निक्षेप घटे पनि राष्ट्रिय वाणिज्य बैंक र एनआईसी एशियाले कर्जा बढाए


कर्जा लगानी योग्य रकम अभावमा पनि केही बैंकहरुले कर्जा लगानी विस्तार गरेका छन् । गत आर्थिक वर्षमा राष्ट्रिय वाणिज्य बैंक र एनआईसी एसिया बैंकले निक्षेप घटेको अवस्थामा पनि कर्जा लगानी बढाएका हुन् ।

गत आर्थिक वर्षमा राष्ट्रिय वाणिज्य बैंकको निक्षेप ७ अर्ब ४६ करोड रुपैयाँले घटेको छ । तर, बैंकले सो अवधिमा २८ अर्ब ८९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । त्यसैगरी गत आवमा एनआइसी एशिया बैंकको निक्षेप ५ अर्ब २७ करोड रुपैयाँले घटेको छ । सो अवधिमा बैंकले ३ अर्ब ४० करोड रुपैयाँ मात्र कर्जा लगानी गरेको छ ।

गत आर्थिक वर्षमा एनआइसी एशिया बैंकले अधिक कर्जा लगानी गरेपछि पुँजीकोष अनुपात न्यून भएको थियो । बैंकले प्राथमिक पुँजीबाट ८.५ प्रतिशत पुँजी कोष कायम गर्नु पर्नेमा सो अनुसार नभएपछि नेपाल राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाएको थियो ।

त्यसपछि बैंकले कर्जा प्रवाह घटाउन थालेको हो । त्यति हुँदा पनि बैंकले निक्षेप घटेको अवस्थामा समेत कर्जा लगानीलाई बढाएको देखिएको हो ।

यो अवधिमा राष्ट्रिय वाणिज्य बैंकको कुल निक्षेप २५६ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । २०७९ असार ३२ गतेसम्ममा बैंकले २२८ अर्ब ६५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । त्यसैगरी एनआइसी एसिया बैंकको असार ३२ सम्मको कुल निक्षेप २९४ अर्ब ९८ करोड रहेको छ भने २६८ अर्ब २८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

यो एक वर्षको अवधिमा सबैभन्दा धेरै निक्षेप बढाउने बैंकमा नबिल बैंक रहेको छ । बैंकले २०७८ असार मसान्त देखि २०७९ असार मसान्तसम्ममा १०१ अर्ब ५६ करोड रुपैयाँ निक्षेप बढाएको छ भने १०३ अर्ब ४१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

गत आवमा सबैभन्दा थोरै ३ अर्ब २२ करोड रुपैयाँ मात्र निक्षेप वृद्धि गरेको ग्लोबल आइएमइ बैंकले २९ अर्ब ७१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । सो अवधिमा सबैभन्दा थोरै ९७ करोड रुपैयाँ मात्र कर्जा लगानी गरेको नेपाल इन्भेष्टमेन्ट बैंकले १० अर्ब १६ करोड रुपैयाँले निक्षेप बढाएको छ ।

गत आवको सुरुवाति दिनदेखि नै बैंकहरुमा कर्जा लगानी योग्य रकम तथा तरलता अभावको समस्या सुरु भएको थियो । त्यसमा पनि ब्याजदरमा भएको वृद्धिले पनि बैंकहरुममा कर्जा लगानी योग्य रकम बढ्न सकेन । बैंकहरुले दैनिक सञ्चालन तथा नियामकीय मापदण्ड पूरा गर्नका लागि महंगो दरमा नेपाल राष्ट्र बैंकबाट स्थायी तरलता सुविधा प्रयोग गर्न थालेका थिए ।

गत वर्षको पछिल्लो समयमा बैंकहरुले स्थायी तरलता सुविधा लिएर सरकारी ऋणपत्रमा लगानी गरेर केही फाइदा पनि लिए । त्यति मात्र नभई सोही सुविधा मार्फत लिएको सापटबाट कर्जा लगानी समेत गर्नुपर्ने अवस्था थियो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।