चौधरी सहितका सीमित घरानालाई पुँजीबजार सुम्पँदै बोर्ड, सिण्डिकेटका लागि अधिक पुँजीको व्यवस्था

0
Shares

नेपाल धितोपत्र बोर्डले पुँजी बजार आधा दर्जन व्यवसायीक घरानाको कब्जामा दिने गरी नीति तर्जुमा गरेको छ । बोर्डले सीमित व्यवसायीको घेरामा रहने गरी स्टक एक्स्चेञ्ज तथा मर्चेन्ट बैंकरको भन्दा पनि धेरै धितोपत्र ब्रोकरको पुँजी तोकेको हो ।

धितोपत्र बोर्डले चौधरी ग्रुपको पक्षपोषण गर्ने गरी ल्याएको धितोपत्र दलाल कम्पनीको नयाँ प्रस्ताव अनुसार आगामी दिनमा हाल सञ्चालनमा रहेका ५० वटै ब्रोकर कम्पनी बन्द हुने अवस्था देखिएको छ । त्यसपछि सीमित व्यवसायिक समुहहरुका मात्र धितोपत्र दलाल कम्पनी हुने निश्चित छ । बोर्डको नीतिले चौधरी समुह, विशाल समुह, जगदम्बा समुह, आइएमई समुह, उमेश श्रेष्ठ लगायत सीमित व्यवसायिक घराना तथा व्यक्तिका मात्र धितोपत्र दलाल कम्पनी रहने स्पष्ट छ ।

यी व्यवसायिक समुहको धितोपत्र दलाल कम्पनीको अनुमति प्रक्रिया टुङ्गने वित्तिकै नयाँ स्टक एक्सचेन्ज ल्याउने समेतको योजना बोर्ड लागेको छ । नयाँ स्टक एक्सचेन्जका लागि चौधरी, जगदम्बा, न्यौपाने, आइएमई समुह लगायतले तयारी गरिसकेका छन् । उक्त स्टक एक्सचेन्जको प्रक्रिया अघि बढाउने तथा लगानीका हिसाबले दिपक भट्टले नेतृत्व लिएको धितोपत्र बजार स्रोतले जानकारी दियो ।

धितोपत्र बोर्डले धितोपत्र दलाल कम्पनीलाई तीन तहमा वर्गिकरण गरेर सोही अनुसार पुँजी कायम गर्ने प्रस्ताव गरेको छ । बोर्ड सञ्चालक समितिले मंगलबार धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०६४ को संशोधन प्रस्ताव स्वीकृत गर्दै दलाल कम्पनीको वर्गिकण अनुसार पुँजी तथा कार्यक्षेत्र निर्धारण गरेको हो ।

बोर्डको सञ्चालक समितिले स्वीकृत गरेको उक्त प्रस्ताव मन्त्रिपरिषद्को निर्णयार्थ बुधबार अर्थ मन्त्रालय पठाइसकेको धितोपत्र बोर्डका एक अधिकारीले जानकारी दिए । बोर्डले स्वीकृत गरेको नियमावलीको संशोधन प्रस्ताव अनुसार धितोपत्र दलाल कम्पनीलाई ३ तहमा वर्गिकरण गर्दै सीमित सेवा दिने ब्रोकर कम्पनीका लागि २० करोड चुक्ता पुँजी तोकेको बताउँदै बोर्डका ती अधिकारीले भने, “यस्तो धितोपत्र ब्रोकरले अहिलेका धितोपत्र दलाल कम्पनीले गर्दै आएको धितोपत्र किनबेचको मात्र काम गर्न पाउँछन् ।” त्यसैगरी मार्जिङ ल्याण्डिङ तथा निक्षेप सदस्यको सेवा सहित धितोपत्र कारोबारको काम गर्ने ब्रोकरको चुक्ता पुँजी ६० करोड तोकिएको ती अधिकारीले जानकारी दिए । साथै उनका अनुसार धितोपत्रको किनबेच तथा धितोपत्र व्यापारीको काम गर्ने धितोपत्र दलाल कम्पनीका लागि एक अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी तोकिएको छ ।

