सुरज बैद्यको टोयोटा कार बिक्रीबाट हुने आम्दानी साढे ७ अर्ब, आयात रोकिँदा स्टक पनि सकियो

0
Shares

नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष समेत रहेका व्यवसायी सुरज बैद्यको युनाइटेड ट्रेडर्स सिन्डिकेटले सन् २०२२ मा ७ अर्ब ६१ करोड ९० लाख सञ्चालन आम्दानी गरेको छ । कम्पनीले जापानी कम्पनी टोयोटाका विलासी कारको बिक्री मार्फत उक्त आम्दानी गरेको हो ।

टोयोटाको आधिकारिक बिक्रेता रहेको युनाइटेड ट्रेडर्स सिन्डीकेटले सन् २०२१ मा ४ अर्ब ८६ करोड ४० लाख सञ्चालन आम्दानी गरेको थियो । कम्पनीले २०२१ को तुलनामा २०२२ मा सञ्चालन आम्दानी ५६.६३ प्रतिशतले बढेर साढे ७ अर्ब पुर्याएको छ । सन् २०२१ को तुलनामा कम्पनीको ब्याज, कर, एर्मोटाइजेसन र डिप्रिसियसन अघिको नाफामा समेत सुधार आएको छ । सन २०२१ मा कम्पनीको यस्तो नाफ ८ .०९ प्रतिशतले बढेको थियो भने सान २०२२ मा ११.०६ बढेको छ।

नेपाल सरकारले विलासी वस्तुको आयातमा लगाएको प्रतिबन्धका कारण युनाइटेड ट्रेडर्सको व्यापार प्रभावित भएको छ । विदेशी सञ्चितिमा आएको कमी न्युनिकरण गर्न नेपाल सरकारले वैशाख महिनामा रोक लगाइएको सवारी साधनको आयातमा असोज महिनासम्म पुर्याइएको छ ।

यसका साथै सरकारले विलासी सामाग्रीको खरिदका लागि प्रतीतपत्र खोल्न बन्देज गरेको छ भने ५० प्रतिशत क्यास मार्जिनको व्यवस्था गरेको छ । सरकारका यस किसिमका नीतिबाट अटोमोबाइल व्यवसायी समस्यामा परेका छन् ।

सन् २०२० मा कोभिड–१९का कारण व्यापार कम हुँदा पनि टोयोटाको गाडीको लोकप्रियताका कारण ३ अर्ब ३० करोड ५० लाख सञ्चालन आम्दानी गरेको थियो । कोभिड–१९को संक्रमण विश्वव्यापी रुपमा फैलिनु अघि भने युनाइटेड ट्रेडर्सले सन् २०१९ मा ५ अर्ब ८८ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । सन् २०२२ मा युनाइटेड ट्रेडर्सले कोभिड अघिको भन्दा पनि धेरै आम्दानी गरेको छ ।

अमेरिका लगायतका विभिन्न देशहरुले ब्याजदर बढाउँदा शक्तिशाली भएको डलर र कमजोर बनेको नेपाली रुपैयाँ, विनिमय दरमा बढेको अस्थिरता, अस्थिर ब्याजदर, नियामक निकायबाट बढ्दै गएका कडाइ, नेपाली बजारमा अटोमोबाइल क्षेत्रमा बढेको प्रतिस्पर्धा जस्ता समस्याबाट ग्रसित हुँदा युनाइटेड टे«डर्सले अपेक्षाकृत आम्दानी भने गर्न नसकेको जनाएको छ । टोयोटाद्धारा निर्मित सवारी साधन विलासी सवारी साधन रहेको र हाल नेपाल सरकारले विलासी सवारी साधनको खरिदमा बन्देज लगाउनुका साथै प्रतीत पत्र खोल्न पनि प्रतिबन्ध लगाएको छ ।

युनाइटेड ट्रेडर्सले अक्टोबर महिनासम्मका टोयोटाका गाडी स्टकमा रहेको जनाएको छ । यद्यपि अक्टोबर महिनापछिका लागि भने स्टक समेत बिक्री भइसक्ने कम्पनीले जनाएको छ । सरकारको नीतिका कारण आयात ठप्प हुँदा युनाइटेडको व्यापारमा चुनौती थपिएको छ । सन् २०२२ को सञ्चालन आम्दानीलाई हेर्दा कम्पनीको कुल कर्जाको ब्याज तिर्ने क्षमता ३.८३ गुणा रहेको छ ।

बैद्य अर्गनाइजेसनका अध्यक्ष रहेका सुरजले अटो, कृषि, निर्माण, शिक्षा, चिया लगायतका क्षेत्रमा लगानी गर्दे आएका छन् । सन् १९७१मा स्थापना भएको युनाइटेड ट्रेडर्स स्थापनाकाल देखि नै टोयोटाको आधिकारिक बिक्रेता रहेको छ । डा. बिजय वैद्यले स्थापना गरेको युनाइटेड ट्रेडर्समा अहिले सुरज वैद्य, रितु सिङ वैद्य र सुसन वैद्य श्रेष्ठको क्रमश ६०, ३० र १० प्रतिशत सेयर स्वामित्व रहेको छ।

युनाइटेड ट्रेडर्सले ४ अर्ब बैंक ऋणका लागि रेटिङ एजेन्सी केयर रेटिङ नेपालबाट ए३ रेटिङ पाएको छ । तर अटोमोबाइल व्यवसाय सरकारका विभिन्न नीतिका कारण एकनासले अघि बढ्न नसक्दा र आन्तरिक तथा बाह्य वित्तीय झट्काको सामना गर्नुपर्ने हुँदा केयर रेटिङले युनाइटेड ट्रेडर्सलाई “ क्रेडिट वाच वीथ डेभ्लपीङ इम्प्लीकेसन”मा वर्गीकरण गरेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।