बैंकिङ्ग तरलता र ब्याजदरको चाप कायमै रहने, मूल्यवृद्धि नियन्त्रण चुनौतिपूर्ण

0
Shares

नेपाल राष्ट्र बैंकले चालु आवमा पनि बैंकिङ्ग तरलता र ब्याजदरको चाप कायमै रहने बताएको छ । केन्द्रीय बैंकले चालु आवको मौद्रिक नीति सार्वजनिक गर्दै यस आर्थिक वर्ष मूल्यवृद्धि वाञ्छित सीमाभित्र कायम राख्न चुनौतिपूर्ण हुने देखिएको बताएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आन्तरिक उत्पादन तथा मागको स्थिति, आयात–निर्यात तथा विप्रेषण आप्रवाहको वर्तमान प्रवृत्ति, नेपाली मुद्रा अवमूल्यन र आयातीत वस्तुहरुको मूल्य वृद्धि समेतलाई दृष्टिगत गर्दा आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा उल्लेख भएबमोजिमको वैदेशिक अनुदान र बाह्य ऋण परिचालन भएपनि आगामी वर्ष शोधनान्तर सन्तुलन कायम राख्न चुनौतीपूर्ण हुने बताएको छ ।

तसर्थ, विदेशी विनिमय सञ्चिति र बैंकिङ्ग क्षेत्रको तरलताको स्थितिमा चाप पर्न जाने देखिएकोले उपयुक्त स्तरमा विदेशी विनिमय सञ्चिति कायम राख्ने र तरलता व्यवस्थापन गर्ने कार्यबीच सन्तुलन मिलाउनु पर्ने देखिएको राष्ट्र बैंकको भनाई छ ।

आर्थिक वर्ष २०७४/७५ देखि चालु खाता घाटामा रहँदै आएको छ । आर्थिक वर्ष २०७८/७९ मा चालु खाता घाटा अझ बढेर कुल गार्हस्थ्य उत्पादनको १३ प्रतिशत पुग्ने देखिएको छ । चालु खाता लामो समयसम्म क्रमिक रुपमा घाटामा रहनु र यस्तो घाटा बढ्दै जानुले बाह्य क्षेत्र स्थायित्वमा मात्रै नभई समग्र आर्थिक स्थायित्व कायम राख्न र दिगो तथा उच्च आर्थिक वृद्धि हासिल गर्ने दिशामा समेत चुनौती सिर्जना भएको राष्ट्र बैंकको भनाई छ ।

हाल वैदेशिक रोजगारीमा जानेको संख्या र विदेशी पर्यटक आगमनमा सुधार भएपनि चालु खाता तथा शोधनान्तर स्थितिमाथि परेको दबाब केही समयसम्म अझै रहन सक्ने देखिन्छ । आयातमा आधारित अर्थतन्त्रमा अधिक माग विस्तार हुँदा त्यसको प्रत्यक्ष असर विनिमयदर र ब्याजदरमाथि पर्न जाने हुन्छ ।

नेपालको संरचनात्मक विशेषताअनुरुप स्थिर विनिमयदर प्रणाली कायम रहेको अवस्थामा बाह्य क्षेत्रमा देखापरेको दबाबको असरसमेत ब्याजदरमा परेको छ । आन्तरिक उत्पादन र बाह्य क्षेत्रमा दिगो सुधार नआएसम्म बैंकिङ्ग तरलता र ब्याजदरमा परेको चाप कायम नै रहने देखिन्छ ।

हाल विश्वव्यापी रुपमा उपभोग्य वस्तु तथा सेवाको मूल्यमा चापको स्थिति रहेको छ । विश्व बजारमा इन्धन तथा खाद्य वस्तुको मूल्यमा भारी वृद्धि हुनुको साथै कोभिड महामारीले विश्व आपूर्ति व्यवस्थामा ल्याएको अवरोधसमेतका कारण खाद्य तथा गैरखाद्य वस्तुको मूल्य विश्वव्यापी रुपमा बढ्दै गइरहेको छ । भारतमा पनि मूल्यवृद्धि ७ प्रतिशतभन्दा माथि रहेको स्थिति छ ।

यसको असर नेपालमा पनि पर्न गएको छ । इन्धनलगायत आपूर्ति पक्षबाट मूल्यमा पर्न गएको असर केही समय अझै कायमै रहने स्थिति छ । साथै, यसै वर्ष सम्पन्न हुन गईरहेको आम निर्वाचन र तलब वृद्धि तथा सामाजिक सुरक्षाको दायरामा गरिएको विस्तारले आन्तरिक माग बढाउने हुँदा यस आर्थिक वर्ष मूल्यवृद्धि वाञ्छित सीमाभित्र कायम राख्न चुनौतीपूर्ण हुने देखिन्छ।

मौद्रिक नीति २०७८/७९ को तेस्रो त्रैमासिक समीक्षा गर्दाको समयमा देखिएको अन्तर्राष्ट्रिय आर्थिक परिदृश्य यथावतै रहेको छ । रुस–युक्रेन युद्धले अन्तर्राष्ट्रिय आर्थिक वातावरणलाईअनिश्चित बनाएको छ भने मूल्यमा चाप पर्दै गइरहेको छ । फलस्वरुप, सन् २०२२ र सन् २०२३ मा विश्व उत्पादन र व्यापारको विस्तारमा कमी आउने प्रक्षेपण रहेको छ ।

मूल्यमा परेको चाप र कसिलो नीतिगत व्यवस्थाका कारण विकसित तथा उदीयमान मुलुकहरुमा ब्याजदरह थप बढ्नुको साथै विश्व अर्थतन्त्र नै आर्थिक मन्दीमा जान सक्ने अनुमान विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको रहेको छ ।

नेपालमा कोभिड संक्रमण कम हुनुको साथै यस वि?द्धको खोप सहज रुपमा उपलव्ध भएको छ । पर्यटक आगमनमा सुधार आउन थालेको छ । रोजगारीको लागि बाह्य मुलुक जाने नेपालीहरुको संख्या बढेको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भैसकेको छ भने संघीय संसद तथा प्रदेश सभाको चुनाव हुन गइरहेको छ । यसले गर्दा आन्तरिक माग बलियो रहने देखिन्छ ।

साथै, निर्माणाधीन केही जलविद्युत परियोजनाह? सम्पन्न भई करिब ७०० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थप हुने क्रममा रहेको छ । उपर्युक्त पृष्ठभूमि तथा बजेट वक्तव्य २०७९/८० मा समावेश भएका नीतिगत व्यवस्था र कार्यक्रम कार्यान्वयनका अतिरिक्त उद्योगको क्षमता उपयोगसमेत बढ्ने आधारमा आर्थिक वृद्धि औसतभन्दा उच्च रहने देखिन्छ । तथापि, रासायनिक मलको अभाव, बाह्य क्षेत्रमा रहेको दबाब, तरलता संकुचन र मूल्य वृद्धि जस्ता पक्षहरुले अपेक्षित आर्थिक वृद्धि हासिल गर्ने दिशामा भने केही चुनौती सिर्जना गर्ने राष्ट्र बैंकको आँकलन छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।