धितोपत्र बोर्डका अध्यक्षको ‘स्मार्टनेस’, सेयर बजारमा नियामकिय प्रविधि कति सम्भव ?

0
Shares


नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले सेयर बजारको नियमन तथा सुपरिवेक्षणका लागि ‘आर्टिफिसियल इन्टिलिजेन्स’ को परिकल्पना गरेका छन् । उनले चालु आर्थिक वर्षको लागि बोर्डको नीति तथा कार्यक्रम मार्फत धितोपत्र बजारलाई पुर्ण प्रविधिमा आधारित बनाउने योजना अघि सारेका हुन ।

बोर्डको अध्यक्ष नियुक्त भएपछि ‘ओपन इन्ट्रि ओपन एक्जिट’ को नीति भन्दै नयाँ धितोपत्र दलाल कम्पनी थप्ने निर्णय गरेर चर्चामा रहेका हमालले धितोपत्र बजारको विकास तथा विस्तार गर्न आएको बताउने गरेका छन् । उनले हाल २ करोड रुपैयाँ रहेको धितोपत्र दलाल कम्पनीको चुक्तापुँजी २०, ६० करोड र धितोपत्र ब्यापारीको पनि काम गर्नेका लागि एक खर्ब ५० करोड तोकेका छन् । यो विषयको टुङगो नलाग्दै उनले अर्को झनै महत्वकाक्षी योजना सार्वजनिक गरेका हुन ।

२ वर्षे कार्यकालका लागि आएका हमालको ५ महिना वितिसकेको छ । बाँकी रहेको १९ महिनामा उनले धितोपत्र बजारमा आर्टिफिसियल इन्टिलिजेन्स मार्फत नियमन तथा सुपरिवेक्षणको व्यवस्था गरिने बताएका छन् ।

अध्यक्षको व्यक्तिगत क्षमता माथि धितोपत्र बजारलाई संङका छैन् । त्यतिमात्र नभई धितोपत्र बोर्डमा नियुक्त भएका अध्यक्षहरुमध्ये सम्भवत हमाल नै कान्छा हुन् । अन्तराष्ट्रिय अभ्यासलाई नजिकबाट हेरेका हमाल युवा अध्यक्ष भएकाले पनि आफ्नो आधुनिक बजारको परिकल्पना गर्नु ठिक नै हो । तर, हाम्रो धितोपत्र बजारमा प्रयोगमा रहेका हालका पुर्वाधार तथा लगानीकर्ताको बजार प्रतिको बुझाई समीक्षा गर्नुपर्ने देखिन्छ ।

हमालले बिहीबार आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रममा धितोपत्र बोर्डको कार्यसम्पादनलाई उच्च प्रविधियुक्त तथा सूचना मैत्री बनाउने उनले बताए । “धितोपत्र बोर्डले विश्वस्तरीय प्रविधि एव प्रविधि सञ्चालनमा चाहिने जनशक्ती तयार गरी बजारको सुपरिवेक्षण प्रणालीलाई आर्टिफिसियल इन्टिलिजेन्स(एआई) मा आधारित नियामकिय प्रविधि मार्फत चुस्त दुरुस्त बनाई बजारका चलखेल एव अनुचित कृयाकलापलाई निरुत्साहन गरिनेछ,” उनले भने,“बुक बिल्डिङ विधिका लागि पनि अटोमेटेड इलेक्ट्रोनिक अक्सन सिस्टम ल्याइने छ ।”

धितोपत्र बजारलाई गाउँगाउँमा पुर्याउने भन्दै गर्दा सेयर बजारमा लगानी गर्ने लगानीकर्ताको सचेतनाको स्तरलाई पनि ध्यान दिनुपर्ने हुन्छ । धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ता अन्य क्षेत्रको तुलनामा धेरै क्षमतावान हुनुपर्ने विषयलाई ध्यान नदिइ गाँउगाँउमा सेयर बजार पु्रयाउने भनिएको छ । यस विषयलाई धितोपत्र बोर्डले विशेष ध्यान दिनुपर्नेमा नीति तथा कार्यक्रममा सामान्य लगानीकर्ता सचेतनाको रेडियो कार्यक्रम सुरु गर्ने मात्र भनिएको छ ।

उनले धितोपत्र बजार एंव व्यवसायीहरुले प्रयोगमा ल्याउने सफटवेयरमा हुनुपर्ने न्यूनतम मापदण्डहरुका सम्बन्धमा स्पष्ट व्यवस्था गर्ने जानकारी दिए । त्यसका साथै बोर्डले चालु आवमा धितोपत्र दलाल कम्पनीको अनुगमन तथा सुपरिवेक्षणका लागि जोखिममा आधारित सुपरिवेक्षण म्यानुअल तयार गरेर लागु गर्ने योजना हमालले सुनाए । लगानीकर्ताका लागि समेत अनलाइन लनिङ प्ल्याटफर्मको सुरुवात गर्ने सम्मको हमालको योजना छ ।

नीति तथा कार्यक्रम अनुसार धितोपत्र बोर्डले आगामी दिनमा भारत र बंगलादेशको धितोपत्र बजारका नियामकहरुसंग दिर्घकालिन रणनीतिक साझेदारी गर्ने भएको छ । वर्षौदेखि अन्योलमा रहेको कमोडिटी मार्केटको सन्दर्भमा मौन जस्तै रहेको बोर्डले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा बस्तु विनिमय बजार संग सम्बन्धित आवश्यक नियमावली तथा विनियमहरु तयार गरी अनुमती समेत दिने उल्लेख गरेको छ ।

धितोपत्र बजारको विकास र विस्तारका लागि चालु आर्थिक वर्षका लागि आएको नीति तथा कार्यक्रमले प्रविधिहरुको विषयलाई प्राथमिकता दिएको छ । तर, बोर्ड अध्यक्षले धितोपत्र बजारलाई पुर्ण प्रविधिमैत्री बनाउने योजना प्रस्तुत गर्दै गर्दा बजारको बर्तमान अवस्थालाई बिर्सेको जस्तो देखिन्छ ।

धितोपत्र बजारलाई अटोमेटेड बनाउन कोरोना महामारीका कारण मात्र सम्भव भएको अवस्थामा अध्यक्षले देखेको धितोपत्र बजार आगामी १९ महिनामा सम्भव देखिँदैन । नीति तथा कायक्रम पनि ब्रोकरको पुँजी वृद्धिको नीति जस्तै चर्चाकै लागि प्रविधिका मात्र कुरा समावेश गरिएका त होइनन ? अध्यक्षको धितोपत्र बजार उच्च प्रविधि युक्त बनाउने महत्वकांक्षी योजना सफल हुने नहुने आगामी दिनले देखाउला ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।