विश्व अर्थतन्त्र निराश र थप अनिश्चितता तर्फ ढल्किँदै : आइएमएफ

0
Shares

अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले विश्व अर्थतन्त्र निराश र थप अनिश्चितता तर्फ गएको जनाएको छ ।

गत वर्षको तुलनामा सन् २०२२ को विश्व आर्थिक वृद्धि दर ५० प्रतिशतले खुम्चिएर ३.२ प्रतिशत भएको आइएमएफले जुलाई महिनाको वल्र्ड इकोनोमिक आउटलुक अपडेटमा जानकारी दिएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ संक्रमण, चार दशक यताकै उच्च हुन पुगेको मुद्रास्फीति, मुद्रास्फीतिले उदयमान तथा विकसीत अर्थतन्त्रमा निम्त्याएका समस्या, आकाशिएको मूल्यवृद्धि नियन्त्रण गर्न केन्द्रीय बैंकहरुले बढाएको औसत ब्याज दर, विकसीत मुलुकको ब्याज दर उच्च हुँदा त्यसले विकासोन्मुख अर्थतन्त्रमा पारेको प्रभाव, चीनको शून्य कोभिड नीति र यसै नीतिले चिनियाँ अर्थतन्त्र तथा विश्व आपूर्ति श्रृङ्खला अवरोध र रुस–युक्रेन युद्धले सिर्जना गरेको खाद्य संकट तथा इन्धन आपूर्तिमा आएको समस्या जस्ता आवत समस्याहरुका कारण विशव अर्थतन्त्र निराशाजनक र अनिश्चित भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

विभिन्न समस्याहरुबाट गुज्रिरहेको विश्व अर्थतन्त्रको प्रभाव विकसीत मुलुकको कुल ग्रास्थ उत्पादनमा परेको र जीडिपीमा आएको कमी नै विश्व अर्थतन्त्रमा आएको निराशा र अनिश्चितताको सूचक रहेको आइएमएफले जनाएको छ ।

कुल ग्रास्थ उत्पादनमा आएको कमीले विकसीत देशहरुको आर्थिक वृद्धि दरमा गिरावट आएको छ । विश्वको ठूलो अर्थतन्त्र मानिने अमेरिकाको आर्थिक वृद्धि दर सन् २०२२ मा २.३ प्रतिशत प्रक्षेपण गरिएको छ भने गत वर्षको आर्थिक वृद्धि दर ५.७ रहेको थियो । ४० वर्ष यताकै उच्च मुद्रास्फीतिको सामना गरिरहेको अमेरिकाले मूल्यवृद्धि नियन्त्रण गर्न आक्रामक रुपले औसत ब्याज दर बढाउँदा अर्थतन्त्र खुम्चिन पुगेको छ ।

यसैगरी युरो क्षेत्रको सन् २०२२को आर्थिक वृद्धि दर २.६ प्रतिशत रहेको छ । रुस–युक्रेन युद्ध ग्रस्त भएपछि इन्धन तथा खाद्यान्नको मूल्यवृद्धि सामना गरिरहेको युरोपको गत वर्षको आर्थिक वृद्धि दर ५.४ प्रतिशत रहेको थियो ।

यसैगरी रुसको अर्थतन्त्र सन् २०२२मा ६ प्रतिशतले खुम्चिने प्रक्षेपण आइएमएफले गरेको छ । रुसमाथि लगाइएका प्रतिबन्धहरुका कारण युरोपेली क्षेत्रमा थप इन्धन तथा खाद्यान्न अभाव सिर्जना हुने अनुमान छ ।

यसैगरी विश्वको दोस्रो ठूलो अर्थतन्त्र मानिने चीनको यो वर्षको आर्थिक वृद्धि दर ३.३ प्रतिशत प्रक्षेपण गरिएको छ । चीनमा फैलिएको कोभिड–१९ संक्रमण र अवलम्बन गरेको शून्य कोभिड नीतिका कारण यातायात मार्ग तथा बन्दरगाह बन्द हुँदा विभिन्न देशहरु समस्यामा परेका छन् ।

चीनको अर्थतन्त्र गत वर्षको आर्थिक वृद्धि दर ८.१ प्रतिशतबाट खुम्चिएर यस वर्ष ३.३ प्रतिशत हुने अनुमान आइएमएफले गरेको छ । चीनले अपनाएको शून्य कोभिड नीतिका कारण आपूर्ति श्रृङ्खला अवरोध हुन पुगेको छ भने चीनमा रहेका विभिन्न मल्टी नेशनल कम्पनीहरु समस्यामा परेका छन् ।

चीनको आर्थिक वृद्धि दर कमजोर देखिएता पनि भारतको आर्थिक वृद्धि दर बलियो देखिएको छ । गत वर्ष ८.७ रहेको भारतको आर्थिक वृद्धि दर यो वर्ष ७.४ प्रतिशत हुने प्रक्षेपण आइएमएफले गरेको छ ।

सन् २०२२ को विकसीत देशहरुको आर्थिक वृद्धि दर २.५ प्रतिशत अनुमान गरिएको छ भने विकासोन्मुख अर्थतन्त्रहरुको आर्थिक वृद्धि दर ३.६ प्रतिशत प्रक्षेपण गरिएको छ ।

विश्व अर्थतन्त्र खुम्चिएसँगै यसले विश्व अर्थतन्त्रलाई थप समस्यामा पार्ने आइएमएफले प्रतिवेदनमा जनाएको छ । विकसीत मुलुकहरुले औसत ब्याजदर बढाउँदा विकासोन्मुख राष्ट्रहरुले ऋण भुक्तानी गर्न नसक्ने सम्भावना बढ्ने र आर्थिक मन्दी हुने प्रतिवेदनमा उल्लेख छ ।

चीनले अवलम्बन गरेको शून्य कोभिड नीति र लम्बिँदै गरेको रुस–युक्रेन युद्धले खाद्यान्न तथा इन्धनको मूल्य बढाउनुका साथै जलवायु परिवर्तनको उच्च जोखिममा रहेका देशहरुमा खाद्य संकट तथा भोकमरी सिर्जना गर्ने आइएमएफले जनाएको छ । यसैगरी मुद्रास्फीति नियन्त्रणमा केही समय लाग्ने र आर्थिक मन्दी ननिम्त्याइ मूल्यवृद्धि नियन्त्रण गर्न असम्भव रहेको आइएमएफले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।