बैंकहरुद्धारा गत आर्थिक वर्षमा पौने ९२ खर्ब एसएलएफ उपयोग, जेठमा सबैभन्दा धेरै

0
Shares

बैंक तथा वित्तीय संस्थाहरुद्धारा गत आर्थिक वर्ष २०७८।७९ मा ९१ खर्ब ७० अर्ब १० करोड ६१ लाख १० हजार रुपैयाँ स्थायी तरलता सुविधा (एसएलएफ) को उपयोग गरेका छन् ।

बैंकिङ्ग प्रणालीमा रहेको कर्जाको माग र स्रोत बीचको खाडल पुर्नका लागि बैंकहरुले ४ हजार ९०८ पटकमा उक्त रकम बराबरको स्थायी तरलता सुविधा (एसएलएफ) को रकम उठाएका हुन् । बैंकिङ्ग प्रणालीमा रहेको ३०० अर्बभन्दा बढीको अन्तर समायोजन गर्नका लागि ठूलो परिमाणमा एसएलएफ उपयोग भएको हो ।

बैंकहरुले आर्थिक वर्ष २०७७।७८ मा १६८ पटकमा ३ खर्ब ७० अर्ब ३४ करोड रुपैयाँ एसएलएफ नेपाल राष्ट्र बैंकसँग सापटी लिएर चलाएका थिए । एसएलएफको उपयोग एक वर्षको समीक्षा अवधिमा नै ८७ खर्ब ९९ अर्ब ७६ करोडअर्थात ९५.९५ प्रतिशतले बढेको हो । आव २०७६।७७ मा यस्तो सापटी उपयोग १ खर्ब ३ अर्ब २८ करोड ३० लाख रुपैयाँ थियो । उक्त वर्ष ८६ वटा संख्याबाट सो रकम बैंकहरुले सापटीको रुपमा चलाएका थिए ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुले २०७९ जेठ महिनामा वर्षकै सबैभन्दा धेरै ११ खर्ब ६० अर्ब २० करोड रुपैयाँ एसएलएफ उपयोग गरेका छन् । उक्त महिनामा बैंकहरुले नेपाल राष्ट्र बैंकबाट ६०३ वटा संख्याको मागबाट उक्त रकम लिएका हुन् ।

सबैभन्दा कम एसएलएफ २०७८ साउनमा उपयोग भएको छ । यो महिनामा बैंकहरुले २४ वटा संख्याबाट ५५ अर्ब ५५ करोड रुपैयाँ एसएलएफ उठाएको नेपाल राष्ट्र बैंकको तथ्याङ्क छ ।

जेठपछि धेरै स्थायी तरलता सुविधा (एसएलएफ) उपयोग भएको महिनाहरुमा २०७८ चैत, २०७९ बैशाख, २०७९ असार र २०७८ फागुन रहेको छ । चैत, बैशाख र असारमा बैंकहरुले १० खर्ब बढी एसएलएफ उपयोग गरेका छन् । पाँचौ ठूलो एफएलएफ उपयोग भएको महिना फागुनमा ९ खर्ब ५ अर्ब ५९ करोड रुपैयाँ उपयोग भएको छ ।

गत आर्थिक वर्षको सुरुवाती महिना साउनमा त्यति अभाव नभएपनि दोस्रो महिनादेखि नै बैंकिङ्ग प्रणालीमा लगानीयोग्य तरलता अभाव खड्किएको थियो । नेपाल राष्ट्र बैंकका अनुसार साउनमा ५५ अर्ब ५५ करोड उपयोग भएको एसएलएफ भदौ महिनामा नै २ खर्ब ९६ करोड ७४ लाख पुगेको थियो । यस्तै क्रमशः बढ्दै असोजमा ४ खर्ब ७० अर्ब, कार्तिकमा ७ खर्ब २४ अर्ब र मंसिरमा ८ खर्ब ५९ अर्ब बढीको उपयोग भएको थियो ।

बैंकिङ्ग प्रणालीमा तरलता रकम अभाव देखिएपछि चालु आर्थिक वर्ष २०७८।७९ को अन्तिम दिन अर्थात असार ३१ गते शुक्रबारसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले एसएलएफको उपयोग गरिरहेका हुन् । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम असार मसान्तभित्र ९० प्रतिशत कर्जा पुँजी निक्षेप (सिडी) अनुपात कायम गनुपर्ने बाध्यतामा रहेका बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्षको अन्तिम दिन असार ३१ गते शुक्रबार मात्रै ३० पटक गरेर ५३ अर्ब ७९ करोड रुपैयाँ एसएलएफ उपयोग गरेका थिए ।

बैंक तथा वित्तीय संस्थाले सरकारी ऋणपत्रमा गरेको कुल लगानीको ९० प्रतिशतसम्म राष्ट्र बैंकबाट एसएलएफ सुविधा लिन पाउँछन् । एसएलएफ बढीमा एक साताका लागि मात्र पाइने सापटी हो । तर आफ्नो सीमा पूरा नहुँदासम्म हरेक साता एसएलएफ नवीकरण गर्न पाइन्छ । यसकारण ९० प्रतिशत सीमा नपुगेका बैंकहरूले हरेक साता एसएलएफ नवीकरण गर्दै आएका छन् । ब्याजदर पनि ७ प्रतिशत मात्र तिरे पुग्ने र हरेक साता नवीकरण गर्न पाइने भएपछि स्रोत अभावका कारण बैंकहरूले अल्पकालीन सापटीको भरमा दीर्घकालका लागि कर्जा प्रवाह गरिरहेका छन् । आर्थिक वर्ष सकिँदा समेत निक्षेप सहज नहुँदा अन्तरबैंक सापटी ब्याजदर ७.०७ प्रतिशत पुगेको छ ।

असार ३१ गते शुक्रबारसम्ममा बैंक तथा वित्तीय संस्थाहरुमा ५१ खर्ब ९ अर्ब रुपैयाँ निक्षेप रहेको छ । असार २२ गते बुधबारसम्ममा ५० खर्ब ६१ अर्ब रुपैयाँ निक्षेप रहेकोमा पछिल्लो ६ दिनमा मात्रै ४८ अर्ब रुपैयाँले थपिएको हो । असार ३१ गते शुक्रबारसम्ममा वाणिज्य बैंकहरुमा ४५ खर्ब ४ अर्ब र विकास बैंक र वित्त कम्पनीमा ६ खर्ब ५ अर्ब रुपैयाँ निक्षेप छ । विकास बैंकहरुमा असार २२ गतेसम्म ५ खर्ब ९२ अर्ब निक्षेप रहेकोमा पछिल्लो ६ दिनमा १३ अर्बले वृद्धि भएको हो ।

यस अवधिमा वाणिज्य बैंकहरुको लगानीमा रहेको कुल कर्जा ४६ खर्ब ७७ अर्ब रहेको छ । असार २२ गते ४७ खर्ब ३ अर्ब कर्जा लगानी थियो । यस अवधिमा विकास बैंक र वित्त कम्पनीमा ५ खर्ब ३० अर्ब कर्जा लगानी गरेका छन् । असार २२ गतेको तुलनामा १ अर्बले कर्जा घटेको हो ।

केन्द्रीय बैंकले आव २०७८/७९ मौद्रिक नीतिमा २०७९ असार मसान्तसम्म बैंकहरुले कर्जा निक्षेप अनुपात ९० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको थियो । अहिले पनि बैंकिङ्ग क्षेत्रको औषत कर्जा निक्षेप अनुपात ८६.४९ प्रतिशत छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।