खानी तथा उत्खनन् उद्योगमा लगानी गर्दा ३ गुणासम्म आम्दानी हुने

0
Shares

नेपालमा अन्य उद्योग धन्दाको तुलनमा खानी तथा उत्खनन् व्यवसायमा लगानी गर्दा उच्च नाफा कमाउन सकिने देखिएको छ । खानी तथा उत्खनन् उद्योगमा एक सय रुपैयाँ लगानी गर्दा ३ सय ७७ रुपैयाँसम्म आम्दानी गर्न सकिने एक अध्ययनले देखाएको हो ।

नाफाका दृष्टिकोणमा उत्पादन मूलक, जलविद्युत तथा अन्य विविध कम्पनीमा लगानी गर्दा भन्दा खानी तथा उत्खनन् उपयुक्त देखिएको हो । नेपालमा यस्त कम्पनीहरुको संख्या ३ सय ५६ वटा रहेको छ ।

लगानी र आम्दानीलाई हेर्दा पानी आपुर्ति तथा फोहोर व्यवस्थापन तथा प्रशोधन उद्योगबाट पनि प्रयाप्त आम्दानी हुने गरेको देखिएको छ । यो क्षेत्रमा एक सय रुपैयाँ लगानी गर्दा एक सय ८५ रुपैयाँ आम्दानी हुने गरेको छ । प्रतिफल वा लगानी मार्जिनका हिसाबमा यो दोस्रो धेरै आम्दानी हुने क्षेत्र हो ।

तर, सबैभन्दा धेरै खपत हुने तथा मानविय जिवनमा दैनिक प्रयोगमा आउने उत्पादन मूलक क्षेत्रमा गरिएको लगानीमा हुने आम्दानी सबैभन्दा थोरै रहेको छ । यो क्षेत्रमा एक सय रुपैयाँ लगानी गर्दा एक सय ३८ रुपैयाँ मात्र आम्दानी गर्न सकिने अध्ययनले देखाएको छ ।

केन्द्रिय तथ्याङक विभागले गरेको २०७६ को राष्ट्रिय औद्योगिक सर्वेक्षण अनुसार ठूला भन्दा पनि साना उत्पादन मुलक उद्योगमा लगानी गर्दा आम्दानी धेरै हुने देखिएको छ । विभागका अनुसार ठूला उत्पादन मूलक उद्योगमा एकसय रुपैयाँ लगानी गर्दा एक सय ३८ रुपैयाँ आम्दानी हुने अवस्था छ भने साना उद्योगमा सोही रकम लगानी गर्दा एक सय ४० रुपैयाँ आम्दानी हुने गरेको छ ।

विभागका अनुसार विद्युत, ग्याँस, बाफ तथा बातानुकूलित सेवामा लगानी गर्दा ठिक ठाक आम्दानी हुने जनाएको छ । यो क्षेत्रमा उद्योगमा एक सय रुपैयाँ लगानी गर्दा एक सय ४७ रुपैयाँ आम्दानी हुने विभागको अध्ययनले देखाएको छ । समग्रमा नेपालका उद्योगधन्दामा एक सय रुपैयाँ लगानी गर्दा औसतमा एक सय ४२ रुपैयाँ आम्दानी हुने विभागको अध्ययनले देखाएको छ ।

विभागले अध्ययन गर्दा कुल ६० हजार एक सय ८५ उद्योगहरु सञ्चालनमा रहेका छन् । ति मध्ये खानी तथा उत्खनन् क्षेत्रमा ३५६, उत्पादन क्षेत्रमा ५६ हजार ६ सय ११, विद्युत ग्यास बाफ तथा बातानुकुलित सेवा क्षेत्रमा ९ सय ९४ र पानीको आपूर्ति, ढलनिकास फोहोर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापहरुका क्षेत्रमा २ हजार २ सय २४ कम्पनीहरु रहेका छन ।

२०७६ सालमा नेपालमा सञ्चालनमा रहेका कुल उद्योग मध्ये ५५ हजार एक सय ६८ कम्पनी साना कम्पनीको रुपमा रहेका छन भने ५ हजार १७ ठूला कम्पनीहरु रहेका छन् । विभागले साना र ठूला कम्पनीको विभाजन गर्दा १० जना भन्दा धेरै कर्मचारी भएको उद्योगलाई ठूलो र त्यो भन्दा कम कर्मचारी रहेको उद्योगलाई सानाको रुपमा वर्गिकरण गरेको छ ।

तर, सञ्चालनमा रहेका साना उत्पादनमूलक कम्पनीमा बैंक/वित्तीय संस्थाको ऋण लगानीको पहुँच भने देखिदैन् । साना तथा मझौला उद्योगमा कर्जा लगानी विस्तार गर्ने लक्ष्य लिएको नेपाल राष्ट्र बैंकले यसलाई गम्भिर रुपमा लिनुपर्ने देखिन्छ । हाल सञ्चालनमा रहेका कुल साना उत्पादनमुलक कम्पनी मध्ये ६० प्रतिशत बैंक ऋणबाट बञ्चित छन् । त्यसैगरी ऋण पाउने उद्योगको प्रतिशत ३४ रहेको छ भने एक प्रतिशतको कर्जा स्विकृत भैसकेको देखिन्छ । बाँकी रहेका ५ प्रतिशत उद्योग कर्जा लिने प्रक्रियामा रहेको अध्ययनले देखाएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।