मुद्रास्फीति नियन्त्रण गर्न फेडले बढायो औसत ब्याज दर

0
Shares

अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले मुद्रास्फीति नियन्त्रण गर्न ०.७५ प्रतिशतले ब्याजदर बढाएको छ ।

जुलाई महिनाको उपभोक्ता मूल्य सूचांक ९.१ प्रतिशत पुगेपछि फेडरल रिजर्भले औसत ब्याजदर बढाएको हो ।

फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले आफूहरु मुद्रास्फीति नियन्त्रणमा कटिबद्ध भई लागिपरेको र मुद्रास्फीतिलाई २ प्रतिशतमा कायम गर्न जस्तोसुकै अवस्थाको सामना गर्न केन्द्रीय बैंक तयार रहेको बताएका छन् ।

फेडले औसत ब्याजदर वृद्धि गरेपछि धीतो राखी ऋण लिनेहरुको सङ्ख्यामा क्रमिक रुपमा कमी आएको छ । औसत ब्याजदरको वृद्धिसँगै अमेरिकी तथा अमेरिकाबाट ऋण लिने अमेरिका बाहिरका कम्पनीहरु समस्यामा परेका छन् ।

उच्च ब्याजदर कायम हुँदा ऋण प्राप्त गर्न समस्या आउने र ऋण नपाएपछि उपभोक्ताहरुले पनि घरजग्गा जस्तो अनुउत्पादक क्षेत्रमा लगानी नगर्ने हुँदा आर्थिक गतिविधिमा कमी आउने भएको छ ।

माग कम हुँदै जानु र आर्थिक गतिविधिमा आएको कमीले यतिबेला अमेरिका आर्थिक मन्दीमा जान्छ जाँदैन भन्ने बहस अन्तराष्ट्रिय संघ सस्थामा भईरहेको छ । फेडले औसत ब्याजदर वृद्धि गरेपछि आर्थिक मन्दी हुने सम्भावना उच्च हुँदै गएको छ ।

कोभिड–१९ ले सिर्जना गरेको माग र आपूर्तिबीचको दूरी रुस–युक्रेन युद्धले थप बढाएको र त्यसैकारण खाद्यान्न तथा इन्धनको मूल्य बढेको फेडले एक विज्ञप्ति मार्फत जनाएको छ । युद्ध लम्बिँदै जाँदा मुद्रास्फीति नियन्त्रणको लागि अपनाएका विधिहरुको प्रभाव कम हुँदै गएको र जनमानस तथा अर्थतन्त्रमा थप समस्या सिर्जना गरेको विज्ञप्तिमा उल्लेख छ ।

मुद्रास्फीति दर वृद्धि भएता पनि श्रम बजार भने स्र्फुत देखिएको छ । बेरोजगारी दर ३.६ प्रतिशत रहेको छ ।

फेडले औसत ब्याजदर बढाएसँगै बेन्चमार्क ब्याजदर २.२५–२.५ प्रतिशत कायम भएको छ । औसत ब्याजदर वृद्धि भएसँगै हरेक त्रैमासमा अमेरिकी अर्थतन्त्र १.४ प्रतिशतले खुम्चिँदै गएको छ । अन्तराष्ट्रिय मुद्रा कोष आइएमएफले अमेरिकाको यो वर्षको आर्थिक वृद्धि दर ३.२ प्रतिशत प्रक्षेपण गरेको छ । त्ष्सैगरी ब्लुमबर्गले हालै गरेको सर्वेले अमेरिकामा आर्थिक मन्दी हुने सम्भावना ४० प्रतिशत रहेको बताएको छ ।

औसत ब्याजदर वृद्धि भएसँगै डलर पुन शक्तिशाली हुन पुगेको छ भने सेयरबजारमा पनि उच्च औसत ब्याजदरले तरङ्ग पैदा गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।