लुम्बिनी प्रदेशका बैंक वित्तीय संस्थाको औसत सीडी रेसियो १३३ प्रतिशत

0
Shares

चालु आर्थिक वर्षको पहिलो ६ महिना अर्थात साउन देखि पुससम्ममा लुम्बिनी प्रदेशका बैंक वित्तीय संस्थाको औसत कर्जा निक्षेप अनुपात १३३.३५ प्रतिशत रहेको छ । बैंक वित्तीय संस्थाले स्रोत व्यवस्थापन भन्दा पनि कर्जा लगानी विस्तारमा जोड दिँदा कर्जा निक्षेप (सीडी) उच्च भएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार लुम्बिनी प्रदेशमा निक्षेपको एक प्रतिशत भन्दा थोरैले बढेपनि कर्जा प्रवाह १४.६२ प्रतिशतले बढेको छ । उच्च कर्जा प्रबाहका कारण चालु आवको ६ महिनामा बैंक वित्तीय संस्थाको औसत कर्जा/निक्षेप अनुपात १३३.३५ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । यस अवधिमा प्रबाह भएको कर्जा मध्ये विपन्न वर्ग कर्जाको ८.८२ प्रतिशत, पुनरकर्जाको ४.२१ प्रतिशत र सहुलियतपूर्ण कर्जाको ५.६४ प्रतिशत हिस्सा रहेको छ ।

बचत तथा ऋण सहकारी संस्थाहरुको कुल पुँजी, बचत परिचालन, कुल ऋण प्रवाह र सदस्य संख्या समेत बढेको राष्ट्र बैंकले जनाएको छ । सो अवधिमा कुल सवारी साधनको संख्या ९.८६ प्रतिशतले वृद्धि भई १० लाख २२ हजार ४०५ पुगेको केन्द्रीय बैंकको अध्ययनले देखाएको छ । चालु आवको पुसम्ममा परिवत्र्य विदेशी मुद्रा खरिद ६७.५७ प्रतिशतले घटेको छ भने सिद्धार्थनगर कार्यालयबाट भारतीय मुद्राको विक्री कार्य घटाइएको राष्ट्र बैंकले जनाएको छ ।

पुसससम्मा लुम्बिनी प्रदेशमा ‘क’ वर्गको ७२४, ‘ख’ वर्गको २४१, ‘ग’ वर्गको ४३ र ‘घ’ वर्गको ११५८ गरी कुल २१६६ वटा बैंक तथा वित्तीय संस्थाहरु शाखा रहेका छन । रुपन्देही जिल्लामा सबैभन्दा बढी ५३० वटा र रुकुमपूर्व जिल्लामा सबैभन्दा कम (१५ वटा शाखाहरु) सञ्चालनमा रहेको केन्द्रीय बैंकको अध्ययनले देखाएको छ ।

सो अवधिमा पर्यटकस्तरीय होटल तथा लज संख्या १८.३० प्रतिशतले बढेको छ । यसैगरी, होटल तथा लज शैया संख्या, प्रत्यक्ष रोजगारी संख्या र अकुपेन्सी दर समेत बढेको छ भने भारतबाट १०,३५० र तेस्रो मुलुकबाट १,४१५ गरी जम्मा ११,७६५ पर्यटकको आगमन भएको कन्द्रीय बैंकले जनाएको छ ।

चालु आवको सो अवधिमा लुम्बिनी प्रदेशमा कुल घर तथा भवनको नक्सा पास संख्यामा सामान्य वृद्धि भएको छ भने रुपन्देही जिल्लाको हिस्सा सबैभन्दा धेरै ४७.२८ प्रतिशत र रुकुम पूर्व जिल्लामा शून्य रहेको छ । घरजग्गा रजिष्ट्रेशन संख्या २०.०३ प्रतिशतले ह्रास आएको भएतापनि सोवापत संकलन हुने राजस्व ८८.३० प्रतिशतले वृद्धि भएको अध्ययनमना उल्लेख छ ।

लुम्बिनी प्रदेशमा चालु आवको पुसम्ममा खाद्य तथा अन्य बालीले ढाकेको कुल क्षेत्रफल २.६४ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा तरकारी बालीले ढाकेको क्षेत्रफल ३.८८ प्रतिशत र तरकारी उत्पादन २०.२८ प्रतिशतले घटेको छ भने फलफुल तथा मसला बालीले ढाकेको क्षेत्रफल गत अवधिको तुलनामा १२.०१ प्रतिशत र उत्पादन २६.०९ प्रतिशतले वृद्धि भएको छ ।

प्रदेश १ का बैंक वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात १५५.२ प्रतिशत

चालु आवको पुसम्मको अवधिमा यस प्रदेशका उद्योगहरुको औसत क्षमता उपयोग ५०.१८ प्रतिशत रहेको छ । नमुना छनौटमा परेका उद्योगहरुमध्ये आल्मुनियम उद्योगले शतप्रतिशत क्षमता उपयोग गरेको छ भने तोरीको तेल उद्योगलेसबैभन्दा कम (२१.९३ प्रतिशत) क्षमता उपयोग गरेको अध्ययनले देखाएको छ । सो अवधिमा सिन्थेटिक कपडा, कागज, प्लाष्टिकका सामान, सिमेन्ट, कंक्रिट, फलामको छड तथा पत्ति, चाउचाउ र विजुलीको तार तथा केबुल उत्पादन बढेको छ भने रोजिन र मदिरा उत्पादन घटेको छ ।

औद्योगिक क्षेत्रमा प्रवाहित कर्जा १४.०८ प्रतिशतले वृद्धि भएको छ भने कुल प्रवाहित कर्जामा रुपन्देही जिल्लाको हिस्सा सबैभन्दा धेरै (६२.६६ प्रतिशत) छ । रुकुमपूर्व जिल्लामा यस्तो हिस्सा सबैभन्दा कम (०.०४ प्रतिशत) रहेको छ ।

यस प्रदेशको बैंक तथा वित्तीय संस्थाहरुमा २६ लाख ४६ हजार १७१ मोबाईल बैंकिङ्ग सेवा र १ लाख ८२ हजार ६६ ईन्टरनेट बैंकिङ्ग सेवा दर्ता भएको छ भने बाणिज्य बैंकहरुले ५८५ शाखा रहित बैंकिङ्ग सेवा उलब्ध गराएका छन् । कुल मोबाईल बैंकिङ्ग सेवामा सक्रिय ग्राहकको ७५.७४ प्रतिशत हिस्सा रहेको छ भने कुल ईन्टरनेट बैंकिङ्ग सेवामा सक्रिय ग्राहकको ७४.४५ प्रतिशत हिस्सा रहेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले संकलन गरेको कुल निक्षेप गत वर्षको सोही अवधिको तुलनामा ०.४६ प्रतिशतले मात्र बढेको छ । सो अवधिसम्ममा बैंक वित्तीय संस्थाको कुल निक्षेप संकलन ४ खर्ब २ अर्व ८३ करोड ७६ लाख पुगेको छ भने २०७८ असार मसान्तको तुलनामा ९.०० प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।

सो अवधिमा बैंक वित्तीय संस्थाले ५ खर्ब ३७ अर्ब १९ करोड १५ लाख रुपैयाँ कर्जा लगानी गरेका छन् । यो कर्जा रकम गत आवको सोही अवधिको तुलनामा १४.६२ प्रतिशतले धेरै हो । २०७८ असारको तुलनामा भने १२.१६ प्रतिशतले वृद्धि भएको थियो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।