सरकारले डेढ महिनामा साढे ५१ अर्ब बजेट खर्च गर्दा विकास खर्च ३ अर्ब मात्रै

0
Shares

सरकारले चालु आर्थिक वर्षको पहिलो डेढ महिनामा ११६ अर्ब रकम आम्दानी गरेर साढे ५१ अर्ब रुपैयाँ खर्च गरेको छ । यसअवधिमा सरकारले ३ अर्ब मात्र विकास खर्च गरेकोे छ ।

आर्थिक वर्ष सुरु भएपछि ४५ दिनमा सरकारले १ खर्ब १६ अर्ब ६१ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको छ भने यस अवधिमा ५१ अर्ब ५९ करोड २ लाख रुपैयाँ खर्च गरको छ ।

चालु आर्थिक वर्षको भदौ १५ गतेसम्म सरकारले एक खर्ब ३ अर्ब १३ करोड ६५ लाख रुपैयाँ राजश्व आम्दानी गरेको छ । सरकारले यसअवधिमा कर राजश्वतर्फ ९२ अर्ब ६५ करोड २६ लाख तथा गैरकर राजश्वतर्फ १० अर्ब ४८ करोड ३९ लाख रुपैयाँ आम्दानी गरेको छ । भदौ १५ सम्म सरकारले अन्य शिर्षकमा १२ अर्ब ६८ करोड ६८ लाख रुपैयाँ आम्दानी गरेको छ भने ७९ करोड ३० लाख रुपैयाँ अनुदान प्राप्त गरेको छ ।

चालु आवमा सरकारले १४ खर्ब ५८ अर्ब ६० करोड ५३ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य छ । डेढ महिनमा सरकारले लक्ष्यको ८ प्रतिशत आम्दानी गरेको हो। यसअवधिमा सरकारले लक्ष्यको ७ प्रतिशत माथि कर तथा गैरकर राजश्व संकलन गरेको छ ।

यस्तै सरकारले चालु आवको ४५ दिन अर्थात भदौ १५ गतेसम्ममा ५१ अर्ब ५९ करोड २ लाख रुपैयाँ बजेट खर्च गरको छ । सरकारले चालु तर्फ ३१ अर्ब ४० करोड ६६ लाख, पूँजीगततर्फ ३ अर्ब १ करोड ४८ लाख रुपैयाँ तथा वित्तीय व्यवस्थापनतर्फ १७ अर्ब १६ करोड ८८ लाख रुपैयाँ खर्च गरेको छ । सरकारले ट्रेजरी विल्सको सावा फिर्ता गरेकाले वित्तीय व्यवस्थापनतर्फको खर्च उच्च भएको हो ।

सरकारले डेढ महिनाको अवधिमा कुल बजेटको २.६५ प्रतिशत चालुखर्च, ०.७९ प्रतिशत पूँजीगत तथा वित्तीय व्यवस्थापनतर्फ ७.४६ प्रतिशत रकम खर्च गरेको छ। सरकारले चालु आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड विनियोजन गरेको छ ।

चालु आवको कुल विनियोजनमध्ये चालुतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड अर्थात ४२ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड अर्थात् २१।२ प्रतिशत, वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २२ करोड अर्थात् १२।८ प्रतिशत र प्रदेश तथा स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ ४ खर्ब २९ अर्ब ८३ करोड अर्थात २४ प्रतिशत रहेको छ।

यस्तै सरकारले चालु आवका लागि खर्च व्यहोर्ने स्रोत मध्ये राजस्वबाट १२ खर्ब ४० अर्ब ११ करोड र वैदेशिक अनुदानबाट ५५ अर्ब ४६ करोड जुटाउने जनाएको छ । खर्च व्योहोर्ने स्रोत ४ खर्ब ९८ अर्ब २६ करोड न्यून रहेकाले वैदेशिक ऋणबाट २ खर्ब ४२ अर्ब २६ करोड तथा २ खर्ब ५६ अर्ब आन्तरिक ऋणबाट व्यहोरिने बजेटमा उल्लेख छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।