डलर बिक्री गरेर किन्ने भारुको वृद्धिदर ११ प्रतिशतमा झर्यो

0
Shares

सरकारले आयातमा कडाई गरेसंगै डलर बिक्री गरेर भारु खरिद वृद्धिदरमा कमी आएको छ । आर्थिक वर्ष २०७७/०७८ मा केन्द्रीय बैंकले २१ प्रतिशतले बढी भारु खरिद गरेकोमा गत आवमा त्यो दर घटेर ११ प्रतिशतमा खुम्चिएको हो ।

केन्द्रीय बैंकले आर्थिक वर्ष २०७६/०७७ को तुलनामा आव २०७७/७८ मा २१ प्रतिशतले धेरै भारु खरिद गरेको थियो । केन्द्रीय बैंकले आव २०७६/०७७ मा ३ अर्ब ८२ करोड अमेरिकी डलर बिक्री गरेर २७६ अर्ब ३३ करोड भारु खरिद गरेको थियो ।

तर, आयातमा उच्च वृद्धि भएपछि आव २०७७/०७८ मा केन्द्रीय बैंकले ४ अर्ब ५४ करोड अमेरिकीडलर बिक्री गरी ३३४ अर्ब ५१ करोड भारु खरिद गरेको थियो । यो आर्थिक वर्षमा आयात २८.७ प्रतिशतले बढेको थियो ।

गत आवमा केन्द्रीय बैंकले ४ अर्ब ९१ करोड ५२ लाख अमेरिकी डलर बिक्री गरेर ३७२ अर्ब एक करोड भारतीय रुपैयाँ खरिद गरेको छ । यो रकम आर्थिक वर्ष २०७७/०७८ को तुलनामा ११.२१ प्रतिशतले धेरै हो । राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/०७८ मा ३३४ अर्ब ५१ करोड भारु खरिद गरेको थियो ।

नेपालको अन्तराष्ट्रिय व्यापारमा भारतको हिस्सा करिब ६४ प्रतिशत रहेको छ । त्यसैले पनि आयातका भएका बस्तु तथा सेवाका आधारमा डलर बिक्री गरी भारु गरिद गर्ने क्रम घटबढ हुने गर्छ । आर्थिक वर्ष २०७५/०७६ मा भने डलर बिक्री गरेर खरिद गरीने भारु घटेको थियो । यो आवमा भारुको खरिद करिब ४ प्रतिशतले घटेको थियो ।

अघिल्लो आर्थिक वर्षको उच्च आयातका कारण विदेशी विनियम सञ्चिति घट्न थालेपछि सरकारले करिब दर्जन बस्तुहरुको आयातमा पुर्ण प्रतिवन्ध लगायो । सरकारले महंगा गाडी, १५० सीसी क्षमता भन्दा माथिका मोटर साइकल, मदिरा र मोवाईल आयातलाई अझै पनि प्रतिबन्ध नै गरेको छ ।

विदेशी सञ्चितिको गिरावटलाई रोक्न सरकारले केही वस्तुहरुको आयातमा नियन्त्रण गर्यो भने केन्द्रीय बैंकले प्रतितपत्र खोल्दा सत प्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गर्यो । त्यसले आयातलाई केही निरुत्साहित गरेपछि डलर बिक्री गरेर भारु साट्ने दरमा पनि कमी आएको केन्द्रीय बैंकका एक अधिकारीले जानकारी दिए ।

“अन्तराष्ट्रिय ब्यापारमा भारतसंगको हिस्सा धेरै छ,” ती अधिकारीले भने,“भारतबाट इन्धन तथा गाडीका पाट पुर्जा आयात हुने भएकाले धेरै भारु साट्न पर्छ ।” गत आवको अन्तिममा सरकारले गरेको आयातको नियन्त्रणले डलर बिक्री गरेर साटिएको भारु ११ प्रतिशतले मात्र बढेको उनले बताए । अघिल्लो आवमा यस्तो वृद्धिदर २१ प्रतिशत भन्दा धेरै रहेको उनले बताए ।

गत आर्थिक वर्षमा मात्रै ३ खबै ५ अर्ब १७ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ र ग्यास आयात भएको छ । गत आवको कुल आयात १० खर्ब २० अर्ब रुपौयाँ बरावरको थियो । सो मध्ये भारतबाट मात्र १२ खर्ब १५ करोड रुपैयाँ बराबरको आयात भारतबाट मात्र भएको छ ।

कोरोना महामारी सुरु भएपछि डलर बिक्री गरेर भारु साट्ने क्रममा कमी आएको थियो । उक्त समयमा आर्थिक गतिविधि ठप्प भएपछि आयातमा आएको कमीका कारण भारु खरिद गर्ने क्रममा पनि घटेको थियो । कोरोना महामारी पछि आर्थिक गतिविधि सुचारु भएसंगै भारु खरिद गर्ने क्रम बढेको हो ।

आर्थिक वर्ष २०७५/०७६ भारु खरिदमा ३.९५ प्रतिशतले कमी आएको थियो भने आव २०७६/०७७ मा ७.६९ प्रतिशतले घटेको थियो । तर, कोरोना महामारीको असर कम भएसंगै बढेको आयातले भारु खरिद क्रम पनि बढेको छ । आर्थिक वर्ष २०७७/०७८ मा २१.१ प्रतिशतले बढेको भारुको खरिद आव २०७८/०७९ मा ११.२१ प्रतिशतले मात्र बढेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।