एक महिनामा १६ अर्ब बराबरको नोट राष्ट्र बैंक फर्क्यो, सरकारको निक्षेप ७० अर्बले बढ्यो

0
Shares

नेपाल राष्ट्र बैंकले बजारमा चलनचल्तिका लागि पठाएका नोटहरु घट्न थालेका छन् । कोरोना महामारीका कारण डिजिटल बैंकिङ कारोबार बढेसँगै चलनचल्तिमा रहेका नोटहरु घटेका हुन् ।

चालु आर्थिक वर्षको साउनमा महिनामा मात्र १६ अर्ब ३७ करोड रुपैयाँ बराबरको चलन चल्तिमा फिर्ता भएका छन् । चलनचल्तिका नोट घट्नु भनेको डिजिटल कारोबारमा आएको वृद्धि नै मुख्य कारण रहेको नेपाल राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए ।

“नेपाल सरकारको कोषको रकम र बैंक वित्तीय संस्थाको निक्षेप बढेको खण्डमा चलन चल्तिका नोटहरु घट्छन्,” ती अधिकारीले भने,“तर, पछिल्लो समयमा चलनचल्तिको नोटमा कमी आउनुको मुख्य कारण भनेको डिजिटल कारोबार हो ।” डिजिटल कारोबारले नगदको प्रयोग घटाएको उनले बताए । उनका अनुसार बजारमा जाँदा नगद बोक्नुपर्नेमा मोबाइल भए प्रयाप्त हुन्छ ।

नेपाल राष्ट्र बैंकका अनुसार असार अन्तिसम्ममा ६ खर्ब १६ अर्ब ३५ करोड १० लाख रुपैयाँ बराबरको नोटहरु चलनचल्तिमा रहेका थिए । तर, चालु आर्थिक वर्षको साउन मसान्तसम्ममा त्यो घटेर ५ खर्ब ९९ अर्ब ९७ करोड रुपैयाँ बराबरका नोटहरु मात्र चलनचल्तिमा रहेको केन्द्रीय बैंकले जनाएको छ ।

२०७८ गत कात्तिक १ गते हालसम्मकै उच्च ७ खर्ब २८ अर्ब रुपैयाँ बराबरको नोट चलनचल्तिमा थिए । कात्तिक देखि साउनसम्मको तथ्याङ्कलाई हेर्दा पनि चलन चल्तिमा रहेका १ खर्ब २९ अर्ब रुपैयाँ बराबरका नोटहरु घटेको स्पष्ट हुन्छ । दशैं र तिहारमा करिब ४० देखि ५० अर्ब रुपैयाँ बराबरका नोट सर्कुलेसन बढ्ने गर्छ ।

चालु आर्थिक वर्षको साउन महिनामा बैंक वित्तीय संस्थाहरुबाट करिब एक खर्ब २० अर्ब रुपैयाँ निक्षेप बाहिरएिको छ । यो अवधिमा वाणिज्य बैंकहरुबाट मात्रै १०८ अर्ब निक्षेप घटेको छ ।

त्यसैगरी साउन महिनामा नेपाल राष्ट्र बैंकमा भएको सरकारको खातामा साढे ६९ अर्ब थपिएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा २ खर्ब २५ अर्ब ५० करोड रुपैयाँ सरकारको निक्षेप रहेकोमा साउन महिनामा बढेर २ खर्ब ९५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । केन्द्रीय बैंकमा रहेको सरकारको निक्षेप खातामा साउन महिनामा बैंक वित्तीय संस्थाबाट बाहिरिएको रकमको करिब आधा मात्र थपिएको छ ।

साउनको महिनामा केन्द्रीय बैंकको लगानीमा भने कमी आएको छ । यो अवधिमा राष्ट्र बैंकको लगानी एक अर्ब भन्दा धेरैले घटेको छ । असार मसान्तसम्ममा ७ खर्ब ४५ अर्ब ५७ करोड लगानी रहेको केन्द्रीय बैंकको साउन मसान्तसम्ममा आइपुग्दा सामान्य घटेर ७ खर्ब ४४ अर्ब ५४ करोडमा झरेको छ ।

सरकारी खातामा थपिएको र बैंकहरुबाट बाहिरीएको निक्षेपलाई हेर्दा चलन चल्तिका नोटमा गिरावट आउनुको कारण बढेको डिजिटल कारोबार नै देखिन्छ ।

पछिल्लो समयमा बढेको डिजिटल बैंकिङ कारोबारले विश्वभरी केन्द्रीय बैंकहरुले डिजिटल करेन्सीको विषयमा समेत काम गर्दे आएका छन । डिजिटल करेन्सी प्रयोगमा आएको खण्डमा नोटको प्रयोग उल्लेख्य कमी आउने निश्चित छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।