरुले आकर्षक बोनस शेयर दिने संभावना रहन्छ ।

अन्य आधारहरु

सामूहिक लगानी कोष (म्युचुअल फण्ड) को लगानीलाई पनि आधार बनाएर सेयर बजारमा लगानी गर्न सकिन्छ । सामूहिक लगानी कोषहरुले मासिक रुपमा प्रकाशित गरेका वित्तीय विवरणहरुलाई आधार मानेर पनि दोस्रो बजारमा लगानी गर्न सकिन्छ । म्युचुअल फण्डले राम्रो वित्तीय अवस्था भएका कम्पनीमा लगानी गरेको हुन्छ भन्ने मान्यताका आधारमा लगानीका लागि यी कम्पनीको छनौट गर्न सकिन्छ । तर कतिपय सामूहिक लगानीकोषहरुले भने लगानीकर्ताहरुले आधार बनाउने प्रकारको प्रस्तुति दिन सकेका छैनन् ।

‘क’ वर्गीकरणका कम्पनी

नेपाल स्टक एक्सचेन्जले क वर्गमा वर्गिकरण गरेका कम्पनीमध्येबाट पनि कम्पनीको छनौट गर्न सकिन्छ । जसको सुची नेप्सको वेवसाइटमा पनि हेर्न सकिन्छ । यी कम्पनी कम्तिमा पनि तीन वर्षदेखि नाफामा छन् र नेटवर्थ ऋणात्मक छैन भन्नेमा विश्वस्त हुन सकिन्छ ।

यसैगरि लगानीयोग्य कम्पनीको छनौट गर्दा वाणिज्य बैकले शेयर धितो राखेर ऋण दिनका लागि छनौट गरेका कम्पनीलाई पनि आधार बनाउन सकिन्छ । सामान्यतया वाणिज्य बैकले सेयर धितो राख्दा वित्तीय रुपमा मजबुत र बजारमा उच्च तरलता भएका कम्पनीको सेयर धितो राखेर ऋण दिने भएकाले त्यस्ता कम्पनीमा गरिएको लगानीमा केही हदसम्म जोखिम कम हुनसक्छ । बजारमा यसरी गरिने लगानी प्राय एकतर्फी प्रकृतिको हुनेगर्छ । यसबाट खरिद सजिलै गर्न सकिन्छ तर विक्री गर्ने समयको पहिचान गर्न भने सकिँदैन ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।