विकसित मुलुकहरुले ब्याजदर बढाउँदा त्यसको प्रभाव विकासोन्मुख राष्ट्रमा वृद्धिदर घट्दै

0
Shares

विकसित देशहरुले मुद्रास्फीति नियन्त्रण गर्न ब्याजदर बढाइरहँदा त्यसको प्रभाव विकासोन्मुख राष्ट्रहरुमा उल्लेख्य मात्रामा देखिएको छ ।
सन् २०२२ मा चीन बाहेकका विकासोन्मुख एशियाली राष्ट्रहरुको आर्थिक वृद्धि दर ४.३ प्रतिशत रहने एशियन डेभलपमेन्ट बैंक (एडिबि) ले प्रकाशन गर्ने एशियन डेभलपमेन्ट आउटलुक (सेप्टेम्बर) मा उल्लेखित छ ।

यसैगरी विश्वको दोस्रो ठूलो अर्थतन्त्र रहेको मुलुक चीनको सन् २०२२ को आर्थिक वृद्धिदर ३.४ प्रतिशत मात्रै रहने प्रक्षेपण एशियाली डेभलपमेन्ट बैंकले गरेको छ ।

कोभिड–१९ संक्रमण फैलिँदै जानु र त्यसलाई नियनत्रण गर्न चीनले अवलम्बन गरेको शून्य कोभिड नीति कारण यातायातमा प्रतिबन्ध लगाउँदा निर्यातमा कमी आएको छ । यसका साथै चीनका मुख्य औद्योगिक सहरहरुमा लकडाउन हुँदा उत्पादनमा कमी आएको छ भने आर्थिक गतिविधिहरु सुस्ताएका छन् ।

अप्रिल महिनामा प्रकाशन भएको एशियन डेभलपमेन्ट आउटलुकमा चीनको आर्थिक वृद्धिदर ३.८ प्रतिशत हुने प्रक्षेपण गरिएता पनि अर्थतन्त्र सुस्ताउँदै जाँदा अन्ततः सन् २०२२ को आर्थिक वृद्धि दर ३.४ प्रतिशत र सन् २०२३ मा चीनको आर्थिक वृद्धि दर ३ प्रतिशत रहने अनुमान एशियन डेभलपमेन्ट बैंकले गरेको हो ।

विश्व अर्थतन्त्र मन्दीको बाटोमा जाने सम्भावना उच्च छ । मन्दी हुने सम्भावना बढ्दै गर्दा दक्षिण एशियाको वृद्धिदरमा कमी आउने प्रक्षेपण एडिबीले गरेको छ । सन् २०२२ मा दक्षिण एशियाको आर्थिक वृद्धिदर ६.५ प्रतिशत रहने र सन् २०२३ मा पनि उक्त वृद्धिदर कायमै रहने एशियन डेभलपमेन्ट आउटलुकमा उल्लेख छ । यसअघि अप्रिल महिनामा सन् २०२२ को वृद्धि दर ७ प्रतिशत र सन् २०२३ को वृद्धि दर ७.४ हुने प्रक्षेपण एडिबिले गरेको थियो ।

रुस–युक्रेन युद्धका कारण सिर्जना भएको इन्धन अभाव, आपूर्ति श्रृङ्खलामा अवरोध, माग र आपूर्ति बीचको असन्तुलन, मुद्रास्फीति नियन्त्रण गर्न अमेरिकी केन्द्रीय बैकले ब्याजदर बढाउँदा शक्तिशाली भएको डलर, उच्च महंगी जस्ता यावत समस्याका कारण वृद्धि दरमा कमी आउने प्रतिवेदनले औंल्याएको छ ।

सन् २०२२ मा भारतको वृद्धिदर ७ प्रतिशत कायम रहने र सन् २०२३ मा सामान्य रुपमा बढेर ७.२ प्रतिशत पुग्ने अनुमान एडिबीको छ । आर्थिक वर्ष २०२२ को पहिलो त्रैमासमा राम्रो आर्थिक वृद्धि भएकोले अप्रिल महिनामा एडिबिले वृद्धिदर ७.५ प्रतिशत अनुमान गरेको थियो ।
यसैगरी आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट सहयोग पाउँदा आर्थिक वृद्धिदर उल्लेख्य मात्रामा बढेको छ ।

सेप्टेम्बरमा एडिबीले सन् २०२२ मा पाकिस्तानको आर्थिक वृद्धिदर ६ प्रतिशत रहने प्रक्षेपण गरेको छ । यसअघि अप्रिल महिनामा वृद्धिदर ४ प्रतिशत मात्रै हुने प्रक्षेपण गरेको थियो । मूल्यवृद्धि बढ्दै गएपछि पाकिस्तानी केन्द्रीय बैंकले ब्याजदर बढाएर १५ प्रतिशत पु¥याएको छ । विदेशी सञ्चितिमा आएको कमी, मुद्रास्फीति नियन्त्रण गर्न केन्द्रीय बैंकले ब्याजदर बढाएका कारण अर्थतन्त्र खुम्चिने प्रतिवेदनमा छ ।

