बैंकिङ्ग प्रणालीको निक्षेप ५१ खर्ब नाघ्यो, सिडी रेसियो ८७ प्रतिशत कायम

0
Shares

बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप ५१ खर्ब रुपैयाँ नाघेको छ । केन्द्रीय बैंकका अनुसार असार २६ गते आइतबारसम्म प्रणालीमा निक्षेप ५१ खर्ब ८ अर्ब रुपैयाँ पुगेको हो । जसमध्ये वाणिज्य बैंकहरुमा मात्रै ४५ खर्ब १३ अर्ब रुपैयाँ सञ्चित छ भने विकास बैंक र फाइनान्स कम्पनीहरुमा ५ खर्ब ९६ अर्ब रुपैयाँ रहेको छ ।

सरकारले आर्थिक वर्षको अन्तयमा विकास निर्माणको भुक्तानीलाई तीव्रता दिँदा बैंकहरुमा निक्षेप थपिएको हो । जसले गर्दा पछिल्लो चार दिनमा मात्रै समग्र प्रणालीमा ४७ अर्ब रुपैयाँले निक्षेप थपिएको हो ।

असार २२ गते बुधबारसम्म समग्र प्रणालीमा ५० खर्ब ६१ अर्ब रुपैयाँ निक्षेप संकलन रहेको थियो । शनिबारको तुलनामा आइतबार मात्रै प्रणालीमा १० अर्ब रुपैयाँ थपिएको छ ।

आर्थिक वर्ष सकिन ६ दिन बाँकी रहँदा समग्र बैंकिङ्ग प्रणालीमा थपिएको निक्षेपका कारण बैंकहरुको कर्जा निक्षेप अनुपात (सिडी रेसियो) पनि घटेर ८७ प्रतिशत कायम भएको छ । आइतबारसम्ममा सिडी ८७.१४ प्रतिशतमा झरेको नेपाल राष्ट्र बैंकको तथ्याङ्क छ । असार २२ गते बुधबार बैंकहरुको सिडी रेसियो ८८.०६ प्रतिशत रहेको थियो ।

सरकारी खर्च बढ्दा बैंकहरुलाई असार मसान्तभित्र सिडी रेसियो ९० प्रतिशतको सीमाभित्र ल्याउन सहज हुने भएको छ । अर्कोतर्फ बैंकहरुले ऋण असुली गर्दा कर्जा घटेको छ । असार २६ गते आइतबारसम्म कुल कर्जा लगानी रकम ४६ खर्ब ९४ अर्ब रुपैयाँ रहेको छ । शनिबारको तुलनामा आइतबार ३ अर्ब रुपैयाँले कर्जा लगानी घटेको हो । यस अवधिमा वाणिज्य बैंकहरुको लगानीमा रहेको कर्जा ४१ खर्ब ६४ अर्ब र विकास बैंक तथा फाइनान्स कम्पनीहरुको लगानीमा रहेको कर्जा ५ खर्ब ३० अर्ब रुपैयाँ रहेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार आइतबारसम्म वाणिज्य बैंकहरुको निक्षेप मात्रै ४५ खर्ब १३ अर्ब रुपैयाँ पुगेको हो । शनिबारसम्ममा वाणिज्य बैंकहरुमा ४५ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप रहेकोमा १० अर्बले बढेको हो । आइतबार विकास बैंक तथा फाइनान्स कम्पनीहरुमा १ अर्बले निक्षेप बढेर ५ खर्ब ९६ अर्ब रुपैयाँ पुगेको छ । असार २२ गते बुधबारसम्म विकास बैंक र फाइनान्सहरुको कुल निक्षेप संकलन ५ खर्ब ९२ अर्ब थियो ।

वाणिज्य बैंकहरुको कर्जा लगानी पछिल्लो चार दिनमा १२ अर्ब रुपैयाँले घटेको छ । असार २२ गते बुधबार वाणिज्य बैंकहरुको लगानीमा रहेको कर्जा ४१ खर्ब ७६ अर्ब रुपैयाँ रहेकोमा २६ गते आइपुग्दा ४१ खर्ब ६४ अर्ब रुपैयाँमा झरेको छ । यस्तै विकास बैंक र फाइनान्समा १ अर्बले कर्जा लगानी घटेको छ ।

सरकारी खर्चको लेखा राख्ने महालेखा नियन्त्रकको कार्यालयका अनुसार असार २६ गते आइतबारसम्म पुँजीगत शीर्षकमा कुल विनियोजित बजेटको ५०.१७ प्रतिशत अर्थात १ खर्ब ८९ अर्ब ६९ लाख ३१ हजार रुपैयाँ खर्च भएको छ । यो शीर्षकमा ३ खर्ब ७८ अर्ब ९ करोड ७७ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो।

चालु तथा पुँजीगत गरी कुल ७५.८२ प्रतिशत (१२ खर्ब ३९ अर्ब ९४ करोड ५९ लाख रुपैयाँ) खर्च गरेको छ । जसमा चालु खर्च मात्रै ८९.०५ प्रतिशत अर्थात ९ खर्ब ४८ अर्ब ६४ करोड ६६ लाख रुपैयाँ छ । वित्तीय व्यवस्थातर्फ कुल विनियोजित बजेटको ५२.५८ प्रतिशत अर्थात ९९ अर्ब ६० करोड ६२ लाख खर्च भएको छ ।

सरकारले आइतबारसम्म लक्ष्यको ८५ प्रतिशत (१० खर्ब ३ अर्ब ५६ करोड ४४ लाख रुपैयाँ) राजश्व संकलन गरेको छ । चालु आवमा राजश्वबाट सरकारले ११ खर्ब ८० अर्ब ६० करोड ४ लाख संकलन गर्ने लक्ष्य राखेको थियो । यस अवधिमा सरकारले १३ अर्ब ८८ करोड ८३ लाख रुपैयाँ अनुदान पाएको छ । जुन लक्ष्यको २३.१७ प्रतिशत हो । चालु आवमा ५९ अर्ब ९१ करोड ९९ लाख रुपैयाँ अनुदान प्राप्त गर्ने सरकारी लक्ष्य थियो । यस्तै अन्य स्रोतबाट सरकारले ४६ अर्ब ६४ करोड २ लाख रुपैयाँ प्राप्त गरेको छ ।

सरकारले चालु आर्थिक वर्षमा १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।