यूरोपदेखि अमेरिकासम्मका १२ देशको चामल नेपालीको भान्सामा

0
Shares

आयात प्रतिस्थापनको नारासहित आज धान दिवस मनाउन सरकारले विभिन्न कार्यक्रम गरिरहँदा नेपालीले भने छिमेकी मुलुक भारत र चीन जस्ता देशहरुबाट मात्र होइन अमेरिका बेलायत तथा इटली र यूरोपका देशहबाट समेत चामल आयात गरेर खाने गरेका पाइएको छ।

देशभित्र उत्पादकत्व बढाउन नसक्ने तर ब्रान्डेड चामलको भात खाने आदत बढ्दै जाँदा यूरोप अमेरिकाको चामल समेत नेपालीका भान्सामा पाक्न थालेको हो ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा मात्रै नेपालमा ४५ अर्ब २९ करोड ७५ हजार रुपैयाँको धान चामल आयात भएको छ । यो अवधिमा १६ अर्ब ८० करोड रुपैयाँको धान र २८ अर्ब ५० करोडको चामल आयात भएको देखिएको छ । चामल ५ लाख ३८ हजार मेट्रिक टन आयात भएको छ भने धान ५ लाख ४५ हजार मेट्रिक टन आयात भएको देखिएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार मात्रै गएको ११ महिनामा अमेरिकबाट मात्रै १७ करोड ५८ लाख रुपैयाँको चामल नेपाल भित्रिएको छ । भारतबाट यो अवधिमा २२ अर्व ८ करोड ८९ लाखको चामल र १६ अर्ब ७६ करोडको धान आयात भएको छ । थाईल्यान्डबाट ६७ लाख रुपियाँको चामल आयात भएको छ ।

एघार महिनामा चीनबाट खैरो चामल (ब्राउन राईस) ५ हजार किलो नेपाल आएको छ । यस्तो चामल भियतनाम कोरिया थाईल्याण्डजस्ता देशबाट समेत आउने गरेको छ । यो अवधिमा कूल ६७ लाख रुपैयाँको खैरो चामल नेपाल ल्याइएको छ ।

उच्च गुुणस्तरदेखि मध्यमस्तरको चामल मात्र नभई पछिल्लो समय कनिका समेत आयात हुने गरेको छ । गएको साउनदेखि जेठसम्म कुल १ अर्व ३८ करोड रुपैयाँको त कनिका नै आयात भएको छ । भारतबाट १ अर्ब ३१ लाख रुपैयाँको कनिका किनिएको छ । थाइल्याण्ड र भियतनामबाट पनि आयात हुने भए पनि परिमाण नगन्य छ । कनिका धेरैजसो मदिरा उद्योगमा खपत हुन्छ ।

कृषि उत्पादन विस्तारका अनेकन प्रयासका बावजुत् नेपालको धान चामल आयात भने चुलिँदै गएको छ । कृषि क्षेत्रको उत्पादकत्व बढाउन भन्दै सरकारले विभिन्न अनुदानका कार्यक्रम ल्याए पनि ती सबैको परिणाम सकारात्मक नुहँदा आवश्यकता अनुरुप उत्पादन विस्तार हुन नसकेको हो । यसबाहेक गत वर्ष वर्षातका कारण तराई क्षेत्रमा धान डुबानमा परेर नष्ट भएको थियो । धान रोप्ने बेला देशव्यापी रुपमा रासायनिक मल अभाव चर्कने नियतिले पनि स्वदेशी उत्पादन घटेको छ।

जनसंख्या वृद्धिको अनुपातमा धान उत्पादन विस्तार हुन नसक्दा चुलिँदो आयातको भार खेप्नु परेको हो । विज्ञहरुका अनुसार नेपालमा ५० वर्षमा औषत धान उत्पादकत्व वृद्धि दर १.५ प्रतिशत मात्रै छ तर जनसंख्या वृदिदर भने २.३ प्रतिशत छ । नेपालमा चामल खपत प्रतिव्यक्ति १३७ किलो वार्षिक रहेको छ जुन उच्च मानिन्छ । कुल अन्न खपतमा पनि चामलको हिस्सा बढ्दै अहिले ६७ प्रतिशत पुगेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।