हवाई इन्धनको मूल्य समायोजन गर्न सेवाप्रदायकको माग


वायु सेवा प्रदायकहरुले पेट्रोल तथा डिजेलको मूल्य समायोजन गरिए पनि हवाई इन्धनको मूल्य समायोजन नभएको भन्दै समायोजन गर्न माग गरेका छन् ।

नेपाल आयल निगम संचालक समितिको बैठकले शनिबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोलको साविकको खुद्रा विक्री मूल्यमा प्रति लिटर २० रुपैंया र डिजेलमा प्रतिलिटर २९ रुपैंयाले समायोजन गरे पनि आन्तरिक तथा बाह्य हवाई इन्धनको खुद्रा विक्री मूल्य यथावत राखिएकोमा ध्यानाकर्षण भएको उनीहरुको भनाई छ ।

आइतबार प्रेस विज्ञप्ति जारी गर्दै वायु सेवा सञ्चालक संघले भनेको छ, “निगमवाट भएको मूल्य समायोजन प्रति यस संघको ध्यानाकर्षण भएको छ ।” हवाई ईन्धनको खुद्रा मूल्यमा सरकारी राजश्व घटाएर नेपाल आयल निगमलाई प्रतिलिटर १० रुपैयाँभन्दा बढी मुनाफा नहुने गरी हवाई इन्धनको मूल्य समायोजनका लागि संघले आग्रह गरेको छ ।

अन्तर्राष्ट्रिय बजार बमोजिम भारतीय आयल निगमले नेपाल आयल निगमलाई रक्सौलमा उपलब्ध गराउने करमुक्त खरीद मूल्यमा सरकारको अत्याधिक राजश्व तथा निगमको अत्याधिक नाफाका कारण नेपालमा हवाई ईन्धनको मूल्य छर छिमेकी मुलुकको तुलनामा निक्कै महंगो रहेको संघको भनाई छ ।

लगातार विगत दुई वर्ष देखि कोभिड महामारीको कहर तथा त्यस अवधिमा ८ महिना हवाई सेवा पूर्ण रुपमा बन्द हुदाँ वायुसेवाहरु सबै भन्दा बढि मारमा परेको भन्दै संघले विदेशी पर्यटकहरु आगमनमा खासै सुधार हुन नसकेको अवस्थामा बायुसेवाहरुले सञ्चालनमा रहनका लागिसस्तो मूल्यमा सेवा प्रवाह गरिरहेको संघको भनाई छ ।

“हवाई सञ्चालन खर्चको ४० प्रतिशत हिस्सा इन्धनमा हुने गरेको छ । कोरोनाको मारमा परेका वायुसेवा उद्योगलाई पुनः स्थापित गर्न भारत, चीन लगायतका विभिन्न मुलुकहरुले हवाई ईन्धनमा ५० प्रतिशत सम्म अनुदान दिने व्यवस्था गरेका छन् । नेपालमा पनि हवाई तथा पर्यटन उद्योगलाई धारासायी हुनबाट बचाउन हवाई ईन्धनको अस्वभाविक मूल्यलाई विश्व बजारको मूल्यसँग समायोजन हुनु जरुरी छ,” संघले भनेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।