बैंकहरुको स्रोत र कर्जाको अन्तर बढ्दै, दशकमै पहिलो पटक घट्यो निक्षेप र कर्जा


वाणिज्य बैंकहरुको निक्षेप संकलन तथा कर्जा प्रवाहलाई हेर्दा बैंकिङ प्रणाली अस्थिर देखिएको छ । बैंकहरुको पछिल्लो एक दशकमा स्रोत नहुँदा पनि ऋण दिने तथा निक्षेप संकलन र कर्जा लगानीमा अस्वभाविक उतारचढाव देखिएको हो ।

२०७६ चैतपछि बैंकिङ प्रणालीमा निक्षेप केही मात्रामा बढेको देखिएको छ । यसको कारण भनेको कोरोना माहामारीका कारण आर्थिक गतिविधिमा आएको सुस्तता हो ।

पछिल्लो सात वर्षलाई हेर्दा २ वर्ष मात्र बैंकहरुले निक्षेप भन्दा कर्जा लगानी थोरै गरेको अवस्था छ । बाँकी सबै वर्षमा बैंकहरुले निक्षेप भन्दा कर्जा लगानी खर्ब रुपैयाँ भन्दा धेरै गरेका छन् ।

आर्थिक वर्ष २०७२/०७३ देखि २०७८/०८९ सम्मको तथ्याङक हेर्दा आव २०७५/०७६ र २०७६/०७७ मा क्रमश २१ र २१० अर्ब रुपैयाँले कर्जाभन्दा निक्षेप धेरै छ । बाँकी सबै आर्थिक वर्षमा निक्षेप भन्दा कर्जा धेरै छ । गत आर्थिक वर्षमा निक्षेपभन्दा धेरै परिचालन भएको कर्जा सबैभन्दा धेरै हो । उक्त आवमा निक्षेप भन्दा ११४ अर्ब ८ करोड रुपैयाँले अधिक कर्जा प्रबाह भएको छ । अघिल्लो आवमा यस्तो अन्तर १०३ अर्ब रहेको नेपाल बैकर्स संघले जनाएको छ ।

२०७० को दशमा बैंकहरुबाट करिब ३ प्रतिशतदेखि ७ प्रतिशतसम्म कर्जा प्रवाह भएका वर्षहरु पनि छन् । सोही दशकमा ४५ प्रतिशतसम्मले कर्जा घटेको वर्ष समेत छ । तर, यो अवधिमा निक्षेप ४ देखि ५२ प्रतिशसम्मले बढेका वर्षहरु पनि छन् । यो सात वर्षको अवधिमा गत आवमा मात्र निक्षेप वृद्धिदर घटेको छ । सो आवमा बैंकहरुको निक्षेप वृद्धिदर ५२ प्रतिशतले घटेको छ ।

कर्जा तथा निक्षेपलाई मात्र हेरेर बैकिङ क्षेत्रको जोखिम विश्लेषण गर्न नहुने पुर्व बैंकर पर्शुराम कुँवर क्षेत्रीले बताए । “विगतका वर्षको तुलनामा बैंकिङ क्षेत्रको जोखिम बढ्नु स्वभाविक हो,” उनले भने, “त्यसलाई व्यवस्थापन गर्नु पर्ने हुन्छ ।”

बैंकहरुले निक्षेपका आधारमा मात्र भन्दा पनि चुक्ता पुँजी, डिबेञ्चर तथा पुनरकर्जालाई समेत आधारमा राखेर कर्जा लगानी गर्ने भएकाले निक्षेप भन्दा कर्जा धेरै देखिएको उनको बुझाई छ । कर्जा तथा निक्षेपको मात्र उतारचढाव हेर्दा अस्थिर जस्तो देखिने भए पनि वास्तविकता त्यस्तो नहुने उनको भनाई छ ।

आर्थिक वर्ष २०७२/०७३ देखि २०७७/०७८ सम्म बैंकहरुको निक्षेप वृद्धि भैरहेकोमा गत आवमा मात्र बैंकहरुको निक्षेप वृद्धि ३७४ अर्बले घटेको हो । अघिल्लो आवमा बैंकहरुमा ७१४ अर्ब निक्षेप थपिएको थियो । त्यसैगरी अघिल्लो आवमा ८१८ अर्ब कर्जा लगानी गरेका बैंकहरुले गत आवमा ४५४ अर्ब रुपैयाँ मात्र ऋण प्रबाह गरेका छन् ।

बैंकहरुमा पछिल्ला सात वर्षमा वर्षिक रुपमा आएको निक्षेप र गएको कर्जालाई हेर्दा आर्थिक वर्ष २०७६/०७७ मा मात्र बैंकहरुले निक्षेपको तुलनामा कर्जा प्रबाह कम गरेका हुन् । सो आवमा बैंकहरुले निक्षेपको ६५.८६ प्रतिशत मात्र कर्जा लगानी गरेका छन् ।

आर्थिक वर्ष २०७८/७९ मा बैंकहरुको निक्षेप ५२.४१ प्रतिशतले घटेको छ भने कर्जा लगानी पनि ४४.४८ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षमा बैंकहरुले कुल ३४० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन । यो निक्षेप रकम अघिल्लो आवको तुलनामा ५२.४१ प्रतिशतले थोरै हो ।

त्यसैगरी गत आवमा बैंकहरुले ४५४ अर्ब ८ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । यो कर्जा लगानी रकम पनि अघिल्लो आवको तुलनामा ४४.४८ प्रतिशतले थोरै हो । अघिल्लो आवमा बैंकहरुले ८१७ अर्ब ७५ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए ।

हरेक आर्थिक वर्षको अन्तिम महिना अर्थात असारमा सरकारी खर्च तथा भुक्तानी बढ्ने भएकाले बैंकहरुको निक्षेप बढ्ने गरेको छ । तर, गत आवको असार महिनामा १४१ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ भने १८ अर्बले कर्जा घटेको छ । त्यसभन्दा अघिका २ आर्थिक वर्षका असार महिनामा बैंकहरुको निक्षेप संकलन २ खर्ब भन्दा माथि थियो ।

गत असारमा थपिएको निक्षेपको आकार तथा चालु आवको मौद्रिक नीतिलाई आधार मान्ने हो भने यो वर्षको कर्जा तथा निक्षेप गत आवको जति पनि विस्तार हुने देखिँदैन ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।