सात कम्पनीले लघुबीमाको इजाजतको लागि दिए आवेदन, १३ गते अन्तिम

0
Shares

लघुबीमाको इजाजतका लागि आवेदन दिने समय सकिनुभन्दा २ दिन अघि एकैपटक ७ वटा कम्पनीले लघुबीमा कम्पनी खोल्नको लागि नियामक निकाय बीमा समितिमा आवेदन दिएका छन् ।

मंगलबार ३ वटा जीवन र ४ वटा निर्जीवन गरी ७ वटा कम्पनीले लाइसेन्सका लागि आवेदन दिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । आवेदन खुला गरेको एक महिनासम्म कुनैपनि आवेदन परेको थिएन ।

नियो लाइट माइक्रो (जनरल) इन्स्योरेन्स कम्पनी, स्वेदशी लघु जीवनबीमा कम्पनी, जानकी जीवन बीमा कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स, गार्डेन माइक्रोलाइफ इन्स्योरेन्स, कर्णाली माइक्रो इन्स्योरेन्स कम्पनी र एभरेष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले आवेदन दिएका हुन् ।

बीमा समितिले गत भदौ १० गते ३५ दिनको म्याद तोकेर लघुबीमाको आवेदन खुला गरेको थियो । उक्त म्याद सकिन अब जम्मा २ दिन बाँकी रहँदा एकैदिन ७ आवेदन परेको हो । इच्छुकले असोज १३ गते दिउँसो १२ बजेसम्म बीमा समितिमा आवेदन दिन सक्नेछन् ।

समितिले दुर्गम क्षेत्रमा पनि बीमाको पहुँच पुर्‍याउने उदेश्यका साथ बीमा समितिले ३ वटा जीवन र ४ वटा निर्जीवन गरी कुल ७ वटा लघुबीमा कम्पनीलाई लाइसेन्स दिनेगरी आवेदन खुला गरेको हो । बीमा समितिले लघुबीमा कम्पनीहरुको चुक्ता पुँजी न्यूनतम ७५ करोड रुपैयाँ हुनुपर्ने मापदण्ड तोकिएको छ ।

लघुबीमक स्थापना तथा दर्ता सम्बन्धी निर्देशिका अनुसार लघुबीमा कम्पनी पब्लिक कम्पनीको रुपमा दर्ता हुनु पर्नेछ। चुक्ता पुंजी समितिले तोके बमोजिम हुने उल्लेख छ । संथापकले कम्तिमा ५१ प्रतिशत सेयर धारण गर्नु पर्ने उल्लेख छ । ३० प्रतिशत सेयर आईपीओ मार्फत सर्वसाधारणलाई र पाँच प्रतिशत सयर कर्मचारीलाई निष्काशन गर्नुपर्ने छ।

त्यस्तै लगानीकर्ता संगठित संस्था भएमा सोको पूँजी वा जगेडा कोषमा लगानीयोग्य रकम भएको हुनुपर्ने उल्लेख छ । निर्देशिका अनुसार संस्थापकका एकाघर परिवार, संस्था वा संस्थागत समूहको कुल चुक्ता पूँजीको पन्ध्र प्रतिशत वा सोभन्दा कम सेयर स्वामित्व हुनुपर्नेछ ।प्रस्तावित बीमकको संस्थापक वा सञ्चालक निजको एकाघर परिवारका कुनै सदस्य सोही प्रकारका अन्य बीमकको सञ्चालक वा आधारभूत सेयरधनी भएको हुनु नहुने ब्यबस्था निर्देशिकामा छ ।

सरकारले चालु आर्थिक वर्ष २०७८।७९ को बजेट मार्फत बीमाको विकास तथा विस्तार गर्नको लागि लघुबीमा कम्पनी स्थापना गर्नुपर्ने व्यवस्था गरेको थियो । सोहि व्यवस्था अनुसार बीमा समितिले प्रकृयालाई अगाडि बढाएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।