सवा खर्बको ऋणपत्रलाई ‘सीडी’ मा गणना गर्न पाउने व्यवस्थाले बैंकहरुलाई सहज


नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थाले परिचालन गरेको ऋणपत्रलाई २०८० असार मसान्तसम्म कर्जा निक्षेप अनुपातमा गणना गर्न पाउने व्यवस्था गरेको छ । यस अघि २०७८ असार मसान्तसम्मका लागि गरिएको व्यवस्थालाई केन्द्रिय बैंकले निरन्तरता दिएको हो ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत केन्द्रिय बैंकले यस्तो व्यवस्था गरेसँगै बैंक तथा वित्तीय संस्थाले कर्जा निक्षेपको गणनामा ऋणपत्रलाई समेट्न पाउने भएका हुन् । यसले बैंक वित्तीय संस्थालाई कर्जा निक्षेप अनुपात सन्तुलन गर्न सजिलो हुने भएको हो । हालको व्यवस्थाले निरन्तरता पाएसँगै बैंक वित्तीय संस्थाले गत जेठ मसान्तसम्ममा ऋणपत्र मार्फत परिचालन गरेको १ खर्ब २३ अर्ब ७६ करोड रुपैंया रकमलाई निक्षेपका रुपमा गणना गर्न पाउने छन् ।

गत आर्थिक वर्षको ११ महिनाको अवधिमा वाणिज्य बैंक तथा विकास बैंकहरुले सवा ११ अर्बभन्दा बढी रकमको ऋणपत्र निष्काशन गरेको राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७८/७९ को एघार महिनामा ७ वाणिज्य बैंकहरुले १० अर्ब ८८ करोडको र १ विकास बैंकले ४० करोडको गरी कुल ११ अर्ब २८ करोडको ऋणपत्र निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका हुन् ।

अघिल्लो आर्थिक वर्षको तुलनामा बैंक वित्तीय संस्थाले निष्काशन गरेको ऋणपत्रमा झण्डै १४ अर्बले गिरावट आएको हो । अघिल्लो आर्थिक वर्षमा बैंकहरुले २३ अर्ब ३८ करोडको ऋणपत्र जारी गरी वित्तीय स्रोत परिचालन गरेका थिए ।

आर्थिक वर्ष २०७७।७८ मा वित्तीय संस्थाहरुले ३७ अर्ब १० करोडको ऋणपत्र जारी गरेका थिए ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।