ब्याजदर बढ्न नदिन राष्ट्र बैंकको सक्रियता, सोमबार पनि आफैँले खरिद गर्यो ट्रेजरी बिल्स

0
Shares

नेपाल राष्ट्र बैंक ब्याजदर बढ्न नदिन मौद्रिक व्यवस्थापनमा चनाखो देखिएको छ । पछिल्लो समयमा बैंक/वित्तीय संस्थाले उच्च ब्याजदर माग गर्न थालेपछि आफैले खरिद गरेर ब्याजदर नियन्त्रणको प्रयास गरेको हो ।

पछिल्लो समयमा बैंक वित्तीय संस्थाले दोहोरो अंकको ब्याजदर माग गर्दै ट्रेजरी बिल्स खरिद आवेदन दिएको अवस्थामा केन्द्रीय बैंक आफैँले खरिद गर्ने गरेको छ। बैंक वित्तीय संस्थाले सरकारी ऋणपत्रमा गर्नुपर्ने लगानी अनिवार्य व्यवस्था भन्दा धेरै भएकाले ब्याजदरमा मोलमोलाई गर्ने गरेका छन् । तर, केन्द्रीय बैंकले उच्च ब्याजदर नियन्त्रणका लागि बैंक वित्तीय संस्थालाई ट्रेजरी बिल्स बिक्री नगरी आफैँले खरिद गर्ने गरेको हो ।

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत बैंक दर १.५ प्रतिशतको विन्दुले बढायो । त्यसको असर कम गर्नका लागि केन्द्रीय बैंकले मौद्रिक व्यवस्थापनमा चलाखी अपनाउन थालेको हो ।

राष्ट्र बैंकले ट्रेजरी बिल्सको सोझै खरिद गर्दा पनि हालको बैंकदर भन्दा माथि गएको छैन भने निष्कासन वा नविकरण गर्दा दोहोरो अंकको ब्याजदर माग गरे आफैले खरिद गरिदिने गरेको छ ।

बैंक वित्तीय संस्थाहरुले पनि ८.५ प्रतिशतको बैंक दरमा स्थायी तरलता सुविधा (एसएलएफ) लिने र त्यो पैसा सरकारी ऋणपत्रमा लगानी गर्ने गरेका छन ।

बैंकहरुले एसएलएफमा दिएको भन्दा धेरै ब्याजदर ट्रेजरी बिल्समा लिँदै आएका छन् । राष्ट्र बैंकले एसएलएफ ट्रेजरी बिल्सको विचको ब्याजदर अन्तर धेरै हुन नदिन आफ्नो सक्रिय भुमिका देखाएको छ ।

केन्द्रीय बैंकले यसभन्दा अघि भदौ ७ गते निष्कासन गरेको ट्रेजरी बिल्स पनि आफैँले खरिद गरेको थियो । त्यो मात्र नभई केन्द्रीय बैंकले भदौ ९ गते आह्वन गरेको ट्रेजरी बिल्सको सोझै खरिदमा बैंकदर भन्दा माथिको ब्याजदर मागेपछि पूरा खरिद गरेन । सो दिन केन्द्रीय बैंकले २५ अर्ब रुपैयाँ बरावको ट्रेजरी बिल्स सोझै खरिद गर्ने भन्दै बोलकबोल माग गरेको थियो । तर, १४ अर्ब ८५ करोड रुपैयाँ बरावरको मात्र खरिद गरेको थियो । बैंकहरुले दैनिक तरलता व्यवस्थापनका लागि मात्र नभई लगानीका लागि समेत स्थायी तरलता सुविधा प्रयोग गर्ने गरेका छन् ।

केन्द्रीय बैंकले सोमबार ४ अर्ब २६ करोड रुपैयाँ बराबरको ९१ दिने सरकारी ऋणपत्रको नवीकरण गर्न निष्कासन गरेको थियो । त्यसका लागि १६ बैंक वित्तीय संस्थाले ८६ बोलकबोल मार्फत ११ अर्ब २७ करोड रुपैयाँ बरावरको आवेदन दिएका थिए । त्यसमा आवेदकले न्यूनतक ८.८३९९ प्रतिशत र अधिकतम ९.२००० प्रतिशत बयाजदर माग गरेका थिए । सोमबार नवीकरण भएको ९१ दिने ट्रेजरी बिल्सको औसत डिस्काउन्ट रेट ९.०५९० प्रतिशत कायम भएको छ ।

तर, सोमबार नै केन्द्रीय बैंकले निष्कासन गरेको २ अर्ब रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरी बिल्स मध्ये एक अर्ब ६० करोड बरावरको राष्ट्र बैंक आफैले खरिद गरेको छ । यसमा बैंक वित्तीय संस्थाले धेरै डिस्काउन्ट रेट मागेपछि केन्द्रीय बैंक आफैँले खरिद गरेको हो ।

बैंक वित्तीय संस्थाले अधिकतम ९.०८०० र न्यूनतम ८७९९ प्रतिशत डिस्काउन्ट रेट माग गरेका छन । यसको औसत डिस्काउन्ट रेट ९.०३०० प्रतिशत कायम भएको छ । यसभन्दा अघि भदौ ७ गते निष्कासन वगरेको ३६४ दिने ट्रेजरी बिल्सको औसत डिस्काउन्ट रेट ९.०२४५ प्रतिशत रहेको थियो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।