पर्यटन नै जीडिपीको मूल आधार रहेको माल्दिभ्सको आर्थिक वृद्धिदर ८.२ प्रतिशत हुने अनुमान एडिबीको छ । रुस–युक्रेन युद्धका कारण पर्यटक आगमनमा क्रमिक रुपमा कमी हुँदै गएपछि आर्थिक गतिविधिमा कमी आएको छ । अप्रिलमा वृद्धिदर ११ प्रतिशत रहने भनिएता पनि पर्यटक आवागनमा कमी आएसँगै वृद्धिदर ८.२ प्रतिशत रहने प्रतिवेदनमा उल्लेख छ । यसैगरी सन् २०२३मा माल्दिभ्सको वृद्धि दर बढेर १०.४ प्रतिशत पुग्ने एडिबिको अनुमान रहेको छ ।

आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंका अर्थतन्त्र सन् २०२२ मा ८.८ प्रतिशतले खुम्चिने एडिबीले जनाएको छ । सन् २०२३मा भने आर्थिक गतिविधिमा सुधार आई ३.३ प्रतिशतले मात्रै खुम्चिने एडिबिको प्रक्षेपण रहेको छ ।

सन् २०२२ मा भुटानको वृद्धि दर ४.५ प्रतिशत र सन् २०२३मा वृद्धि दर खस्किएर ४ प्रतिशत रहने एडिबिको अनुमान छ । यसैगरी सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत र २०२३ मा आर्थिक गतिविधिमा कमी आई वृद्धिदर ४.७ प्रतिशत रहने प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी ४० वर्ष यताकै उच्च भएको मुद्रास्फीति नियन्त्रण गर्न विकसित अर्थतन्त्रहरुले आक्रामक रुपमा ब्याजदर बढाइरहेका छन् । जसकारण आर्थिक मन्दी हुने सम्भावना उच्च हुँदै गएको छ भने वृद्धि दरमा कमी आएको छ । एशियन डेभलपमेन्ट बैंकले अप्रिल महिनामा गरेको प्रक्षेपणमा सन् २०२२ को आर्थिक वृद्धि दर ३.५ प्रतिशत रहने भनिएता पनि सेप्टेम्बर महिनामा गरेको प्रक्षेपणमा उक्त वृद्धि दर घटेर १.९ प्रतिशत कायम भएको छ ।

विश्वको ठूलो अर्थतन्त्र भएको अमेरिकाको सन् २०२२ को आर्थिक वृद्धि दर १.६ प्रतिशत हुने प्रतिवेदनमा उल्लेख छ । अमेरिकी केन्द्रीय बैंक, फेडरल रिजर्भले मुद्रास्फीति नियन्त्रण गर्न आक्रामक रुपमा ब्याजदर बढाउने सिलसिला जारी गरिरहँदा सन् २०२३ को आर्थिक वृद्धिदर खुम्चिएर १ प्रतिशतमा सीमित हुने प्रक्षेपण एडिबिले गरेको छ । यसअघि अप्रिल महिनामा एडिबिले अमेरिकाको सन् २०२३ को आर्थिक वृद्धिदर २.४ प्रतिशत हुने अनुमान गरेको थियो ।

रुस–युक्रेन युद्धका कारण इन्धन अभाव र उच्च मुद्रास्फीतिबाट गुज्रिरहेको युरोप क्षेत्रको सन् २०२२ को आर्थिक वृद्धि दर २.५ प्रतिशत कायम रहने प्रक्षेपण एडिबीले गरेको छ । उच्च मुद्रास्फीतिका कारण युरोपियन केन्द्रीय बैंकले ब्याजदर बढाउँदा आर्थिक गतिविधि थप सुस्ताउने र सन् २०२३ को वृद्धि दर ०.७ प्रतिशत हुने प्रतिवेदनमा उल्लेखित छ ।

यसैगरी तेस्रो ठूलो अर्थतन्त्र भएको जापानको सन् २०२२ को आर्थिक वृद्धि दर १.४ प्रतिशत हुने अनुमान एडिबिले गरेको छ । विस्तारित मौद्रिक नीति अवलम्बन गरेको जापानको मुद्रा ऐतिहासिक रुपमा कमजोर हुन पुगेको छ । कमजोर मुद्रा, मुद्रास्फीतिको सामना गरिहेको जापानको वृद्धिदर सन् २०२३ मा ०.२ प्रतिशत बढेर १.६ प्रतिशत हुने प्रक्षेपण एडिबिले गरेको छ ।

रुस–युक्रेन युद्धका कारण उत्पन्न खाद्य संकट, इन्धन अभाव, आपूर्ति श्रृङ्खला अवरोध, विकसित देशहरुले आक्रामक रुपमा बढाउदै गरेको ब्याजदर, बेरोजगारी दरमा भएको वृद्धि, शक्तिशाली हुँदै गएको डलरका कारण विश्व अर्थतन्त्र अनिश्चितता तर्फ लम्एिको प्रतिवेदनमा उल्लेख छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।