जगदम्बा मोटर्सको आम्दानी १३ अर्ब ६२ करोड, आयात नियन्त्रणले व्यवसाय प्रभावित

0
Shares

व्यवसायीक समुह शंकर ग्रुपको जगदम्बा मोटर्सले सन २०२२ मा १३ अर्ब ६२ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । बैंक वित्तीय संस्थामा अधिक तरलता र सहज कर्जाले प्रोत्साहन गरेको उच्च आयातका कारण कम्पनीले उक्त कारोबार गर्न सफल भएको हो ।

तर, बैंक वित्तीय संस्थामा तरलता तथा कर्जा लगानी योग्य रकमको अभाव, उच्च आयातका कारण विदेशी मुद्रा सञ्चितिमा दवाव परेपछि आयातमा गरीएको नियन्त्रणले जगदम्बाको व्यवसायमा असर गर्ने निश्चित छ । त्यसका साथै बैंक वित्तीय संस्थाबाट पाइने अटो कर्जामा समेत कडाई गरेसंगै आगामी वर्षको आम्दानी प्रभावित हुने निश्चित छ ।

नेपालका लागि टिभिएस मोटर्स तथा प्रोटोन कारको आधिकारिक बिक्रेता रहेको कम्पनीले सन् २०२१ मा परिस्कृत वित्तिय विवरण अनुसार १३ अर्ब १३ करोड ५० लाख सञ्चालन आम्दानी गर्न गरेको छ । परिस्कृत विवरणका आधारमा जगदम्बा मोटर्सले २०२० को तुलनामा २०२१ मा सञ्चालन आम्दानी ९७ प्रतिशतले बढाएको छ । सन २०२० मा कम्पनीले ६ अर्ब ६५ करोड ९० लाख आम्दानी गरेकोमा २०२१ मा १३ अर्ब १३ करोड ५० लाख आम्दानी गरेको छ । कम्पनीले सन् २०२२ मा गरेको सञ्चालन आम्दानी भने अपरिस्कृत विवरण हो ।

जगदम्बा मोटर्सले १०० सीसी देखि ३१० सीसी सम्मका मोटरसाइकल, ११०–१२५ सीसी सम्मका स्कूटर र अन्य तीनपाङ्ग्रे सवारी साधनको आयात तथा बिक्री गर्दै आइरहेको छ । साथै कम्पनीले चार पाङ्ग्रे तथा कारहरुको भेराइटी समेत थप गरेको छ । हालसम्म जगदम्बा मोटर्सले १२० वटा मोडलका दुई पाङ्ग्रे, तीन पाङ्ग्रे सवारी साधन बिक्री गरिसकेको जनाएको छ ।

सन् २०२१ मा मनग्य आम्दानी गर्न सफल भएको जगदम्बा मोटर्स सरकारका विभिन्न नियमहरुबाट प्रभावित भएको छ । सन् २०२२ को अक्टोबर महिनादेखि लागू हुने गरी नेपाल सरकारले १५० सीसी माथिका मोटरसाइकल, एसयुभी, कार र भ्यानको आयातमा प्रतिबन्ध लगाएपछि कम्पनीको बिक्री घटेको छ । यस अघि नेपाल सरकारले २५० सीसी माथिका मोटरसाइकल कार, एसयुभी र भ्यानको आयातमा प्रतिबन्ध लगाएको छ ।

सवारी साधनको खरिदमा भारी मात्रामा विदेशी सञ्चिति बाहिरिएका कारण सरकारले प्रतिबन्ध लगाएको हो । यसका साथै सन् २०२२ को डिसेम्बर महिनाबाट लागू हुनेगरी सरकारले मोटरसाइकल, स्कूटर तथा डिजेलबाट चल्ने सवारी साधनको खरिद गर्दा ५० प्रतिशत क्यास मार्जिन राखनुपर्ने व्यवस्था गरेको छ

सरकारको यस प्रावधानबाट पनि जगदम्बा मोटर्सको व्यवसाय प्रभावित भएको छ । यसका साथै अटोमोबाइल बिक्रेताहरुमा बढ्दै गएको प्रतिस्पर्धाका कारण पनि जगदम्बा मोटर्सको सञ्चालन आम्दानी प्रभावित भएको देखिन्छ । जगदम्बा मोटर्स चार पाङग्रे सवारीमा भर्खरै मात्र प्रवेस गरेको हुनाले सन २०२२ मा यसको बजार हिस्सा ३ प्रतिशत मात्र रहेको छ ।

नेपालभर जगदम्बा मोटर्सका १४१ आधिकारिक डिलरहरु रहेका छन् । नेपालभर नै दुई पाङग्रे सवारी साधनको पहुँच विस्तार गर्न सफल भएको जगदम्बा मोटर्सको प्रतिस्पर्धा होन्डा, बजाज, हिरो, यामाहा जस्ता अटोमोबाइल कम्पनीसँग रहेको छ ।

सन २०२२ मा कम्पनीको ब्याज, कर, एर्मोटाइजेसन र डिप्रिसियसन अघिको आम्दानी २ अर्ब १४ करोड ६५ लाख रुपैयाँ रहेको छ । कम्पनीको सन २०२० को यस्तो आम्दानी एक अर्ब ९२ करोड ८२ लाख रुपैयाँ रहेको थियो । यो अवधिमा कम्पनीको ब्याज, कर, एर्मोटाइजेसन र डिप्रिसियसन अघिको आम्दानीले कर्जाको ब्याज तिर्ने क्षमता ६ गुणा सम्म रहेको छ ।

सन् २०२२ मा ५ अर्ब २० करोड बराबरको दीर्घकालीन तथा अल्पकालीन ऋणको लागि जगदम्बा मोटर्सले के्रडिट रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालबाट ट्रिपल बी प्लस र ए२ रेटिङ पाएको छ । जस अन्तर्गत ४२ करोड ६३ लाख ८ हजार बराबर दीघकालीन ऋण रहेको छ भने २ अर्ब ९७ करोड बराबरको फन्ड बेस्ड र १ अर्ब ८० करोड बराबरको नन् फन्ड बेस्ड अल्पकालीन ऋण रहेको छ ।

स्टील, सिमेन्ट, पोलिमर, टे«डिङ, हस्पिटालिटी, बीमा लगायतका क्षेत्रमा पक्कड जमाएको शंकर ग्रुप जगदम्बा मोटर्सको प्रमोटर रहेको छ । नेपालमा व्यापार तथा औद्योगिक क्षेत्रमा दुई दशक लामो अनुभव बटुलेका शाहिल अग्रवाल जगदम्बा मोटर्सका निर्देशक रहेका छन् ।

सन् २०१० मा स्थापना भएको जगदम्बा मोटर्स स्थापनाकालमा एसजी ग्लोबलको नामबाट स्थापना गरिएको थियो । सन् २०१५मा उक्त नाम परिवर्तन गरेर जगदम्बा मोटर्स बनाइएको थियो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।