पुससम्म मर्जरमा जाने बैंकहरुले पनि थप एक वर्ष सहुलियत पाउने

0
Shares

चालु आर्थिक वर्षको पुससम्म मर्जरमा गई एकीकृत कारोबार गर्ने बैंकहरुले थप एक वर्षको सहुलियत पाउने भएका छन । नेपाल राष्ट्र बैंकले मर्जर भई एकीकृत कारोबार गर्ने अवधि गत असारसम्म रहेकोमा थप गरी २०७९ पुस मसान्तसम्म कायम गरेको हो ।

केन्द्रीय बैंकले बुधबार निर्देशन जारी गर्दै २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार संचालन गरेमा विद्यमान सुविधामा थप सहुलियत पाउने व्यवस्था गरेको हो ।

बैंकहरु तोकिएको समय अवधि भित्र एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भएमा काठमाडौं उपत्यका बाहेकका महानगरपालिका र उपमहानगरपालिकामा एकीकृत कारोबार गरेको मितिले १ वर्षसम्म शाखा कार्यालय खोल्न राष्ट्र बैंकको स्वीकृति लिनुनपर्ने व्यवस्था गरेको छ ।

त्यसैगरी मर्जर भई एकीकृत कारोबार गरेका बैंकहरुले काठमाडौं उपत्यका बाहिर तीन वटा शाखा खोली सञ्चालनमा ल्याए पछि एकीकृत कारोबार गरेको मितिले १ वर्षसम्म काठमाडौं उपत्यकामा एक शाखा खोल्न राष्ट्र बैंकको स्वीकृति लिनु नपर्ने भएको छ ।

साथै एक पटकका लागि ६५ वर्ष उमेर नाघेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त/पुनः नियुक्त हुन पनि केन्द्रीय बैंकले छुट दिएको छ ।

२०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा कुल निक्षेपमा सरकारी संस्था एवम् संस्थानहरु, पब्लिक लिमिटेड कम्पनीहरु, बचत तथा ऋण सहकारी संस्था तथा त्यस्ता संस्था एवम् संस्थान मातहत संचालित कोषहरुको निक्षेपको अंश प्रति संस्था १० प्रतिशत बिन्दुले थप गरिने व्यवस्था समेत केन्द्रीय बैंकले थप गरेको छ । प्राथमिक पूँजीको न्यूनतम २५ प्रतिशत बराबर ऋणपत्र जारी गर्नुपर्ने समयावधि समेत एक वर्षसम्म थप गरिने केन्द्रिय बैंकले जनाएको छ ।

थप गरिएका नयाँ सहुलियत बाहेक मर्जरमा गएका वाणिज्य बैंकले एकीकृत कारोबार गर्दा तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्ने अवधि एक वर्ष थप हुने व्यवस्था छ । एकीकृत कारोबार गरेको एक वर्षसम्म अनिवार्य नगद मौज्दातको सीमामा ०.५ प्रतिशत बिन्दुले छुट, एक वर्षसम्म वैधानिक तरलता अनुपातमा १ प्रतिशत बिन्दुले छुट हुनेछ ।

त्यसैगरी यस बैंकबाट तोकिएको प्रति संस्था निक्षेप संकलन सीमामा ५ प्रतिशत बिन्दुले थप गरिने, कुलिङ पिरियडमा छुट दिने व्यवस्था छ । मर्जरमा गइ एकीकृत कारोबार गरेका संस्थाको हकमा कर्जा र निक्षेपको ब्याजदर अन्तरमा १ प्रतिशत बिन्दुले छुट हुने व्यवस्था रहेको छ ।

एकीकृत कारोबार थालनी गर्दा कर्जा निक्षेप अनुपातले सीमा नाघेमा सो नियमित गर्न एक वर्षको समय प्रदान गरिने तथा एकीकृत कारोबार संचालनको क्रममा १ कि.मि. भित्रका शाखा कार्यालयहरु मध्ये कुनै एक शाखा कायम राखी अन्य शाखा गाभ्न वा बन्द गर्न स्वीकृति आवश्यक नपर्ने सहुलियत दिएको छ ।

वाणिज्य बैकको ०.१० प्रतिशत वा सोभन्दा कम सेयर धारण गरेका संस्थापक समूहको सेयरधनीहरुले बिक्री गर्दा फिट एण्ड प्रपर टेस्ट अनिवार्य नहुने समेत मर्जरमा जादा छुट लगायतका सहुलियतहरुको व्यवस्थालाई निरन्तरता दिइएको केन्द्रीय बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।