बोर्डले ब्रोकरका लागि गरेको पुँजी प्रस्ताव व्यवसायिक घरानाको क्षमतामा मात्र आउने गरी कायम गरेको देखिएको एक लगानीकर्ताले बताए । “धितोपत्र बोर्डले गरेको नयाँ प्रस्तावले आम लगानीकर्ताको हितमा समेत नभएको र पुँजी बजार पुर्ण रुपमा व्यवसायिक घरानालाई सुम्पेको छ,” ती लगानीकर्ताले भने, “यो व्यवस्थाले सीमित व्यावसायीको पक्षमा हुने गरी ओभर क्यापिटलको व्यवस्था गरेर धितोपत्र बजारमा कार्टेलिङ गर्न दिएको स्ष्ट हुन्छ ।” यस्तो व्यवस्थाले सर्वसाधारण लगानीकर्ताले सेयर किनबेच नै गर्न नपाउनेसम्मको अवस्था आउन सक्ने समेत उनको अनुमान छ ।

ब्रोकरका लागि गरिएको प्रस्तावित पुँजी हाल भएका स्टक एक्सेचन्ज, मर्चेन्ट बैंकर तथा धितोपत्र दलाल कम्पनीको छैन । त्यति मात्र नभई सर्वसाधारणको पैसा निक्षेप राख्ने र कर्जा लगानी गर्ने फाइनान्स कम्पनीको चुक्ता पुँजी समेत ८० करोड रुपैयाँ मात्र रहेको छ । नयाँ प्रस्ताव अनुसार धितोपत्र दलाल कम्पनीको पुँजी नेपाल स्टक एक्सचेन्ज (नेप्से) को भन्दा पनि धेरै हो । हाल नेप्सेको चुक्ता पुँजी ६० करोड रुपैयाँ मात्र रहेको छ । त्यसैगरी मर्चेन्ट बैंकरको चुक्ता पुँजी २० करोड रुपैयाँ छ । हाल मर्चेन्ट बैंकरले सेयर रजिष्ट्रार, निष्कासन तथा बिक्री प्रबन्धक, प्रत्याभुतिकर्ता, लगानी व्यवस्थापक, निक्षेप सदस्य, सामुहिक लगानी कोषका योजना व्यवस्थापक लगायतका काम गर्दै आएका छन् । यसले पनि सीमित व्यवसायिक समुहको स्वार्थ पूरा गर्न धितोपत्र बोर्डले उक्त प्रस्ताव ल्याएको स्पष्ट हुन्छ ।

अहिलेको अवस्थामा एक अर्ब ५० करोडसम्म लगानी गरेर धितोपत्र दलाल कम्पनी स्थापन गर्ने अवस्था नरहेको एक ब्रोकरले बताए । बोर्डको नयाँ प्रस्तावले हाल सञ्चालनमा रहेका ५० धितोपत्र दलाल कम्पनीलाई समाप्त पार्ने ती ब्रोकरको ठहर छ । “धितोपत्र दलाल कम्पनीको अनुमति लिनका लागि करिब ४ सय कम्पनीहरु कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको र तिनीहरुको भविष्य समेत समाप्त पारेको छ,” ती धितोपत्र ब्रोकरले भने, “हाल सञ्चालनमा रहेका सबै धितोपत्र दलाल कम्पनीहरु मर्जरमा गएको खण्डमा पनि एउटा ब्रोकर खोल्न नसकिने अवस्था हुन्छ ।”

धितोपत्र बोर्डले बजारको विकास विस्तार भन्दा पनि सीमित व्यवसायीलाई हित हुने गरी काम गरेको अरोप समेत उनले लगाए । हाल भएका मध्ये एक देखि दुई कम्पनीले मात्र नयाँ मापदण्डको पुँजी पु¥याएर काम गर्ने समेत उनको भनाई छ । त्यसमा पनि व्यवसायिक घरानाको लगानी भएका ब्रोकरले मात्र काम गर्ने उनी बताउँछन् ।

धितोपत्र बोर्डले नयाँ शाखा खोल्न सैद्धान्तिक सहमति दिएको एक वर्ष भन्दा बढी हुँदा पनि सञ्चालनको अनुमति दिएको छैन । ब्रोकर शाखा सञ्चालनको अनुमति दिँदा नयाँ ब्रोकरको लाइसेन्स लिने व्यवसायीलाई असर गर्ने भएपछि रोकेको स्पष्ट हुन्छ । बोर्डले हाल भएका धितोपत्र दलाल कम्पनीको खर्च वढाएर पनि काम गर्न नदिई त्यसको विपरित नीति लिएको स्पष्ट छ । त्यसमा धितोपत्र बजारका ब्रोकर मात्र नभई लगानीकर्ता तथा सम्बद्ध पक्षहरुले गम्भिर भएर विचार गर्नुपर्ने विषय बनेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।