विपन्न, सहुलियतपूर्ण र पुनरकर्जा पनि बागमती प्रदेश केन्द्रित

0
Shares

बैंकहरुबाट प्रवाह हुने औद्योगिक कर्जा मात्र नभई विशेष खालका कर्जा पनि बागमती प्रदेशनमा नै केन्द्रित भएको देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार तुलनात्मक रुपमा आर्थिक गतिविधि धेरै हुने र बैंकहरु पनि यहि प्रदेशमा केन्द्रित हुँदा विभिन्न शीर्षकका कर्जाहरुको ठूलो हिस्सा बागमती प्रदेशमा नै केन्द्रित भएको हो ।

नेपाल राष्ट्र बैंकको अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन अनुसार व्यवसायिक, विपन्न वर्ग, सहुलियतपूर्ण र पुनरकर्जामा बागमती प्रदेशको हिस्सा सबैभन्दा धेरै देखिएको हो । प्रदेश अनुसार बैंक तथा वित्तिय संस्थाहरुबाट भएको लगानीका आधारमा औद्योगिक कर्जामध्ये बागमती प्रदेशमा सबैभन्दा बढी ९ खर्ब ७३ अर्ब १३ करोड र कर्णाली प्रदेशमा सबैभन्दा कम ४ अर्ब ८५ करोड रुपैयाँ कर्जा प्रबाह भएको छ ।

विसं २०७८ असार मसान्तको तुलनामा २०७८ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा ५.५ प्रतिशतले वृद्धि भई १४ खर्ब ४३ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा ७.३ प्रतिशतले बढेको थियो । कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश ३१ प्रतिशत रहेको छ ।

त्यसैगरी चालु आवको पुसम्ममा १ खर्ब २४ अर्ब ९० करोड रुपैयाँ पुनरकर्जा बक्यौता रहेको केन्द्रीय बैंकले जनाएको छ । कुल पुनरकर्जा उपयोगमा बागमती प्रदेशको अंश सबैभन्दा बढी ४२.६० प्रतिशत रहेको छ भने कर्णाली प्रदेशको अंश सबैभन्दा कम २.३० प्रतिशत रहेको छ ।

विसं २०७८ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित विपन्न वर्ग कर्जा २०७८ असार मसान्तको तुलनामा १९.२० प्रतिशतले वृद्धि भई ३ खर्ब ३५ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा २३.२० प्रतिशतले वृद्धि भएको थियो । कुल विपन्न वर्ग कर्जामा प्रदेश नं. १ मा प्रवाहित कर्जाको अंश १४.२० प्रतिशत, मधेश प्रदेशको अंश ८.४० प्रतिशत, बागमती प्रदेशको अंश ४५.१० प्रतिशत, गण्डकी प्रदेशको अंश १२.५० प्रतिशत, लुम्बिनी प्रदेशको अंश १४.१० प्रतिशत, कर्णाली प्रदेशको अंश १.९० प्रतिशत र सुदूरपश्चिम प्रदेशको अंश ३.७० प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

२०७८ पुस मसान्तसम्ममा १ लाख ४० हजार ५२१ ऋणीको २ खर्ब १३ अर्ब ५८ करोड रुपैयाँ सहुलियतपुर्ण कर्जा बक्यौता रहेको छ । बक्यौता रहेको कुल सहुलियतपूर्ण कर्जामा प्रदेश नं. १ को अंश १५.२० प्रतिशत, मधेश प्रदेशको अंश २१.१० प्रतिशत, बागमती प्रदेशको अंश ३०.६० प्रतिशत, गण्डकी प्रदेशको अंश १३.१० प्रतिशत, लुम्बिनी प्रदेशको अंश १४.३० प्रतिशत, कर्णाली प्रदेशको अंश १.३० प्रतिशत र सुदूरपश्चिम प्रदेशको अंश ४.३० प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।

अध्ययन प्रतिवेदन अनुसार पुससम्ममा खाद्य तथा अन्य बालीको उत्पादन ३.३० प्रतिशतले घटेको छ । यस्ता बालीले ढाकेको भू-क्षेत्र भने ०.४० प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ । तरकारी तथा बागबानी उत्पादन १.७० प्रतिशतले घटेको छ भने फलफूल तथा मसलाको उत्पादनमा भने ३.८० प्रतिशतले वृद्धि भएको छ । वनजन्य उत्पादन अन्तर्गत काठ उत्पादन २३.७० प्रतिशतले बढेको छ भने औषधिजन्य वस्तुको उत्पादन १२.२० प्रतिशतले घटेको छ ।

चालु आवको पुससम्ममा उद्योगको क्षमता उपयोग औसतमा ४८.३० प्रतिशत रहेको छ । विसं २०७८ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जामा औद्योगिक क्षेत्रमा प्रवाह भएको कर्जाको अंश ३१ प्रतिशत छ ।

चालु आवको पुससम्ममा अवधिमा पर्यटक आगमन संख्या ९८ हजार ७६८ रहेको छ । घरजग्गा रजिष्ट्रेशन संख्या ०.४५ प्रतिशतले वृद्धि भएको केन्द्रीय बैंकले जनाएको छ । रजिष्ट्रेशनबाट प्राप्त हुने राजस्व २९ अर्ब ८५ करोड पुगेको छ । घर भवन स्थायी नक्सा पास संख्या भने ०.१२ प्रतिशतले घटेको देखिन्छ ।

विसं २०७८ असार मसान्तको तुलनामा २०७८ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप ३.४० प्रतिशतले र कर्जा प्रवाह ११.८० प्रतिशतले वृद्धि भएको छ । बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप र कर्जामा बागमती प्रदेशको अंश ६८.८० प्रतिशत र ५५.८० प्रतिशत रहेको छ । निक्षेप र कर्जामा कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम १.० प्रतिशत र १.२० प्रतिशत रहेको छ ।

पुससम्ममा विद्युत जडित क्षमता २ हजार २०५ मेगावाट पुगेको छ भने ५ हजार ७७२ गिगावाट घण्टा बराबर विद्युत खपत भएको छ । नेपालमा उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवाको संख्या २० रहेको छ । सबै मौसममा सञ्चालनमा रहने विमानस्थलको संख्या ३४ रहेको छ ।

आर्थिक बर्ष २०७८/७९ को फागुनसम्ममा कालोपत्रे सडक १६ हजार ९३९ किलोमिटर, ग्राभेल ८ हजार १११ किलोमिटर र कच्ची सडक ८ हजार ८२१ किलोमिटर गरी कुल सडकको लम्बाई ३३ हजार ८७१ किलोमिटर पुगेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।